२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक कालोपत्र र ढलानलाई प्राथमिकता दिँदै स्थानीय तह



अ+ अ-

सिरहा । सिरहाका स्थानीय तहहरुले ग्रामीण क्षेत्रलाई शहरसम्म जोड्ने सडक कालोपत्र र ढलान गर्ने योजनालाई प्राथमिकता दिन थालेका छन् ।

विगत वर्षमा अधिकांश सडकमा माटो ग्राभेलको योजनालाई प्राथमिकता दिँदै आएका सिरहाका स्थानीय तहहरुले आर्थिक वर्ष ०७६/०७७ देखि सडकलाई पक्की र कालोपत्र गर्ने योजनालाई प्राथमिकता दिन थालेका हुन् । सडक सञ्जाल निर्माण गरेर ग्रामीण क्षेत्रबाट शहरसम्म पुग्न घण्टाँै लाग्ने नगरवासीको समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्दै आवतजावतमा सहजता ल्याउने उद्देश्यले सडक कालोपत्रे र पक्की बनाउने योजनालाई प्राथमिकता दिएको स्थानीय सरकारका प्रमुखले बताएका छन् । 
    
लहान नगरपालिका, धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका र सुखीपुर नगरपालिकाले  नगरक्षेत्रका सडकमा कालोपत्र र ढलान गर्ने योजनालाई प्राथमितामा राखेर काम अघि बढाएका छन् । जनसङ्ख्या र वडाको दृष्टिकोणले सिरहाको सबैभन्दा ठूलो नगरपालिका लहान नगरपालिकाले ग्रामीण भेगलाई लहान बजारसँग जोडिएका आधा दर्जन सडकलाई कालोपत्र र ढलान गर्ने योजनालाई अघि बढाएको लहान नगरपालिकाका प्रमुख मुनी साहले बताउनुभयो । 
    
कूल २४ वडा रहेको लहान नगरपालिकाको दक्षिणी भेगमा पर्ने वडा नम्बर १९, २०, २१, २२ र २३ का जनतालाई सहज र कम समयमा लहान बजारसम्म पुग्ने सडक निर्माण तीव्ररुपमा भइरहेको नगरप्रमुख साहको भनाइ छ । यस्तै नगरपालिकाको उत्तरी भेगका पर्ने वडा नम्बर १५, १६, १७ र १८ लाई लहान बजारसँग जोड्ने सडकलाई वडास्तरीय बजेटबाट पक्की गर्न ढलानको कामसमेत अघि बढाइएको नगरपालिकाले जनाएको छ ।
    
नगरपालिकाको उत्तरी पश्चिम क्षेत्रमा पर्ने वडा नम्बर १३ र १४ को १० किलोमिटर सडकमा कालोपत्रे भइरहेको र करिब चार किलोमिटर सडक कालोपत्र सकिएको छ । बाँकी सात किलोमिटर सडकमा छिट्टै कालोपत्र सकिने र ठूलो वडाको रुपमा रहेको वडा नम्बर २४ लाई उद्योगग्राम र पर्यटकीय क्षेत्र जोड्ने सडक निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल भइरहेको नगरप्रमुख साहले जानकारी दिनुभयो ।

लहान नगरपालिकासँगै जोडिएको धनगढीमाई नगरपालिकाले पनि नगरक्षेत्रको सडकलाई कालोपत्र गर्ने योजनालाई तीव्रता दिएको छ । धनगढीमाई नगरपालिकाले ग्रामीण क्षेत्रलाई बजारसम्म जोड्ने करिब २५ किलोमिटर सडकमा कालोपत्र गर्ने कार्य भइरहेको नगरप्रमुख हरिनारायण चौधरीले बताउनुभयो । सडक कालोपत्र र ढलान गर्ने योजनालाई प्राथमिता दिएको गोलबजार नगरपालिकाले पनि अहिले नगरक्षेत्रका करिब ३२ किलोमिटर सडकमा कालोपत्र र ढलानको काम सकिएको जनाएको छ । 

छिमेकी तीन स्थानीय तहले सडक सञ्जाल कालोपत्र र पक्की बनाउने कार्यलाई प्राथमिकता दिएपछि सुखीपुर नगरपालिकाले पनि गाउँलाई बजारसँग जोड्ने १३ किलोमिटर सडकमा कालोपत्र र तीन किलोमिटर सडकमा ढलान भइसकेको नगरप्रमुख रामऔतार यादवले जानकारी दिनुभयो । स्थानीय तहहरुले सञ्जाल विस्तारसँगै सडक कालोपत्र तथा ढलान गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम अघि बढाएपछि स्थानीय उत्साहित बनेका छन् । 

विगत वर्षहरुमा अधिकांश सडकमा असार मसान्तमा माटो र ग्राभेल हाल्दै आएका स्थानीय तहहरुले पछिल्लो एक वर्षदेखि कालोपत्रे तथा ढलान कार्यलाई प्राथमिकता दिएकाले छिट्टै नगरक्षेत्रमा विकासीय गतिविधिले तीव्रता लिने लहान नगरपालिका–८ का सन्तोष गुप्ताले बताउनुभयो । यसबाट वर्षेनी माटो र ग्राभेलका नाममा भ्रष्टाचार गर्ने गरेको आरोपबाट समेत जनप्रतिनिधि केही हदसम्म मुक्त हुने उहाँको कथन छ ।