१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनमोहन स्मृति क्रिकेटः नेपाल पुलिस क्लबलाई उपाधि



अ+ अ-

मोरङ ।  मनमोहन कप फाउन्डेसनद्वारा विराटनगरमा आयोजित तेस्रो संस्करणको मनमोहन स्मृति एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गरी उपाधि प्राप्त गरेको छ ।

विराटनगर–१९ वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको फाइनलमा पुलिस क्लबले साविक विजेता त्रिभुवन आर्मीलाई २४ रनले पराजित गरी उपाधि प्राप्त गरेको हो ।

यो जितसँगै पुलिसले नगद रु चार लाख र ट्रफी तथा उपविजेता आर्मीले नगद रु दुई लाख र ट्रफी प्राप्त गरेका छन् । खेलमा ‘टस’ हारेर पहिले ‘ब्याटिङ’ गरेको पुलिसले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३९ रन बनाएको थियो ।

पुलिसले दिएको दुई सय ४० रनको लक्ष्य आर्मीले ४८ ओभरमा सबै विकेट गुमाउँदै दुई सय १५ रन मात्र बनाएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका नरेन साउद नगद रु २५ हजार, उत्कृष्ट ब्याटर पुलिसका शङ्कर राना र उत्कृष्ट बलर कोशीका प्रेम कामत जनही नगद रु १५–१५ हजार र ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ ।

विजयी तथा अन्य खेलाडीलाई विराटनगर महानगरका प्रमुख नागेश कोइराला, क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, नेपाली क्रिकेट टोलीका पूर्वप्रशिक्षक जगत टमाटा, जिल्ला खेलकुद समिति मोरङका अध्यक्ष सुरज श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष विप्लव घोष, कोशी क्रिकेट सङ्घका अध्यक्ष सर्वजितराज पाण्डे र मोरङ क्रिकेट सङ्घका अध्यक्ष महमद सादबाबु कुरेसीलगायतले पुरस्कार तथा ट्रफी वितरण गर्नुभएको थियो ।

यही वैशाख १३ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतको आसाम क्रिकेट क्लब, कोशी र बागमती प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी क्लब सहभागी थिए । प्रतियोगिता सम्पन्न गर्न करिब रु  एक करोड खर्च भएको आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिनुभयो ।  रासस