९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

‘समाजवादको सुदृढीकरणका लागि बिपीको सिद्धान्त अनुसरण गर्न आवश्यक’

‘समाजवादको सुदृढीकरणका लागि बिपीको सिद्धान्त अनुसरण गर्न आवश्यक’
अ अ+ अ-

काठमाडौँ। नेपालको लोकतन्त्र र समाजवादको सुदृढीकरणका लागि विश्वेश्वरप्रसाद कोइराला (बिपी) को आदर्श तथा सिद्धान्तहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेकाले तिनको अनुसरण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

बिपी कोइराला सोसलिस्ट इन्टरनेसनल नेपालले आज यहाँ आयोजना गरेको ‘बिपीको समाजवाद र स्थानीय सरकार’ पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा बिपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विषयक विचार गोष्ठीमा वक्ताहरूले समाजवाद र उन्नत लोकतन्त्रका लागि बिपीका विचारहरू मार्गदर्शक हुने धारणा राख्नुभएको हो ।

कार्यक्रममा प्रथम राष्ट्रपति डा रामवरण यादवले लोकतन्त्रको स्थापनापछि सडक पूर्वाधार जस्ता क्षेत्रमा उल्लेख्य सुधार भए पनि समग्र अर्थतन्त्र र शिक्षा, स्वास्थ्य तथा रोजगारीलगायत क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । “हाल गाउँ–गाउँमा राम्रा सडक बनेका छन्, ९५ प्रतिशतभन्दा बढी जनसङ्ख्यामा बिजुली सुविधा पुगेको छ । पछिल्लो दुई दशकमा धेरै गुणात्मक सुधार भएका छन्”, उहाँले भन्नुभयो, “तर अझै पनि अर्थतन्त्रका लागि धेरै चीज गर्न बाँकी छ । कृषि, उद्योग क्षेत्र धराशायी भएको छ । यसमा गम्भीर बनौँ ।

बिपीले ग्रामीण जीवनको विकासलाई केन्द्रमा राखेर समाजवादको कल्पना गरेकाले अहिले पनि कृषि र ग्रामीण अर्थतन्त्र विकासलाई केन्द्रमा राख्न सके आर्थिक विकास सम्भव हुने डा यादवको भनाइ छ । नेपालमा शिक्षा र स्वास्थ क्षेत्रको निजीकरणले समस्या सिर्जना गरेको पनि उहाँले उल्लेख गर्नुभयो । यस्तै, नदीनाला तथा चुरे क्षेत्रको दोहन रोकेर पर्यावरणमैत्री विकास गरिनुपर्नेमा प्रथम राष्ट्रपति डा यादवको जोड थियो ।

मुलुकमा लोकतन्त्रको स्थापनाका लागि नेपाली कांग्रेस पार्टीको ठूलो योगदान रहे पनि कार्यकर्तामा त्यसको अपनत्व नरहेको उहाँको बुझाइ छ । प्रथम राष्ट्रपति यादवले नेपालको ऐतिहासिक उपलब्धिलाई देखाउन छुट्टै सङ्ग्रहालय स्थापना गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बिपीले परिकल्पना गरेको समाजवादको अवधारणाअनुसार केही पालिकाहरूलाई नमूना पालिकाका रूपमा अघि बढाउन सकिने योजना सुनाउनुभयो । “बिपीको कल्पनालाई लागू गर्नेतर्फ जान सक्यो भने मात्र उहाँको दूरदृष्टि सफल हुनेछ । सुरुआतमा कुनै एउटा–दुईटा पालिका वा गाउँमात्रै बिपीले कल्पना गरेअनुसार बनाउन सकिन्छ । यसमा लागौँ”, उहाँले भन्नुभयो ।

हाल सरकारमा रहेका व्यक्तिहरूले आफ्ना कमजोरी लुकाउनका लागि मात्रै यो व्यवस्था जान्छ कि भन्नेबारे देखावटी चिन्ता व्यक्त गरिरहेको डा कोइरालाको जिकिर छ । “हामीले ल्याएको लोकतन्त्र जान्छ कि भनेर नेतृत्वले चिन्ता गर्दै छलफल गरेको देखियो तर त्यो आफ्नो कमीकमजोरीलाई लुकाउन मात्र छलफल गरेको हो”, उहाँले भन्नुभयो, “गणतन्त्र जाँदैछ, राजतन्त्र आउँदैछ भन्ने खतरा अहिले छैन । आफ्ना कमजोरी लुकाउन सबै कुरा भइरहेका छन् ।

