काठमाडौँ । फिफा क्लब विश्वकप प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
जर्मन क्लब बोरुसिया डर्टमण्ड र मेक्सिकन क्लब रायाडोस (मोन्टेरी)बीचको खेलसँगै अन्तिम आठका टोलिको टुंगो लागेको हो । उक्त खेलमा डर्टमण्डले रायाडोसलाई २–१ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो ।
आजै भएको अर्को खेलमा स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब युभेन्ट्सलाई १–० को साँघुरो गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो ।
क्वाटरफाइनलको पहिलो खेल फ्लुमिन्से र अल हिलालबीच हुनेछ । यस्तै, चेल्सीले पाल्मेरियाससँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै, बायर्न म्युनिख र पिएसजी भिड्नेछन् भने रियल मड्रिड र डर्टमण्ड आमनेसामने हुनेछन् । क्वाटरफाइनलका खेलहरु नेपाली समयानुसार शुक्रबार रातिदेखि शनिबार रातिसम्म हुनेछन् ।











