२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्यांक संकलन



अ+ अ-

चितवन। डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा व्यवस्थापनका दृष्टिले जोखिममा रहेका जिल्लाका विभिन्न स्थानका  रुख व्यवस्थापन गरेको छ ।

जिल्लाका १३ प्रमुख स्थान, सडकखण्ड, सुरक्षा निकायका परिसर तथा विद्युत् प्रसारण लाइन आसपासका क्षेत्रबाट १५५ जोखिमयुक्त रुख व्यवस्थापन गरिएको हो । त्यस क्रममा एक हजार ५७५ थान काठका गोलिया तथा ठुटा, ११ हजार ८०९ दशमलव ६२ क्युफिट काठ र १६ दशमलव ४५ चट्टा दाउरा सङ्कलन भएको छ ।

वन अधिकृत दिनेश हुमागाईंका अनुसार भरतपुरको आपटारी–देवघाट सडकखण्डबाट सबैभन्दा धेरै २५रुख हटाइएको थियो । त्यहाँबाट ३०६ थान, दुई हजार ४६० दशमलव २३ क्युफिट काठ र पाँच दशमलव ७५ चट्टा दाउरा सङ्कलन भएको छ ।

त्यसैगरी, भोजाड–लङ्कालाइन–पदमपुर क्षेत्रबाट ३४ वटा रुख हटाई ३२१ थान, दुई हजार १९७ दशमलव ५० क्युफिट काठ र तीन दशमलव १० चट्टा दाउरा व्यवस्थापन गरिएको छ ।

सशस्त्र प्रहरी बल आँपटारी परिसरबाट नौ वटा रुख हटाई १४१ थान, एक हजार १३६ दशमलव ४९ क्युफिट काठ र एक दशमलव २५ चट्टा दाउरा सङ्कलन भएको छ ।

जोखिमयुक्त डिभिजन वन कार्यालय परिसरबाट २१ वटा रुख हटाई १६७ थान, एक हजार १४१ दशमलव ०९ क्युफिट काठ र दुई चट्टा दाउरा प्राप्त भएको छ । रामपुर–चानौली सडकखण्डबाट २६ वटा रुख हटाउँदा १८० थान, ८१९ दशमलव ४९ क्युफिट काठ र एक दशमलव २५ चट्टा दाउरा व्यवस्थापन गरिएको छ ।

मस्र्याङ्दी–करिडोर २२० केभी प्रसारण लाइन क्षेत्रबाट १६ वटा रुख हटाई २३३ थान, एक हजार ४९१ दशमलव ४० क्युफिट काठ र एक दशमलव ७५ चट्टा दाउरा सङ्कलन गरिएको छ ।

अन्य क्षेत्रमा जोखिमयुक्त क्याम्पाबाट चार, ट्राफिक प्रहरी कार्यालयबाट दुई, सुगम टोलबाट तीन, लामाटोल–कमिनीघाट–पदमपुर क्षेत्रबाट आठ, नेपाल प्रहरी शिक्षालयबाट दुई, राजमार्ग ट्राफिक सुरक्षाका लागि एक र खगेरी नहर क्षेत्रबाट चार वटा रुख हटाइएको कार्यालयले जनाएको छ ।

जनधनको क्षति न्यूनीकरण तथा सडक र विद्युत् पूर्वाधारको सुरक्षालाई ध्यानमा राखेर जोखिमयुक्त रुख व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइएको वन अधिकृत हुमागाईंले बताउनुभयो । हटाइएका रुखबाट प्राप्त काठ तथा दाउरा लिलामीका लागि सूचना प्रकाशित भइसकेको र बोलपत्र आह्वान प्रक्रिया अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।

जिल्लाका अन्य स्थानमा जोखिमयुक्त रुख रहेको र विभिन्न स्थानबाट त्यस्ता रुख व्यवस्थापनका लागि माग आउने गरेको उहाँले बताउनुभयो । प्राप्त मागका आधारमा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन तथा अध्ययन भइरहेको उहाँको भनाइ छ ।

अध्ययन तथा आवश्यक प्रक्रिया पूरा गरी आगामी असोजदेखि जोखिमयुक्त रुख कटान तथा व्यवस्थापनको काम अघि बढाइने उहाँले बताउनुभयो । रासस