७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन कानुन र व्यवस्थापनबारे छलफल सम्पन्न क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आगामी वर्षको बजेट खेलकुद क्षेत्रका लागि उत्साहजनक’



अ+ अ-

कास्की । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङले इतिहासमा पहिलोपटक नेपाली खेलकुदको बजेटको अङ्कमा निकै ठूलो बढोत्तरी भएको बताउनुभएको छ ।

सरकारले आगामी वर्ष २०८२/८३ का लागि बिहीबार सदनमा प्रस्तुत गरेको बजेट नेपाली खेलकुद क्षेत्रका लागि उत्साहजनक रहेको उहाँले उल्लेख गर्नुभयो । पोखरामा आज खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार भेटघाटमा सदस्यसचिव घिसिङले खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकता दिनुलाई सबैले सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो ।

“इतिहासमै पहिलोपटक खेलकुद क्षेत्रमा बजेट वृद्धि भएको छ । यसलाई हामी सबैले उत्साहजनक रूपमा लिनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो । सदस्यसचिव घिसिङले पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदान निर्माण तथा स्तरोन्नतिका लागि प्राथमिकता राखेर बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

परिषद्को बजेट प्रस्ताव गर्दा क्रिकेटको उमेर समूहको वल्र्डकपका लागि समेत मध्यनजर गरी प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो । “पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदान निर्माणाधीन रहेको छ । यस रङ्गशालाका लागि तेब्बर बढाएर प्रस्ताव गरिएको छ । विस्तृृत बजेटको खाका आउँदा तपाईँहरूले थाहा पाउनुहुने छ”, सदस्यसचिवले भन्नुभयो ।

उहाँले उच्च पर्वतीय खेलमैदानका लागि पनि बजेट विनियोजन भएको जानकारी दिनुभयो । “प्रदेश र केन्द्रका साझेदारी प्रकृतिका कार्यक्रमसमेत राखेका छौँ । स्थानीय तहमार्फत कार्यान्वयन गर्नेगरी प्रस्ताव बजेटमा गरिएको छ”, उहाँले भन्नुभयो ।

सदस्यसचिव घिसिङले पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा कर्णालीमा गर्नेगरी १०औँ झण्डा हस्तान्तरण गरिएको भए पनि विविध कारणले तोकिएको मितिमा राष्ट्रिय खेलकुद हुन नसकेको बताउनुभयो । दशौँ राष्ट्रिय खेलकुदका लागि पनि बजेट विनियोजन गरिएकाले आगामी वर्षमा प्रतियोगिता हुने उहाँले बताउनुभयो ।

नेपाल सरकार, प्रदेश सरकार र अन्य सबै सरोकारवालाको समान बुझाइ राष्ट्रिय खेलकुदका सम्बन्धमा हुनुपर्ने र नेपाली खेलकुद प्रतियोगिता समयमै कसरी गर्न सकिन्छ भन्नेबारेमा छलफल हुनुपर्ने उहाँले बताउनुभयो ।