काठमाडौं । यातायात व्यवसायीहरुले आज देशभर सार्वजनिक यातायात ठप्प पारेका छन् । कालो नम्बर प्लेटका कुनै पनि सवारी साधन सञ्चालन नभएपछि यात्रु मर्कामा परेका छन् ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको भन्दै विरोधमा उत्रिएका यातायात व्यवसायीले आज कुनै पनि सार्वजनिक सवारी साधन सञ्चालनमा नल्याएका हुन् ।
देशभर लामो तथा छोटो दुरीका सवारी साधन नचलाउँदा यात्रीहरु मर्कामा परेका हुन् ।
यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले कालो नम्बर प्लेटका सबै यातायातका साधन सातवटै प्रदेशमा नचलाएको बताए ।
काठमाडौं उपत्यकामा पनि सार्वजनिक यातायात सञ्चालनमा आएका छैनन् । निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरु फाट्टफुट्ट चलेका छन् ।
तर सार्वजनिक बस, माइक्रो बस र टेम्पोहरु चलेका छैनन् । सधैं व्यस्त हुने काठमाडौंका सडकहरु आज बिहानैदेखि सुनसान देखिन्छन् ।
बस स्टपहरुमा यात्रीहरु गाडीको प्रतिक्षा गरिरहेको देखिन्छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अघिल्ला दिनको तुलनामा आज सार्वजनिक सवारी साधन कम मात्र चलेको जनाएको छ ।










