४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्वका मुलुकमाथि हस्तक्षेप गरेको भन्दै इजरायलविरुद्ध अभियान चलाउने पाँच कम्युनिस्ट घटकको निर्णय



अ+ अ-

काठमाडौं । पाँच वटा कम्युनिस्ट पार्टीहरुले इजरायलले मध्यपूर्वमा हस्तक्षेप गरेको भन्दै त्यसकाविरुद्ध अभियान चलाउने निर्णय गरेका छन् ।

नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको माओवादी केन्द्रसहितका पाँच कम्युनिस्ट दलले साझा कार्यक्रम गर्ने निर्णय गरेका हुन् ।

बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) लगायतका दलहरूका शीर्ष नेता सहभागी थिए । बैठकले मध्यपूर्वमा इजरायली हस्तक्षेपको विरोधका साझा कार्यक्रम गर्ने निर्णय भएको नेताहरुले बताएका छन् ।

प्यालेष्टाइनीमाथिको बर्बरतापूर्ण इजरायली नरसंहारको विरोधमा विरोध अभियान नै सञ्चालनका लागि संयन्त्र गठन गर्नेसम्मका विषयमा छलफल भएको बताइएको छ ।

इजरायलको विरूद्ध माओवादीसहितका कम्युनिस्ट दलहरू एकजुट भएर लागेका हुन् । उनीहरुले मध्यपूर्वमा इजरायलले गरेको दमनबारे अन्य दलहरुसँग पनि छलफल गर्ने निर्णय गरेका छन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायत नेता सहभागी थिए ।