काठमाडौं। काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सोमबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई स्पष्टीकरण बुझाएका छन्।
गत चैत २१ गते गुरागाईंलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा जेठ ६ गते पाण्डेसँग स्पष्टीकरण मागिएको थियो। प्रमुख प्रशासकीय अधिकृत निकट स्रोतका अनुसार, सातबुँदे स्पष्टीकरणमध्ये पाण्डेले ६ बुँदामा मेयर बालेन शाहको आदेशअनुसार काम गरेको र बाँकी एक बुँदामा गाडीको सुरक्षाका लागि ह्वील लक गरिएको उल्लेख गरेका छन्।
गुरागाईंले पनि स्पष्टीकरण प्राप्त भएको पुष्टि गर्दै कानुन व्यवसायीसँग सल्लाहपछि आवश्यक निर्णय लिने बताएका छन्। उक्त दिन उपमेयर सुनिता डंगोलले पनि पाण्डेसँग जवाफ माग्दा उनले मेयरको मौखिक आदेशको पालना गरेको बताएका थिए।










