६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाबाट फर्केनेलाई तिराइयो महँगो शुल्क, प्रतिव्यक्ति २ हजार ३ सय ५० डलर



अ+ अ-

अस्ट्रेलिया । अस्ट्रेलियामा १३ वर्षदेखि हवाई टिकट व्यवसाय गर्दै आएका व्यवसायी भीम न्यौपानेले सरकारले तोकेको भन्दा कम भाडामा नेपालीलाई अस्ट्रेलियाबाट उडाउन सकिने भन्दै नेपालस्थित वायुसेवा निगममा मेलबर्नबाट पटकपटक सम्पर्क गरे । आफूहरू स्वयंसेवककै रूपमा कुनै फाइदा नलिई सहयोग गर्न तयार रहेको भन्दै नेपाल वायुसेवा निगमलाई दुई पटकसम्म इमेलसमेत गरे । उनले एनआरएनमार्फत दूतावासलाई समेत सरकारले तोकेको भन्दा सस्तो भाडामा उडाउन सकिने भन्दै जानकारी गराए । न उनको निगमका अधिकारीसँग सम्पर्क नै हुन सक्यो न निगमले इमेलको उत्तर पठायो । सिड्नीबाट एक दशकदेखि यस्तै व्यवसाय गर्दै आएका अर्का व्यवसायी इर्साद अहमदले समेत सरकारले तोकेको भन्दा ५ सय डलर कम रकममा नेपाली नेपाल फर्काउन सकिने भन्दै एनआरएनमार्फत दूतावासलाई जानकारी गराए । तर उनको आग्रहबारेमा समेत उनले कुनै प्रतिक्रिया पाएनन् ।

सरकारको निर्णयअनुसार अस्ट्रेलियाबाट पहिलो चरणमा यही जुनको २३ र २७ मा दुइटा उडानमार्फत नेपालीलाई फिर्ता लगिँदै छ । नेपाली ध्वजावाहक विमानबाट लैजाने भन्दै सरकार आफैंले उनीहरूका लागि २ हजार ३ सय ५० अस्ट्रेलियन डलर एकतर्फी भाडा तोकिदिएको छ । यहाँ रहेका व्यवसायीले १ हजार ७ सय ५० डलरसम्ममा उडाउन सकिने बताइरहेका भए पनि नेपाल फर्कन चाहने नेपालीले भने सरकारले तोकेकै भाडा तिर्नुपर्ने भएको छ । दूतावासका अनुसार करिब १ हजार ३ सयले नेपाल फर्कनका लागि आवेदन दिएका छन् जसमध्ये दुईवटा विमानमार्फत ५ सय २० जना नेपाल फर्कंदै छन् । नेपाल फर्कन चाहने नेपाली भने भाडाभन्दा पनि आफू नेपाल फर्किनु जरुरी भएकाले महँगो भन्ने थाहा हुँदाहुँदै आफूहरू सरकारी भाडा दर नै तिर्न बाध्य भएको बताउँछन् ।

‘अहिलेको कठिन परिस्थितिमा अस्ट्रेलियाका नेपाली लैजानका लागि नेपालबाट विमान ल्याउन नै आवश्यक थिएन,’ व्यवसायीहरू भन्छन् । नेपालबाट रित्तो विमान ल्याएर अस्ट्रेलियाका नेपाली लैजानुभन्दा यहाँका व्यवसायीसँग समन्वय गरेर पारदर्शी तरिकाले सस्तोमा नेपाल उडाउन सकिने अधिकांशको दाबी छ । ‘हाम्रो मुख्य प्रश्न नै जब यहाँबाट उडान भर्ने विमान कम्पनीहरू सरकारको भन्दा धेरै सस्तोमा नेपालीलाई उद्धार गर्न तयार छन् भने अस्ट्रेलियामा रहेका नेपालीलाई नेपाल फर्काउन नेपालबाट किन विमान ल्याउनुपर्‍यो ?’ व्यवसायीद्वय न्यौपाने र अहमद प्रश्न गर्छन् ।

