२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति थापा र आईजीपी खनाल छांगरु पुगेर फर्किए



अ+ अ-

दार्चुला । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल बुधबार दार्चुलाको छांगरु पुगेका छन् । प्रधानसेनापति थापा सेनाको अस्थायी बेस निरीक्षण र आईजीपी खनाल सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) निरीक्षण गर्न सैनिक हेलिकोप्टरबाट त्यहाँ पुगेका हुन् । दुवै जना बुधबार नै काठमाडौं फर्किएका छन् । सरकारले हालै भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नक्सामा समेटेपछि सुरक्षा अधिकारीको सीमा क्षेत्रमा यो पहिलो भ्रमण हो । सशस्त्र प्रहरीले दार्चुलामा भारतसँग सीमा जोडिएको १ सय २५ किलोमिटर र चीनसँग सीमा जोडिएको २० किलोमिटर क्षेत्र सीमामा निगरानी गर्दै आएको छ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले सीमा क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा निकाय प्रतिबद्ध रहेको बताएका छन् । दार्चुला सदरमुकाम खलंगामा निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टर दार्चुलाको भवन उद्घाटन गर्दै खनालले यस्तो बताएका हुन् ।

व्यास गाउँपालिका–१ छांगरुमा गत ३१ वैशाखमा स्थापना भएको बीओपी निरीक्षण गर्न दार्चुला आएका आईजीपी खनालले सोही अवसरमा दार्चुलामा निर्माण भएको भवनको उद्घाटन गरेका थिए ।व्यास गाउँपालिका–१ छांगरु गागामा रहेको सशस्त्र प्रहरीको बीओपी निरीक्षण गरेर फर्किएपछि आईजीपी खनालले खलंगामा निर्मित गुल्म भवनको उद्घाटन गरेका थिए । भवनको उद्घाटन गर्दै आईजीपी खनालले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी जिल्लामा क्रियाशील रहेको बताए । उनले भने, ‘सीमित स्रोत साधनबीच सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छ ।’ उनले अहिले देशभर सशस्त्रको बोर्डर आउट पोस्ट स्थापना भइरहेको र दार्चुलामा पनि छिट्टै सशस्त्र प्रहरीको थप पोस्ट स्थापना हुने बताए । यस्तै, लेकमको लाली, मालिकार्जुनको जोलजिवी र व्यासको दुम्लीङमा बोर्डर आउट पोस्ट राख्ने सशस्त्रको तयारी छ । सशस्त्र प्रहरीले दार्चुलामा भारतसँग सीमा जोडिएको १ सय २५ किलोमिटर र चीनसँग सीमा जोडिएको २० किलोमिटर क्षेत्रमा सीमा निगरानी गरिरहेको आईजीपी खनालले बताए ।

‘सीमामा बस्ने नागरिकलाई सुरक्षाको अनुभूति हुने गरी सशस्त्र प्रहरी खटिरहेको छ,’ उनले थपे, ‘सीमामा बस्ने नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्नेछौं ।’ आईजीपी खनालले स्रोत साधनले भ्याएसम्म सशस्त्र प्रहरी परिचालन गरिने पनि जानकारी दिए । सीमामा बस्ने नागरिकलाई स्वास्थ्य सेवा जरुरी रहेको औंल्याउँदै आईजीपी खनालले व्यासको छांगरु तिंकरमा कम्तीमा १५ शैयाको अस्पताल तत्काल निर्माण गर्नुपर्नेमा जोड दिए । ‘हामी पनि स्वास्थ्य संस्था स्थापनाका लागि पहल गर्छौं, सञ्चार माध्यमले पनि पहल गर्नु जरुरी छ,’ आईजीपी खनालले भने, ‘सशस्त्र प्रहरीबाट चिकित्सक नै खटाउनुपर्छ भने पनि हामी तयार छौं ।’

यो क्षेत्रमा अहिले ६ महिना मात्रै स्वास्थ्य चौकी खुल्ने गरेको छ । तर, भौगोलिक रूपमा विकट भएका कारण यो क्षेत्रमा जनशक्ति नै बस्न मान्दैनन् । आईजीपी खनालले नागरिकलाई सुरक्षाको पूर्ण प्रत्याभूति हुने गरी काम भइरहेको भन्दै व्यासमा गुल्मका लागि भवन निर्माण प्रक्रिया अघि बढेको पनि बताए । सरकारले व्यासमा सशस्त्र प्रहरीको गुल्म स्थापनाका लागि भवन निर्माण गर्न ११ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।

