६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी कार्यालयमा कर्मचारी आए, सेवाग्राही न्यून



अ+ अ-

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीपछि सोमबारदेखि सरकारी तथा निजी कार्यालय खुलेका छन् । चैत ११ देखि जारी बन्दाबन्दीमा आवश्यक सेवाबाहेक सरकारी तथा निजी कार्यालय, व्यवसाय, उद्योग बन्द रहेका थिए । लामो बन्दपछि खुलेकाले कतिपय कार्यालयले व्यवस्थापन मिलाउने क्रममा बिहान १० बजे मात्र कार्यालय सुरु गरेका थिए । मङ्गलबारदेखि सरकारी कार्यालय दुई समूह (सिफ्ट)मै सञ्चालन हुने सम्बन्धित कार्यालयले जनाएका छन् । कोरोना महामारी नियन्त्रणमा नआइसकेकाले कार्यालयहरूमा उच्च सतर्कता अपनाइएको छ । सेवाग्राहीलाई पनि आवश्यक काम परे मात्र कार्यालय आउन आग्रह गरिएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पहिलो दिन भएकाले सेवाग्राही कमै आएको जानकारी दिए । सो विभागमा यसअघि दैनिक पाँच सयभन्दा बढीले सेवा लिने गरेकामा सोमबार १० जना मात्र आएका थिए । उनले भने, “जनतामा कोरोनाको त्रास छ, सबैतिर सतर्क भएर काम गर्नुपर्छ । त्यही भएर सेवाग्राही नआएका होलान् तर विस्तारै यो क्रम बढ्दै जानेछ ।” उनले मङ्गलबारदेखि दुई सिफ्टमा सेवा प्रवाह हुने जानकारी दिए। महानिर्देशक दाहालका अनुसार कार्यालयको सोधपुछ कक्षलाई व्यवस्थित गरी फोन, ईमेल र एसएमएसबाट आवश्यक जानकारी उपलब्ध गराउने प्रयास भइरहेको छ ।

मालपोत कार्यालय ललितपुरका प्रमुख सुबोध खनालले दुई सिफ्टमा काम गर्न अप्ठ्यारो भएको बताए । उनले भने, “बिहानको सिफ्टमा सेवाग्राही नै आउँदैनन्, कार्यालय मात्र कुरेर बस्नुपर्छ । जब कर्मचारी बिहानको खाना खान जान्छन् अनि सेवाग्राही आउन थाल्छन् । त्यसले सेवा प्रदानमा समस्या भएको छ ।” उनले भने, “बरु १० देखि ६ बजेसम्म गर्दा राम्रो, यो बिहानको सिफ्टले हैरानी मात्र बढाएको छ, फाइदा छैन ।” उनका अनुसार मालपोतमा बिहानको सिफ्टमा दुई जना सेवाग्राही मात्र आएका थिए । त्यसपछिको सिफ्टमा जम्मा ५० जना सेवाग्राही आएका थिए । ललितपुर मालपोतमा सोमबार १७ वटा रजिस्ट्रेसन पास र १४ वटा जग्गा रोक्का कार्य भएका छन् । त्यसबाट ३६ लाख ७४ हजार १५५ रुपियाँ राजस्व उठेको थियो । नापी कार्यालय ललितपुरको अवस्था पनि त्यस्तै थियो । सोमबार पहिलो दिन पाँच प्रतिशत सेवाग्राही पनि आएका थिएनन् । नापी कार्यालयका सर्वेक्षक शुभकान्त झाका अनुसार अहिले मानिसहरू डरले गर्दा भीडभाडमा जान मान्दैनन् । त्यही भएर सेवाग्राहीको उपस्थिति निकै कम छ ।

जेठ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार असार १ देखि सबै सरकारी कार्यालय बिहान ८ देखि साँझ ८ बजेसम्म सञ्चालन गरिने भएको छ । सो निर्णयअनुसार जनस्वास्थ्य र सुरक्षा मापदण्डका आधारमा आवश्यक प्रोटोकल बनाई दुई सिफ्टमा सेवा दिने व्यवस्था सम्बन्धित कार्यालयले गर्नुपर्नेछ । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, ठूलो भर्याङका शाखा अधिकृत उपेन्द्र शाहले पहिलो दिन भएकाले सेवाग्राही त्यति नआएको बताए । उनका अनुसार स्मार्ट कार्ड वितरण, नवीकरण र पासको राजस्व बुझ्नेलगायत सेवा सुरु भएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रबहादुर सुवेदीले सोमबार सेवाग्राहीको काम एकदमै कम भएको बताए । उनले सेवाग्राहीले सबभन्दा बढी फोनमा सुझावहरू मागेको जानकारी दिए । महानिर्देशक सुवेदीका अनुसार विभागबाट आइतबार, मङ्गलबार र शुक्रबार ६० लाख रुपियाँभन्दा कम पुँजी भएका प्राइभेट फर्म नवीकरण, संशोधन, प्रतिलिपि र खारेजीका कार्य हुनेछ । त्यस्तै सोमबार प्राइभेट फर्म नयाँ दर्ता, बुधबार ६० लाख रुपियाँभन्दा माथि पुँजी भएका प्राइभेट फर्म नवीकरण, संशोधन, प्रतिलिपि र खारेजी र कम्पनीको व्यापार अनुमति दिने कार्य हुनेछ । बिहीबार साझेदारी फर्म दर्ता, नवीकरण, संशोधन, प्रतिलिपि र खारेजी, एजेन्सी दर्ता र नवीकरण संशोधनलगायत कार्य हुनेछ ।

स्थानीय तहमा पनि काम सुरु
सार्वजनिक तथा सरकारी कार्यालय खुलेसँगै काठमाडौँ उपत्यकाका सबै नगरपालिकामा सेवाग्राहीले सेवा लिन थालेका छन् । सेवा लिन आउनेमा धेरैजसो विकासनिर्माणका कामसँग सम्बन्धित छन् भने केहीले कर पनि तिरेका छन् । महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले कतिपय वडा कार्यालयमा सेवाग्राहीले व्यवसाय कर, व्यवसाय दर्ता लगायतका विषयमा जिज्ञासा राखेको जानकारी दिनुुभयो । यसैगरी यही ४ गते महानगरपालिकाको नगरपरिषद् बस्ने भएकाले त्यसको तयारीमा कर्मचारीहरू जुटेका छन् । महानगरपालिका वडा नं. ९ का अध्यक्ष रामकृष्ण जयखूका अनुसार घरजग्गा कर र मालपोत तिर्न सेवाग्राही आए । वडा नं. ८ का अध्यक्ष दिनेश डङ्गोलका अनुसार यो वडामा नयाँ व्यवसाय दर्ताको निवेदन निकै पर्न आएको छ । वडा नं. ७ का वडा सदस्य कृष्णमणि भट्टराईका अनुसार वडामा मालपोत शुल्क र जरिवानाका विषयमा जिज्ञासा राख्नेदेखि मालपोत र व्यवसाय कर तिर्न एवं जिज्ञासा लिन सेवाग्राही वडा कार्यालय आए । गोरखापत्र दैनिक




भर्खरै