१ भाद्र २०८३, सोमबार
,
Latest
करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची दलको आन्तरिक मामिलामा अदालत प्रवेश गर्नु हुँदैनः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती



अ+ अ-

बागलुङ। मनसुन सुरु भएसँगै बागलुङको ढोरपाटनमा पर्यटकीययाम थप सक्रिय हुन्छ ।

ढोरपाटनमा फुल्ने अनेकौ बुकी फूल हेर्नका लागि हजारौँ पर्यटक साउन-भदौमा यहाँ आउने गर्दछन् । मनसुनमा ढोरपाटन सुन्दर देखिए पनि ढोरपाटन पुग्ने सडकले पर्यटकलाई सास्ती दिने गरेको छ ।

नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सङ्ख्या बढे पनि बर्खामा सडक यात्रा भने जोखिम हुने गरेको आगन्तुक बताउँछन् । पक्की सडकको यात्रामा बागलुङबाट मध्यपहाडी लोकमार्ग हुँदै बुर्तिवाङ पुगेपनि बुर्तिवाङबाट ढोरपाटनसम्मको सडककच्ची छ । सडक स्तरोन्नतिको चरणमा रहेपनि बर्खामा मनोरम दृश्य हेर्न गएका पर्यटकलाई यात्राका क्रममा सास्ती हुने गरेको हो ।

बुर्तिवाङ-ढोरपाटन सडकका १२ भन्दा बढी स्थानमा दैनिकजसो पहिरो खसिरहेकाले यात्रा गर्दा जोखिम भइरहेको छ । अघिल्लो साता पर्यटक बोकेर हिडेको स्कार्पियो पहिरोले पुरेर उक्त साधनलाई क्षति पुर्‍याएको थियो । जीपमा सवारको सकुसल उद्दार गरेपनि यहाँको यात्रा बर्खामा जोखिमपूर्ण हुने गरेको उक्त घटनाले चित्रण गर्दछ ।

त्यस लगत्तै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडकको अनुगमन गरेर कालोपत्र गर्न पहल गर्ने प्रतिबद्धतासमेत जनाएका थिए । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी-ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिवाङ-फल्लेघर खण्डको २२ किलोमिटर सडक स्तरोन्नति भइरहेको भन्दै सडक चौडा बनाउँदा यसपटकको बर्खामा अत्यधिक पहिरो खसेको ढोरपाटन नगरपालिकाका कार्यवाहक नगरप्रमुख धनबहादुर कायतले जानकारी दिए।

उनका अनुसार २२ किमी सडक चौडा बनाएर ग्राभेल गरेपनि बर्खामा नयाँ सडकमा सवारी फस्ने समस्या भने यथावत छ । खासगरी फल्लेघर, सुकुर्दङलगायत क्षेत्रमा पहिरो खस्ने र हिलाम्मे सडकमा सवारी फस्ने समस्या बढी हुँदा यात्रीलाई सास्ती हुने गरेको कायतको भनाइ छ । ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी विसं २०७८ कात्तिक ५ गते स्वच्छन्द-ओमबुद्ध जेभीले सम्झौता गरेकामा कम्पनीले कामा ढिलासुस्ताी गर्दा यात्रु र पर्यटनलाई समस्या भइरहेको कार्यवाहक नगरप्रमुख कायतले बताए ।

“हिउँदमा सक्नुपर्ने सडक बर्खामा काम गर्दा समस्या भयो । अहिले सडक चौडा बनाएपछि पहिरो खस्ने सकस्या बढेको छ । पर्यटकको चाप अत्याधिक भएपनि यात्रुको सुरक्षालाई मध्यनजर गर्दै रातको समयमा सवारीसाधन नचलाउन आग्रह गरिएको छ”, उनले भने, “सडक ग्राभेल भएपछि ढोरपाटनसम्मको आवागमन सडक सहज भएपनि बर्खामा पहिरो खसेर समस्या भएको हो ।”

करिब रु २५ करोड ६१ लाख ३१ हजार १६६ को लागतमा उक्त सडकखण्ड स्तरोन्नति गरिएको सालझण्डी-ढोरपाटन सडक आयोजनाका सूचना अधिकारी परीक्षा पौडेलले जानकारी दिए । गत मङ्सिरमा तेस्रो पटक म्याद थप गरिएको बताउँदै उनले काम नसकिएपछि गत जेठ मसान्तसम्मका लागि अन्तिम पटक म्याद थपेर काम भइरहेको उल्लेख गरे ।

ढोरपाटनको सुन्दरता मनमोहक र पर्यटकलाई आकर्षित गर्ने किसिमको भएपनि बर्खामा यात्रा भने कष्टकर रहेको काठमाडौँबाट ढोरपाटन र बुकीपाटन घुम्न आएका सञ्जय रानाभाटले गुनासो गरे । “ढोरपाटनको सुन्दरता जति बयान गरे पनि कम हुन्छ, तर यात्रा पनि उस्तै कष्टकर देखियो । नयाँ स्तरोन्नति भइरहेको सडकमा मोटरसाइकल फसेर हैरान भयो”, उनले भने ।

रुपन्देहीको सालझण्डीबाट सुरु भएको यो सडक अर्घाखाँचीको सन्धिखर्क, पाल्पा, गुल्मी हुँदै बागलुङको ढोरपाटनसम्म आएको छ । पछिल्लो समय ढोरपाटन, बुकीपाटन र जलजला क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएकाले सडकलाई नियमित सञ्चालन गर्नका लागि नगरपालिका र आयोजना कार्यालयले समन्वय गरेर पटकपटक अवरुद्ध मार्ग खुलाउँदै आएका छन् ।

ढोरपाटनमा गत आर्थिक वर्षमा मात्रै ३७ हजार पर्यटक भित्रिएका जनाउँदै कार्यवाहक नगरप्रमुख कायतले पर्यटकीय पूर्वाधार निर्माण, प्रचारप्रसार र होटल सुविधाले ढोरपाटनमा पर्यटक आगमन बढिरहेको बताए । रासस