काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना औंल्याउँदै आमनागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
बुधबार जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक सूचना जारी गर्दै असार १८ देखि २० गतेसम्म बाढी, पहिरो र डुबानको जोखिम रहने जल तथा मौसम विज्ञान विभागको चेतावनीबारे जानकारी दिएको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी पहाडी तथा नदी आसपासका क्षेत्रमा पानीको बहाव अत्यधिक बढ्नसक्ने भएकाले त्यस्ता स्थानमा नजान विभागले आग्रह गरेको छ।
विभागले असुरक्षित क्षेत्र तथा खोलानाला आसपास बसोबास गर्ने र यात्रा गर्नेहरूलाई विशेष सतर्कता अपनाउन भनेको छ। यात्रा आवश्यक परेमा मौसमसम्बन्धी अद्यावधिक जानकारी लिएर मात्र निस्किन सुझाव दिएको छ।
स्थानीय प्रशासन तथा सुरक्षा निकायहरूलाई उच्च सतर्क अवस्थामा रहन भनिएको छ, ताकि सम्भावित प्राकृतिक प्रकोपका जोखिमबाट समयमै निवारण गर्न सकियोस्।










