१४ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई गगनको आग्रहः सत्ता हस्तान्तरणको दिन गनेर नबस्नुस्



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह गर्नुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित नेपाली काँग्रेसको युवा केन्द्रित आर्थिक नीति तथा योजना विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह गर्नुभएको हो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले केही पटक अब एक वर्ष मेरो त्यसपछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्छु भन्ने गर्नुभएको उल्लेख गर्दै अबको समय सत्ता हस्तान्तरणको दिन गनेर बस्ने नभएको पनि बताउनु भयो ।

उहाँले शुरुमा दुई वटा पार्टी मिलेर राम्रो कामको शुरुवात गरेपनि अहिले बरालिएको बताउनु भयो । अहिले सरकार खालि दिन गनेर बस्ने जस्तो मात्रै भएकाले टिप्पणी गर्दै यसबाट बाहिर निस्किनुपर्ने बताउनु भयो । ०८४ सम्मका प्रत्येक दिन काम गरेर देखाउनुपर्ने बताउनु भयो । उहाँले काँग्रेस २०८४ सम्म देशको ठूलो पार्टी रहेको र अहिले सरकारमा रहेकाले यो समय खेर फाल्न नहुने बताउनु भयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘अहिले हामी २०८२ सालमा छौँ । २०८४ सालसम्म हामी नेपालको लार्जेस्ट पार्टी छौँ । सरकारमा छौँ । यो दुई वर्षको समय खेर फाल्ने समय हामीसँग छैन । प्रधानमन्त्रीजीले बेला बेलामा के भनेको सुन्छु भनेः अब एक वर्ष म हुन्छु, एक वर्षपछि काँग्रेसलाई सरकारको नेतृत्व सुम्पिन्छु । त्यो हिसाव कितावको बारेमा अब कुरा नगरौँ । सरकार भनेको दिन गनेर बस्ने हो र ? अनि के हामी ३६५ दिन नै घट्यो, ६४ भयो, ६३ भयो । हाम्रो पालो आयो भनेर औँला भाँच्दै बस्ने हो र ? हामीले सुन्न र गर्न चाहेको कुरा, यो तीन वर्ष हामी के गर्छौं भन्ने हो । एक वर्ष के गर्ने, एक वर्ष नेपालले के पाउने ? अर्को इलेक्शनसम्मको एक एक दिनको प्रयोग हामीले गर्नुपर्छ । शुरुमा हामीले मेहनत पनि ग¥यौँ, दुई वटा पार्टी मिलेर सरकार बन्दै गर्दा एउटा गति पनि समातेको थियो । बीचमा अहिले यो बरालिएको छ । अहिले खालि यो दिन गनेर बसेको जस्तो भएको छ । आज आईतवार, सोमवार आउँछ, त्यसपछि मंगलवार … । यसबाट बाहिर निकाल्नुपर्छ । यो दुई वर्ष स्थानीय सरकार, प्रदेश सरकार, संघ सरकार सबैले काम गर्नुपर्छ ।’

महामन्त्री थापाले ०८४ सम्म स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारले जनताले महशुस गर्नेगरी काम गरेर देखाउनुपर्ने बताउनु भयो ।