काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले गुरही पर्व प्रकृति संरक्षण, जैविक विविधता र वातावरणीय सन्तुलनसहित थारू समुदायको मौलिक ज्ञान, चेतना र सम्मानको प्रतीकका रूपमा रहेको बताउनुभएको छ ।
उहाँले गुरही पर्व केवल सांस्कृतिक परम्परा मात्र नभई थारू समुदायको प्रकृतिसँगको गहिरो सम्बन्ध र पारिस्थितिक प्रणालीको सन्तुलनप्रतिको चेतनालाई प्रतिबिम्बित गर्ने उल्लेख गर्नुभयो ।
थारू समुदायको प्रमुख शक्ति एकता, मौलिक संस्कृति, परम्परा र सामूहिक भावना भएको बताउँदै उहाँले अस्वस्थ प्रतिस्पर्धाभन्दा सहकार्य र सहअस्तित्व तथा विभाजनभन्दा एकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
समुदायको नेतृत्व तथा संस्थामा नयाँ पुस्ताको सहभागिता बढाउनुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री चौधरीले युवालाई अवसर दिनु नेतृत्व हस्तान्तरण मात्र नभई संस्कृति, ज्ञान, अनुभव र पहिचानलाई पुस्तौँसम्म संरक्षण गर्ने आधार तयार गर्नु भएको बताउनुभयो ।
उहाँले थारू समुदायको इतिहास, भाषा, संस्कृति, परम्परा, कला, कृषि प्रणाली तथा प्रकृतिसँगको सम्बन्धलाई अध्ययन, अनुसन्धान र दस्ताबेजीकरण गरी नयाँ पुस्तासम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
“अरूले हाम्रो इतिहास लेखिदिने प्रतीक्षा गर्ने होइन, हामी आफैँले आफ्नो इतिहास, पहिचान र योगदानलाई तथ्य र प्रमाणसहित स्थापित गर्ने समय आएको छ”, मन्त्री चौधरीले भन्नुभयो ।
उहाँले व्यक्तिगत धारणा र चियोचर्चाभन्दा माथि उठेर तथ्य, अध्ययन, संवाद र सहमतिमा आधारित निर्णय गर्ने संस्कार विकास गर्नुपर्ने धारणा राख्नुभयो । मतभिन्नता स्वाभाविक भए पनि नकारात्मक मतभिन्नता भने सिर्जना गर्न नहुने उहाँको भनाइ छ ।
गुरही पर्वले थारू समुदायको एकता, मौलिकता, अधिकार, समृद्धि र उज्ज्वल भविष्यका लागि थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उहाँले पर्वका अवसरमा सम्पूर्ण थारू समुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । रासस











