हुम्ला। कर्णाली करिडोरअन्तर्गत भिगौडाको उकालो सडकमा सोमबार एक एम्बुलेन्स दुर्घटना भएको छ। अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको उक्त एम्बुलेन्समा सवार चालक गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार खार्पुनाथ गाउँपालिकाको बा २ झ ४५८० नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो। चालक ३६ वर्षीय जंग शाहीलाई सुरुवाती उपचारका लागि जिल्ला अस्पतालमा पुर्याइएको भए पनि अवस्था गम्भीर भएपछि उनलाई जिल्ला बाहिर रिफर गरिएको छ।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख, प्रहरी नायब निरीक्षक (सई) शंकर पोखरेलले अनियन्त्रित भएर सवारी सडकबाट तल खसेको पुष्टि गरेका छन्।
दुर्घटनाको कारण खुल्न बाँकी भए पनि अत्यन्तै जोखिमयुक्त तथा उकालो सडक भएकाले नियन्त्रण गुमेको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।










