१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलजला जोड्ने पदमार्ग निर्माण



default
अ+ अ-

म्याग्दी: म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल जलजला जोड्ने पदमार्ग निर्माण भएको छ ।

जलजला कास्कीको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने पदमार्गमा समेटिएको छ । गण्डकी प्रदेश सरकारको रु २० लाख बजेटबाट पर्वतको मोदी गाउँपालिका–१ माटेबाट मोदी र जलजला गाउँपालिकाको सिमानामा पर्ने जलजलासम्म ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण भएको हो ।

पर्यटन तथा उद्योग कार्यालय पर्वतमार्फत सञ्चालित उक्त योजनाको उपभोक्ता समितिका सचिव टीका पुनले माटेबाट वाइफाइडाँडा हुँदै जलजलासम्म दुई किलोमिटर दूरीमा ढुङ्गाको सिँढी चिनेर पदमार्गका साथै तीन ठाउँमा विश्रामस्थल निर्माण गरिएको जानकारी दिनुभयो ।

“परापूर्वकालमा गोठालाहरूले प्रयोग गरेको बाटोलाई पदमार्गमा रुपान्तरण गरिएको हो”, उहाँले भन्नुभयो, “बस्तीबाट टाढा पदमार्ग बनाउन लेसपारका २५ जना मजदुरहरू चार महिनासम्म निर्माणस्थलमै बास बसेका थियौँ ।” पदमार्गका साथै दुलेखानी र वाइफाइडाँडामा चौतारीसहित विश्रामस्थल र दृश्यावलोकनस्थल निर्माण भएको छ ।

तीन हजार तीन सय मिटर उचाइमा रहेको माटेबाट दुलेखानी–वाइफाइडाँडा हुँदै तीन हजार मिटर उचाइमा अवस्थित जलजलासम्म पहाडको टाकुरामा निर्माण भएको पदमार्गको यात्राका क्रममा अन्नपूर्ण र धवलागिरि हिमशृङ्खलाका साथै पर्वत, कास्की, बागलुङ र म्याग्दीको ग्रामीण बस्ती तथा पहाडहरूको अवलोकन गर्न सकिन्छ । मृगलगायत जङ्गली जनावर पनि देखिन्छन् ।

यसअघि व्यवस्थित पदमार्ग नहुँदा पर्यटकले बाटो बिराउने, भिरको झाडीमा जोखिम मोलेर हिँड्नुपर्ने समस्या थियो । पदमार्गले पदयात्रालाई सुरक्षित बनाएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो । आव २०८२÷८३ मा प्रदेश सरकारले विनियोजन गरेको थप रु २० लाख बजेटबाट जलजलबाट म्याग्दीको मोहरेडाँडातर्फ पदमार्ग निर्माण गरिने उहाँले बताउनुभयो । यसअघि वाइफाइडाँडामा प्रदेश सरकारको रु १५ लाख बजेटबाट आश्रयस्थल भवन निर्माण भएको थियो भने गत वर्ष जलजला र मोदी गाउँपालिकाको साझेदारीमा जलजलामा विद्युत् सुविधा पुर्याइएको थियो ।

हिन्दू धार्मिकग्रन्थ रामायणमा जलजलालाई कालञ्जर पर्वतका रूपमा व्याख्या गरिएको छ । विभिन्न किसिमका जडीबुटी पाइने जलजला जैविक विविधतायुक्तस्थल हो । जलजलाको हम्पालमा धार्मिक पूर्वाधार र प्रवर्द्धनको गतिविधि सञ्चालन भएको छ । जलजलाको पहाडका बीचमा सीम क्षेत्र छ । यहाँ बाँध थुनेर कृत्रिम तलाउ बनाउने योजना अघि सारिएको छ । म्याग्दीको बेनीबाट पर्वतको मल्लाज, शालिजा हँुदै जलजलासम्म कच्ची सडक पुगेको छ ।रासस