काठमाडौं । आगामी माघ ३, ४ र ५ गते काठमाडौंको भृकुटीमण्डपमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र ईभेन्ट्स सोलुसन प्रालिको संयुक्त आयोजनामा एक्स्पो आयोजना गर्न लागिएको हो ।
ललितपुरमा आयोजित विशेष पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले एक्स्पो ‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ सञ्चालन हुने जानकारी दिनुभयो ।
नेपालको विद्युत् जडित क्षमता करिब ४ हजार ३०० मेगावाट पुगिसकेको र त्यसमा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको उल्लेख गर्दै अध्यक्ष डाँगीले सरकारले अघि सारेको सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य हासिल गर्न स्वदेशी तथा विदेशी लगानी र अत्याधुनिक प्रविधि भित्र्याउन एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
एक्स्पोमा नेपालसहित भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत र ब्राजिललगायत १५ भन्दा बढी देशका ऊर्जा कम्पनी, लगानीकर्ता, इन्जिनियरिङ कन्सल्टेन्ट, बैंक तथा वित्तीय संस्थाको सहभागिता रहने आयोजकले जनाएको छ ।
अध्यक्ष डाँगीका अनुसार देशभर करिब ६ हजार ४ सय मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणाधीन छन् । प्रारम्भिक हिसाबअनुसार ती आयोजनामा झन्डै ५ लाख मानिस प्रत्यक्ष रोजगारीमा संलग्न छन् । निर्माणाधीन आयोजनाका कारण सिभिल, मेकानिकल तथा इलेक्ट्रिकल इन्जिनियर, जियोलोजिस्टलगायत प्राविधिक जनशक्तिको माग बढ्नुका साथै सिमेन्ट, डन्डी, उपकरण, हेभी इक्विपमेन्ट, टर्बाइनलगायत ऊर्जा क्षेत्रसँग सम्बन्धित सामग्री तथा प्रविधिको बजारसमेत विस्तार भइरहेको उहाँले बताउनुभयो ।
पछिल्ला वर्षहरूमा इलाम, संखुवासभा, लमजुङ, भोटेकोशी तथा त्रिशूली नदी बेसिनमा आएको आकस्मिक बाढी, पहिरो र गेग्रान बहावका कारण जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको स्मरण गर्दै डाँगीले जलविद्युत् पूर्वाधारलाई थप उत्थानशील बनाउन आवश्यक प्रविधि र उपकरणबारे समेत एक्स्पोमा छलफल हुने बताउनुभयो ।
उहाँका अनुसार एक्स्पोले ऊर्जा उत्पादक, प्रविधि तथा सामग्री आपूर्तिकर्ता र खरिदकर्तालाई एउटै थलोमा भेट गराउनेछ । यसबाट बजार विस्तार, नयाँ प्रविधिको जानकारी, खरिद प्रक्रिया तथा मूल्यसम्बन्धी छलफल र दीर्घकालीन व्यावसायिक सहकार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
‘ऊर्जा उत्पादन कसरी हुन्छ भन्नेबारे नयाँ पुस्तालाई व्यावहारिक ज्ञान दिन हाइड्रोपावरका विभिन्न मोडल र प्रविधि प्रदर्शन गर्नुका साथै आयोजना तथा साइट भ्रमणका कार्यक्रमसमेत राख्न सकिन्छ,’ अध्यक्ष डाँगीले भन्नुभयो, ‘यसले युवालाई ऊर्जा क्षेत्रमा आकर्षित गर्नुका साथै ऊर्जा उत्पादनको प्रक्रिया बुझ्ने अवसर प्रदान गर्छ ।’
टनेलिङ उपकरणदेखि ग्रीन हाइड्रोजनसम्म
एक्स्पोमा सुरुङ खन्न प्रयोग हुने टनेलिङ उपकरण, रक मेकानिक्स तथा हेभी मेसिनरीको विशेष शोकेस गरिने आयोजकले जनाएको छ । त्यस्तै, उपत्यकामा १०० भन्दा बढी विद्युतीय सवारीसाधनको भव्य ¥याली आयोजना गरिनेछ ।
भारत र बंगलादेशसँगको १० हजार मेगावाट विद्युत् व्यापार तथा प्रसारण लाइन विस्तारसम्बन्धी उच्चस्तरीय नीतिगत छलफलसमेत एक्स्पोका क्रममा हुने बताइएको छ ।
यसैगरी, ठूला ब्याट्री भण्डारण प्रणाली (ब्याट्री इनर्जी स्टोरेज सिस्टम) तथा ग्रीन हाइड्रोजन प्रविधिको सम्भाव्यताबारे प्रस्तुति र छलफल आयोजना गरिनेछ । युवा इन्जिनियर तथा नवप्रवर्तकलाई लक्षित गर्दै ५ लाख रुपैयाँ नगद पुरस्कारसहितको स्वच्छ ऊर्जा प्रतियोगितासमेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।
माघ ४ गते ‘इप्पान डे’ तथा ऊर्जा सम्मान
एक्स्पोअन्तर्गत माघ ४ गते इप्पानको २६औँ स्थापना दिवसका अवसरमा ‘इप्पान डे गाला डिनर’ तथा ऊर्जा सम्मान कार्यक्रम आयोजना गरिनेछ ।
आयोजकका अनुसार उक्त समारोहमा ऊर्जा क्षेत्रको विकासमा योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मान गरिनेछ ।
तीन दिनसम्म सञ्चालन हुने एक्स्पोले ऊर्जा उत्पादन, प्रविधि, लगानी, पूर्वाधार, विद्युत् व्यापार र स्वच्छ ऊर्जाका विभिन्न पक्षलाई एउटै मञ्चमा ल्याउने आयोजकको भनाइ छ ।