प्रधानसेनापतिद्वारा दार्चुला–तिंकर सडक निरीक्षण
प्रधानसेनापति पूर्णचन्द्र थापाले दार्चुला–तिंकर सडक क्षेत्रको निरीक्षण गरेका छन् । सरकारले गत १४ वैशाखमा नेपाली सेनालाई दार्चुला– तिंकर सडकखण्डको ८७ किलोमिटर सडकको निर्माणको जिम्मा दिएको थियो । आर्थिक वर्ष २०६५/६६ बाट निर्माण सुरु भएको दार्चुला तिंकर सडकको काम सुस्त भएपछि सरकारले पछिल्लो समय सो सडकको बाँकी काम नेपाली सेनामार्फत गराउने निर्णय गरेको हो । हाल दार्चुला तिंकर सडकको ४० किलोमिटर मात्रै ट्र्याक खुलेको छ । यो क्षेत्रमा अहिले नेपाली सेनाले थी भन्ने ठाउँमा बीओपी राखी अवरुद्ध घोरेटोबाटो निर्माणको कार्य सुरु गरेको छ । ९ जेठबाट नेपाली सेनाले ४ सय ५० मिटर क्षेत्रमा अवरुद्ध रहेको घोरेटोबाटोको निर्माण कार्य सुरु गरेपछि त्यो क्षेत्रको समेत प्रधानसेनापति थापाले निरीक्षण गरेका हुन् ।

नेपालतिर भएर व्यास गाउँपालिका–१ जान बाटो नभएपछि यो क्षेत्रमा नेपाली सेनाले बाटो निर्माणको कार्य थालेको छ । सेनाले अहिलेसम्म झन्डै १ सय २० मिटर घोरेटोबाटोको ट्र्याक खुलाइसकेको छ । घाटिबगर क्षेत्रमा अहिले सेनाले घोरेटोबाटोको ट्र्याक खोल्ने काम गरिरहेको छ । मौराभेल क्षेत्रमा अझै खुलाउन बाँकी छ । पूरै चट्टानी भूभाग भएकाले ट्र्याक खोल्न ढिलाइ भएको छ । प्रधानसेनापति थापाले निर्माण कार्यस्थल पुगेर निर्माणमा सावधानी अपनाएर काम गर्न निर्देशनसमेत दिएका थिए । सामरिक महत्वको व्यासको छांगरु–तिंकर तथा कालापानी क्षेत्रसम्म जानका लागि आफ्नै भूमि भएर घोरेटोबाटो नहुँदा सरकारलाई बाटो खोल्नैपर्ने दबाब परेको थियो । भारतले एकतर्फी रूपमा नेपाली भूमि भएर सडक उद्घाटन गरेपछि यस क्षेत्रमा नेपाली सेनामार्फत चाँडोभन्दा चाँडो सडक निर्माण र घोरेटोबाटो खुलाउनुपर्ने बाध्यता छ । बाटो नहुँदा यहाँका व्यासी सौका समुदाय भारतीय बाटोको प्रयोग गरी गाउँ फर्किएका थिए । अन्य स्थानीयले अझै पनि आफ्नो गाउँ जान पाएका छैनन् ।

सेनाले थोरै भए पनि घोरेटोबाटो खुलाउने प्रयास गरेपछि स्थानीयसमेत खुसी छन् । बाटो नहुँदा कैयौं स्थानीय अहिले पनि गाउँ पुग्न सकेका छैनन् । व्यासका स्थानीयका लागि खाद्यान्न ढुवानी हुन सकेको छैन । सुरक्षा निकायका लागि हेलिकोप्टरमार्फत खाद्यान्न र बन्दोबस्तीको समान ढुवानी गरिएको थियो । उनीहरूले सदरमुकाम खलंगामा सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग जिल्लाको अवस्था र सीमाको अवस्थाबारे जानकारीमसेत लिएका छन् । ब्रिफिङमा समग्र जिल्लाको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल र सम्बन्धित सुरक्षा निकायका प्रमुखहरूले आफ्नो काम र भइरहेको गतिविधिबारे जानकारी गराएका छन् । जिल्लामा सशस्त्र प्रहरीले गण स्थापना गर्ने तयारी गरिरहेको बेला नेपाली सेनाले पनि सेनाको उपस्थिति बढाउने संकेत गरेको सुरक्षा अधिकारी बताउँछन् ।

अपी नाम्पा संरक्षण क्षेत्र अन्तर्गत पर्ने व्यास गाउँपालिकामा नेपाली सेना राख्न अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले विभागमा छलफल चलाएको छ । सेनालाई व्यासमा उपस्थिति गराउनेबारे केन्द्रमा छलफल सुरु भएसँगै सेनाले व्यास क्षेत्रको अवलोकन गरेको हो । भारतीय अतिक्रमणमा परेको व्यास गाउँपालिकास्थित एक स्थानमा नेपाली सेनाको ब्यारेक राख्ने गरी सम्भाव्यता अध्ययन थालिएको छ । सरकारले २०६७ सालमा स्थापना गरेको अपी नम्पा संरक्षण क्षेत्रअन्तर्गत व्यासको छांगरु, राप्ला र सुनसेरामध्ये एक क्षेत्रमा सेनाको उपस्थिति हुने विषयमा छलफल भइरहेको छ । तर, यो क्षेत्रमा सेना राख्ने विषय भने टुंगिएको छैन । राजधानी दैनिक