२८ भाद्र २०८३, आईतवार
,
Latest
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै



पाटे बाघ
अ+ अ-
काठमाडाैँ । चितवनकाे समस्याग्रस्त बाघलाई व्यवस्थापन गर्दै पर्यापर्यटनसँग जोड्ने उद्देश्यले यहाँ टाइगर सेन्चुरी बनाउन थालिएको छ । हाल दुई वटा समस्याग्रस्त बाघ राखिएको देवनगरमा २० वटा बाघ राख्न सक्ने गरी टाइगर सेन्चुरी बनाउन लागिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको देवनगरमा चालु आर्थिक वर्षदेखि टाइगर सेन्चुरी निर्माणको काम थाल्न रु पाँच करोड बजेट विनियोजन गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा हरिभद्र आचार्यका अनुसार अहिले भइरहेको होल्डिङ सेन्टरसहित तीन किसिमका संरचना सेन्चुरीमा बनाइने छ ।
आचार्यका अनुसार खोरभित्र रहेका बाघलाई मचानमा बसेर वा ‘क्लोजब्रिज’बाट हेर्न मिल्ने गरी बाघ राखिने छ । ती बाघलाई घेरिएका संरचना दुई तहको बनाइने छ । जसका कारण भित्रको बाघ बाहिर आउन नसक्ने र बाहिरका जनावर भित्र छिर्न नसक्ने गरी संरचना बनाइने छ । यो होल्डिङ सेन्टरभन्दा धेरै फराकिलो हुने छ ।
सो वन क्षेत्रमा ५० हेक्टर जमिन लिएर बाँकी भागलाई खुल्ला खोरका रूपमा विकास गरिने प्रवक्ता आचार्यले बताउनुभयो । खोरभित्र जिपमा बसेर मानिसले बाघ अवलोकन गर्न सक्ने छन् । उहाँले भन्नुभयो, “मान्छे खोरभित्र र बाघबाहिर हुने गरी संरचना निर्माण गरिने छ ।”
तीन तहमा टाइगर सेन्चुरी बनाउनका लागि यसै आर्थिक वर्षदेखि काम गरिने छ । उहाँका अनुसार ती क्षेत्रमा २० वटा बाघ राख्न मिल्ने गरी संरचना बनाइने छ । बाघलाई एक अर्काको बीचमा बार बनाएर राखिने छ । पूरै काम गर्नका लागि ठूलो खर्च लाग्ने भए पनि थालनी गरिने आचार्यले जानकारी दिनुभयो ।
समस्याग्रस्त  बाघलाई उद्धार गरेर प्राकृतिक वातावरणकै झल्को दिने गरी व्यवस्थापन गर्न लागिएको हो । नेपालमा यस खालको संरचना अहिलेसम्म बनाइएको छैन । विदेशमा टाइगर सेन्चुरी बनाएर त्यहाँ पर्यटक घुमाएर आम्दानी पनि गर्ने गरिएको छ । आचार्यका अनुसार नेपालमा यस खालको सेन्चुरी बनेसँगै बाघको व्यवस्थापन र पर्यटक घुमाएर आम्दानी गर्न सकिने छ ।
नेपालका विभिन्न ठाउँमा रहेका खोरहरूमा १९ वटा समस्या ग्रस्त बाघ छन् । खोरमा भएकामध्ये सबैभन्दा बढी चितवनमा सात, बर्दिया र चिडियाखानामा पाँच/पाँच वटा, पर्सा र बाँकेमा एक/एक वटा बाघ रहेका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले जानकारी दिनुभयो । सबैभन्दा बाघ भएको चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रणमा लिनु परेका समस्याग्रस्त बाघ राख्ने खोर नभएपछि अन्यत्र पठाउने गरिएको छ ।
संरक्षण अधिकृत पुर्जापुनका अनुसार यसै महिना नियन्त्रणमा लिइएको एउटा बाघलाई पर्सा पठाइएको छ । बाघको सङ्ख्या धेरै हुँदै गर्दा समस्या ग्रस्त बाघ बढ्दै गएका छन् । “मानव बस्तीमा पसेर जनधनको क्षति पुर्‍याउने हिंस्रक बाघलाई समस्याग्रस्त मानेर नियन्त्रणमा लिई खोरमा राख्ने गरिन्छ । केही समय राखेर कतिपयलाई पुनः वनमा छोडिन्छ भने कतिपयलाई नमरेसम्म खोरमा राख्ने गरिन्छ”, उहाँले भन्नुभयो ।
बुढो, घाइते र बिरामी भएर सिकार गर्न नसकेपछि त्यस्ता बाघ मानव बस्तीमा पस्ने गर्दछ । त्यस्ता बाघलाई राखेर व्यवस्थापन र पर्यटकीय गन्तव्य समेत बनाउने उद्देश्यले टाइगर सेन्चुरी बनाउन लागिएकोसंरक्षण अधिकृत पुर्जापुनले जानकारी दिनुभयो ।
बाघ हेर्ने धेरैलाई रहर हुने गर्दछ । विज्ञहरूका अनुसार कुल बाघको पाँच प्रतिशत हाराहारी प्राकृतिक रूपमा नै समस्याग्रस्त हुने गर्दछन् । पुनका अनुसार अहिले बनाउन लागिएको ‘टाइगर सेन्चुरी’ को संरचनामा बाघ बाहिर जान नसक्ने गरी सीमित जङ्गलक्षेत्रलाई घेरेर कम्पाउन्ड र त्योभन्दा माथि इलेक्ट्रिक फेस जडान, अवलोकनका लागि ठूलाठूला मचान, पानीपोखरी लगायतका संरचना बनाउने योजना छ ।
राष्ट्रिय बाघ सर्वेक्षण, २०८२ अनुसार नेपालमा बाघको सङ्ख्या ४२९ छ । जसमध्ये चितवनमा १४५, बर्दियामा ११२, पर्सामा ७१, बाँकेमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० वटा बाघ रहेका छन् । सन् २०२२ को राष्ट्रिय बाघ गणनाअनुसार यो सङ्ख्या ३५५ थियो । सन् २०१० मा १२१ रहेको बाघको सङ्ख्या क्रमशः बढ्दै गएको हो ।