७ भाद्र २०८३, आईतवार
,
Latest
तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको उपाधि मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’ कांग्रेसमा प्रवेश गरे रास्वपाका पूर्वनगर सभापति न्यौपाने रास्वपा सभापति लामिछानेको चीन भ्रमण स्थगित वैदेशिक रोजगारीको प्रलोभनमा रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ वीरगञ्जमा खोलामा डुबेर एक व्यक्तिको मृत्यु वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत गराउन मौसमी महसुलको तयारी मकवानपुरको कैलाश गाउँपालिका र सिएमसी हस्पिटलबीच स्वास्थ्य सेवा प्रवाहसम्बन्धी सम्झौता लामो समय मोबाइलमा कुरा गर्दा श्रवण क्षमता कमजोर हुने जोखिम बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याविरुद्ध माईतीघरमा प्रदर्शनः दोषीलाई कडा कारबाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ जलविद्युत् आयोजनाबाट एक सय हेक्टरमा वृक्षरोपण



अ+ अ-

तनहुँ। एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले एक सय चार हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षारोपण गरेको छ । आयोजना निर्माण गर्दा रुख कटान भएबमोजिम क्षतिपूर्तिवापत १०४ दशमलव २१ हेक्टर जग्गामा वृक्षरोपण गरिएको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजना निर्माण गर्दा रुख कटान भएपश्चात् वृक्षरोपण गर्नुपर्ने प्रावधानअनुसार आयोजनाका तर्फबाट बिरुवा रोपिएको जानकारी दिनुभयो । कार्यालयले थप १७ सामुदायिक वन क्षेत्रमा क्षतिपूर्ति स्वरुप वृक्षरोपणको तयारी गरेको उहाँले बताउनुभयो । त्यसका लागि गण्डकी प्रदेश वन मन्त्रालयका सचिवबाट अनुगमन गरी आयोजनाका पदाधिकारी र डिभिजन वन कार्यालय तनहुँका प्रमुखसँग छलफल भएको छ ।

आयोजनालाई आवश्यक वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख, बिरुवा हटाउने, क्षतिपूर्ति, वृक्षारोपणलगायत विषयमा छलफल गरिएको भण्डारीको भनाइ छ ।

यस्तै, आयोजनाले म्याग्दे गाउँपालिका–३ स्थित सिद्धबतासन सामुदायिक वन उपभोक्ता समूहमा पोखरी निर्माण गरेको छ । आयोजनाको वन तथा वन्यजन्तु व्यवस्थापन योजनाअन्तर्गत वन्यजन्तुको सहज आवतजावत तथा बासस्थान संरक्षणका लागि पोखरी निर्माण गरिएको हो ।

साथै मत्स्य व्यवस्थापन योजनाअन्तर्गत ऋषिङ गाउँपालिका–१ झापुटारस्थित आयोजना कार्यालय तथा आवास परिसरमा मत्स्य ह्याचरी बाहिर रहने संरचना निर्माण गरिएको पनि आयोजनाले जनाएको छ । ह्याचरीमा आवश्यक पर्ने पानी आपूर्ति र त्यसको नमूना परीक्षण गरिएको छ भने परीक्षणका लागि माछाका भुर्रा छाडिएको आयोजना प्रमुख भण्डारीले बताउनुभयो । रासस