व्यवसायीकै भनाइ मान्ने हो भने अस्ट्रेलियाले आफ्ना नागरिक उद्धार गर्दा लगाएको भाडादर हेर्ने हो भने सरकारले लगाएको भाडादरलाई महँगो भन्न मिल्दैन । अस्ट्रेलियाले आफ्ना नागरिकको उद्धार गर्दा १ हजार ६ सय ५० अमेरिकी डलर ९करिब २ हजार ३ सय ९० अस्ट्रेलियन डलर० भाडा तिराएको थियो जुन अहिलेको नेपाल सरकारको भन्दा ३५ डलर बढीे हो । तर नेपालबाट अस्ट्रेलिया आउने विमानमा अन्य देशका यात्रु चढाएर ल्याइने भएकाले नेपालीले तिरेको भाडा निकै महँगो भएको व्यवसायीको भनाइ छ । सरकारले चार्टर विमानको भाडा तय गरेर व्यावसायिक उडान तय गरेको उनीहरूको भनाइ छ ।

उनीहरूको भनाइअनुसार अस्ट्रेलियाली सरकारले चार्टर गरेको विमान नेपाल फर्कंदा रित्तो फर्किएको थियो भने नेपाली विमान यात्रु लिएर आउँदै छ । व्यवसायीहरूले सरकारले भाडा तोक्दा चार्टर गर्ने भनेर तय गरेको तर अहिले व्यावसायिक उडान गर्न खोज्नु राम्रो नियत नभएको दाबी गर्छन् । अर्कोतिर अस्ट्रेलिया सरकारले महँगो भाडा लिएको भए पनि सबै यात्रुलाई १४ दिनसम्म उच्चस्तरका होटलमा निस्शुल्क क्वारेन्टाइन, त्यहाँसम्म जाने यातायात र स्वास्थ्य सुविधा उपलब्ध गराएको थियो ।

एनआरएन अस्ट्रेलियाका पदाधिकारीहरूसमेत भाडादर महँगो भएको र यसलाई कम गरेर उद्धार गर्न दूतावास र सरकारलाई आग्रह गरिएको सुनाउँछन् । एनआरएनएले दुवै रुटमा यात्रु ल्याउने भएपछि नेपालबाट ल्याइने यात्रुबाट संकलित रकमअनुसार हिसाब गरेर बाँकी रकम यात्रुलाई फिर्ता गर्न सरकारसँग माग गरेको छ । ‘हामीले केही दिनअघि मात्रै दूतावासमार्फत सरकार र वायुसेवा निगमलाई नेपालबाट यात्रु लिएर आउने भएपछि सो यात्राबाट उठेको रकममा यहाँका नेपालीबाट उठाएको भाडादर कम गरेर फिर्ता दिनुपर्ने माग गरेका छौं,’ अध्यक्ष केशव कँडेलले कान्तिपुरसँग भने । उनले सामाजिक सञ्जालमार्फतसमेत बढी लिइएको रकम फिर्ता हुनुपर्ने माग गरेका छन् ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल पनि भाडादर महँगो भएको स्विकार्छन् । ‘हो, भाडादर महँगो देखिएको छ । यसबारे नेपाल सरकारलाई हामीले जानकारीसमेत गराएका हौं,’ दाहालले भने । सरकारले निर्णय गरिसकेपछि आफूहरूले त्यसलाई कार्यान्वयनमात्र गरेको उनको भनाइ छ । उनी दूतावासमा कुनै पनि व्यवसायीबाट सस्तोमा नेपाल लैजान सकिनेबारेमा औपचारिक रूपमा जानकारी नगराइएको समेत जिकिर गर्छन् । तर एनआरएनए अध्यक्ष कँडेल भने आफूहरूले यहाँका व्यवसायीले सरकारी भाडादरभन्दा सस्तोमा उडाउन सक्ने भन्दै दूतावासलाई जानकारी गराएको बताउँछन् ।

हवाई टिकेटिङमा संलग्न व्यवसायीहरू भविष्यमा यस्तै कुनै उडान हुने भए आफूहरू फाइदा नलिईकन जतिसक्दो सस्तोमा उडान गराउन तयार रहेको बताउँछन् । तर उनीहरू यसका लागि सरकारले अनुमति दिनुपर्ने जिकिर गर्छन् । ‘सस्तोमा आफ्ना नागरिक नेपाल फर्काउन सकिने सम्भावना हुँदाहुँदै अहिलेको जस्तो कठिन परिस्थितिमा समेत महँगो भाडा तोकेर आउने भए आऊ नत्र उतै बस भन्नु व्यावहारिक होइन,’ एक व्यवसायीले भने । कान्तिपुर दैनिक 




भर्खरै