काठमाडौं । उच्च ज्वरोका कारण बिरामी पर्नुभएका पूर्वाधार विकास मन्त्री सुनील लम्साल हाल स्वास्थ्य लाभ गरिरहनुभएको छ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण स्थगित गरी मन्त्री लम्साल आइतबार राति काठमाडौं फर्किनुभएको हो। काठमाडौं आएपछि उहाँले छाउनी अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो।
उच्च ज्वरोसँगै शरीर दुख्ने तथा हिँडडुल गर्नसमेत कठिनाइ भएपछि उहाँले स्वास्थ्य परीक्षण गराउनुभएको हो। परीक्षणका क्रममा उहाँको पिसाबमा समेत संक्रमण देखिएको बताइएको छ।
चिकित्सकहरूले एन्टिबायोटिक औषधि सेवन गर्दै कम्तीमा पाँच दिन पूर्ण रूपमा आराम गर्न सुझाव दिएका छन्। चिकित्सकको सल्लाहअनुसार मन्त्री लम्साल हाल निवासमै आराम गरिरहनुभएको छ।
परिवारका अनुसार उहाँको स्वास्थ्य अवस्था हाल सुधारोन्मुख रहेको छ।