गणतन्त्र जाँदैन ढुक्क हुन्नुस् ।” नेता डा कोइरालाले विद्यमान संविधानमा केही कमजोरी छन् भनेर सबैले स्वीकारी सकेकाले यसलाई सुधार गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले हाल देखिएका समस्या समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । “शिक्षक, चिकित्सक, कर्मचारी, लघुवित्तपीडित तथा सहकारी पीडितहरू सडकमा आन्दोलनरत छन् । यी आवाजलाई सरकारले बेवास्ता गर्नुहुँदैन”, डा कोइरालाले भन्नुभयो, “यसबाहेक नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ हुनु भनेको सरकारबाटै कानुनको उल्लङ्घन गर्नु हो । सो पद रिक्त हुनु एक महिना अगावै अर्को नियुक्ति प्रक्रिया थाल्ने विद्यमान कानुनी व्यवस्थालाई सरकारले लत्याएको छ । यो राम्रो होइन ।” सार्वजनिक संस्थाहरूमा राजनीतिक नियुक्त र नेता नजिकका व्यक्ति छान्ने प्रवृत्ति रोकिनुपर्ने उहाँको भनाइ थियो ।

पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले राजनीतिक दलका नेताहरूले देशको हितमा निर्णय गर्नुपर्ने नीति नै बिपीको नीतिको मूल सार रहेको उल्लेख गर्नुभयो । मुलुकको अर्थतन्त्र बलियो हुन सके मात्र प्रजातन्त्र बलियो हुने उल्लेख गर्दै उहाँले ग्रामीण विकासलाई केन्द्रमा राखेर सरकारका नीतिहरू आउनुपर्ने बताउनुभयो । नेतृ कोइरालाले राजनीतिक दल र सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरूले एकअर्कालाई गाली गर्ने मात्र नभई समस्याको तार्किक र उचित समाधान दिन सक्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउदले बिपीले सबैका कुरा सुन्ने गरेको स्मरण गर्दै हाल नेपाली कांग्रेसभित्र प्रश्न उठाउनेलाई सम्मान गर्ने र उठेका प्रश्नको जवाफ दिने परम्परा कमजोर हुँदै गएको बताउनुभयो । आज पनि बिपीका सूक्ष्म चिन्तन र सिद्धान्तबाट प्रजातन्त्रलाई संस्थागत गर्ने तथा मुलुकलाई स्थायित्व दिने प्रयत्न गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

पूर्वमुख्यसचिव विमल कोइरालाले बिपी समाजवादको द्रष्टा रहेको धारणा राख्नुभयो । उहाँले बिपीको सिद्धान्त बिर्सेर कांग्रेस राष्ट्र निर्माणको एजेण्डाबाट विचलित भएर सत्ता स्वार्थमा बढी केन्द्रत भएको आरोप लगाउनुभयो । कोइरालाले बिपीले परिकल्पना गरेको समाजवादअनुसार नै कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिँदै सार्वजनिक संस्थालाई बलियो र तटस्थ हुने अवस्था बनाउन सके मात्र शासन बलियो बताउनुभयो ।

डा सुन्दरमणि दीक्षितले कांग्रेसले नै बिपीको सिद्धान्तलाई बिर्सेर कम्युनिष्ट विचारधारा बोक्न थालेको आरोप लगाउनुभयो । राजनीतिक विश्लेषक सिके लालले हाल बिपीको विचारबारे निकै कम मन्थन हुने गरेको उल्लेख गर्दै बिपीलाई बुझ्ने हो भने उहाँका भाषण र राजनीतकि दर्शन मात्र नभई साहित्य पनि बुझ्न आवश्यक रहेको जिकिर गर्नुभयो ।

पूर्वराजदूत प्रा लोकराज बरालले राजनीतिक, आर्थिक, साहित्यिक क्षेत्रमा बिपी कोइराला पुनर्जागरणको प्रतीक रहेको बताउनुभयो । संयुक्त राष्ट्रसङ्घका पूर्वस्थायी प्रतिनिधि प्रा डा जयराज आचार्यले शिक्षा, स्वास्थ्य, आवास जस्ता आधारभूत आवश्यकता पूरा गर्न नसके बिपीको समाजवादले सार्थकता नपाउने धारणा राख्नुभयो ।

कार्यक्रममा बिपी कोइराला सोसलिस्ट इन्टरनेसनल नेपालका अध्यक्ष इन्दिरा थापाले हालको परिप्रेक्षमा समाजवादलाई कसरी बुझ्ने भन्ने बुझाउन ‘बिपीको समाजवाद र स्थानीय सरकार’ पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । यस पुस्तकले बिपी कोइरालाको सामाजिक र आर्थिक अवधारणालाई अहिलेको परिप्रेक्ष्यमा कसरी बुझ्ने भनेर स्पष्ट पार्ने बताउनुभयो । रासस