२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन

नीति तथा कार्यक्रम सकारात्मक- डा प्रकाशशरण महत

नीति तथा कार्यक्रम सकारात्मक- डा प्रकाशशरण महत
काठमाडौँ, २२ वैशाख : सांसद डा. महत नेपाली कांग्रेसका प्रवक्ता एवम् सांसद डा. प्रकाशशरण महत नयाँ बानेश्वरस्थित स‌ङ्घीय संसद भवनमा प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा धारणा राख्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस
अ अ+ अ-

काठमाडौँ। पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम सन्तुलित, यथार्थपरक र कार्यान्वयनमुखी रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि दलीय आधारमा धारणा राख्नेक्रममा डा महतले केही सुधारात्मक प्रयाससहित नीति तथा कार्यक्रम आएको बताउनुभयो । मौद्रिक–वित्त नीति समन्वय, परिणाममुखी बजेट विनियोजन, सामाजिक सुरक्षामा सन्तुलन, लगानीमैत्री वातावरण निर्माण र रोजगारी सिर्जनाजस्ता विषयलाई विशेष ध्यान दिएर नीति तथा कार्यक्रमलाई यथार्थमा परिणत गर्नुपर्ने धारणा डा महतले राख्नुभयो ।

संसद्मा विपक्षी नेताले ‘हाम्रो पालामा उत्कृष्ट, अहिले सबै बिग्रियो’ भन्ने शैलीमा धारणा राखे पनि त्यो पूर्णरूपमा सत्यतामा आधारित नरहेको उहाँको भनाइ छ ।  हरेक सरकारको प्राथमिकता फरक हुने उल्लेख गर्दै उहाँले समग्रमा नीति तथा कार्यक्रम राष्ट्र निर्माणमा केन्द्रित रहेकाले आलोचनाभन्दा सकारात्मक र कार्यान्वयनयोग्य सुझावको आवश्यकता रहेको बताउनुभयो ।

हालको नीति तथा कार्यक्रम ठोस र सकारात्मक भए पनि त्यसलाई परिणाममुखी बनाउन कार्यान्वयन पक्षमा जोड दिन डा महतको सुझाव छ । उहाँले विगतका जस्तै घोषणामै सीमित हुने प्रवृत्ति तोड्न आवश्यक रहेकाले बजेटको प्रभावकारी कार्यान्वयनलाई नीति निर्माणको मुख्य आधार बनाउनुपर्ने धारणा राख्नुभयो ।

डा महतले आर्थिक शिथिलताको एक प्रमुख कारण मौद्रिक र वित्तीय नीतिबीच समन्वय नहुनुभएको उल्लेख गर्नुभयो । केन्द्रीय बैंकको मौद्रिक नीति र सरकारको वित्त नीति एकअर्कासँग असङ्गत हुँदा निजी क्षेत्रको आत्मविश्वास कमजोर भएको र लगानी प्रवाहमा अवरोध देखिएकोतर्फ उहाँले सङ्केत गर्नुभयो ।

उहाँका अनुसार विगतमा बजेट प्रतिफलमुखी आयोजनामा जान नसक्दा लक्ष्यअनुसार आर्थिक विकास हुन नसकेको टिप्पणी उहाँको छ । तर यसपटकको नीति तथा कार्यक्रममा प्रतिफल दिने आयोजनालाई प्राथमिकतामा राख्ने र रुग्ण आयोजनामा बजेट नदिने नीति लिइएको उहाँले उल्लेख गर्नुभयो । बजेट विनियोजनमा ‘कनिका छर्ने’ प्रवृत्तिको अन्त्य गर्दै तीन करोडभन्दा कमलागतका आयोजनामा सङ्घीय सरकारले बजेट छुट्याउन नहुने सुझाव उहाँको छ ।

डा महतले अनावश्यक सरकारी संरचना खारेज गर्ने र सार्वजनिक संस्थानलाई निजी क्षेत्रसँग सहकार्यमा सञ्चालन गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य रहेको बताउनुभयो । यसले सेवाको गुणस्तर सुधार र स्रोतको प्रभावकारी प्रयोगमा योगदान दिने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।

सामाजिक सुरक्षाका कार्यक्रमको दायित्व लगातार बढ्दो रहेको उल्लेख गर्दै उहाँले स्रोत व्यवस्थापनमा सन्तुलन कायम गर्नुपर्नेमा जोड दिनुभयो । सुशासन प्रवर्द्धन, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवा सुधार तथा कृषिमा व्यवसायीकरण र आयात प्रतिस्थापनजस्ता रणनीति अबलम्बन गरिनुपर्ने उहाँको सुझाव छ ।

नीति तथा कार्यक्रममाथि नीतिगत रूपमा असहमति जनाउने खास कारण नभएको बताउँदै उहाँले लोकप्रियतावादी नाराबाट जोगिएर दीर्घकालीन नतिजा दिने कार्यक्रममै ध्यान केन्द्रित गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । डा महतले सांसदले आलोचना मात्र नगरी ठोस सुझावसहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अहिलेको आर्थिक चुनौती आम नागरिकको अपेक्षा पुरा गर्न नसक्नु हो भन्ने उल्लेख गर्दै उहाँले त्यसका लागि राज्यसँग पर्याप्त स्रोत नभएको, आम्दानी कम र खर्च बढी भएको यथार्थ प्रस्तुत गर्नुभयो । चालू खर्च अत्यधिक र पूँजीगत खर्च न्यून रहँदा संरचनागत विकासमा असर परेको र यो प्रवृत्तिमा परिवर्तन गर्नुपर्ने सुझाव उहाँको छ ।

विदेशी सहयोग परिचालनलाई कसरी व्यवस्थित गर्ने भन्नेतर्फ ध्यान पु-याउन आवश्यक रहेको उहाँको भनाइ छ । “अनुदान निरन्तर घटिरहेको छ । अब हामीले वैदेशिक लगानी भित्र्याउने कुरालाई प्राथमिकतामा राख्नुपर्छ । लगानी सहज बनाइनुपर्छ”, उहाँले भन्नुभयो । लगानीका क्षेत्रमा देखिएको नीतिगत र व्यावहारिक समस्या समाधान गरेर जानुपर्नेमा उहाँले जोड दिनुभयो । विदेशी ऋण लिँदा पनि द्विपक्षीय भन्दा पनि बहुपक्षीय वैदेशिक ऋणलाई प्राथमिकतामा राख्नुपर्ने  उहाँको भनाइ छ ।

डा महतले रोजगारी सिर्जना गर्न पर्यटन क्षेत्रलाई प्रमुख आधारका रूपमा अघि बढाउन सकिने सुझाव दिनुभयो । त्यसका लागि सडक, होटललगायतका पूर्वाधार विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल वायुसेवा निगमको व्यवस्थापन निजी क्षेत्रलाई दिनुपर्ने सुझाव उहाँको छ । रासस