७ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिका–इरान द्वन्द्व र सीमा क्षेत्रको तनावले अफगानी व्यापारी तथा श्रमिक मारमा सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर  कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग



अ+ अ-

काठमाडौँ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरुद्ध ‘इन्टरपोल रेड नोटिस’ जारी गर्न टर्कीले गरेको औपचारिक अनुरोध र सिरियाली सैन्य अखडामा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणपछि दुई देशबीचको कुटनीतिक सम्बन्ध थप तनावपूर्ण बनेको छ ।

टर्कीका न्यायमन्त्री अकिन गुर्लेकले शुक्रबार दिएको जानकारीअनुसार गाजाको नाकाबन्दी तोड्ने उद्देश्यका साथ गत मे महिनामा टर्कीबाट प्रस्थान गरेको ‘ग्लोवल सुमुद फ्लोटिला’ अभियानका अभियन्ताहरूलाई इजरायलले नियन्त्रणमा लिएको विषयमा टर्कीमा चलिरहेको फौजदारी मुद्दाको सिलसिलामा नेतान्याहूविरुद्ध रेड नोटिसको माग गरिएको हो ।

उक्त मानवीय सहायता अभियानका सहभागीहरूलाई इजरायलले समुद्रमै अवरोध गरी नियन्त्रणमा लिएर देश निकाला गरेको थियो ।

टर्कीको यस कदमको कडा प्रतिक्रिया दिँदै इजरायली प्रधानमन्त्रीको कार्यालयले टर्कीलाई पाखण्डीको संज्ञा दिएको छ । इजरायलले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई एन्टी–सेमिटिक (यहूदी विरोधी) तानाशाह भन्दै उनले सिरियामा आफ्नो आक्रामकता विस्तार गर्न खोजेको आरोप लगाएको छ । इजरायलले आफ्नो सुरक्षामा आँच पुग्ने कुनै पनि गतिविधिविरुद्ध कडा कदम चाल्ने चेतावनी समेत दिएको छ ।

यता टर्कीको सञ्चार निर्देशनालयले इजरायली दाबीको खण्डन गर्दै नेतान्याहू सरकारको टिप्पणीलाई तथ्यहीन र राजनीतिक अपरिपक्वताको पराकाष्ठा भनेको छ । टर्कीले नेतान्याहू सरकारले चुनावी लाभका लागि सस्तो राजनीति गरिरहेको र टर्कीलाई क्षेत्रीय खतराको रूपमा चित्रण गर्ने प्रयास गरेको आरोप लगाएको छ । यस्तो उत्तेजक गतिविधिले क्षेत्रीय र वैश्विक शान्तिमा गम्भीर संकट निम्त्याउन सक्ने टर्कीको चेतावनी छ ।

पछिल्लो तनावको मुख्य कारण गत मंगलबार उत्तर–पश्चिमी सिरियाको इडलिब प्रान्तस्थित ‘अबु अल–दुहुर’ सैन्य विमानस्थलमा इजरायलले गरेको हवाई आक्रमणलाई मानिएको छ । इजरायलले उक्त विमानस्थलमा टर्कीको सम्भावित सैन्य तैनाथी रोक्न आक्रमण गरिएको दाबी गरेको छ भने टर्कीले त्यस्तो कुनैपनि तैनाथीको योजना नरहेको स्पष्ट पारेको छ ।

राजनीतिक विश्लेषकहरूकाअनुसार सिरियामा टर्कीको बढ्दो भूमिकालाई लिएर इजरायल संशकित देखिएको छ । इस्तानबुल आयदिन विश्वविद्यालयकी विश्लेषक कानन तेर्कान भन्छिन्, ‘सिरियामा टर्कीको उपस्थिति सिरियाली सरकारको अनुरोधमा तालिम प्रयोजनका लागि मात्र हो। यसले कुनै पनि क्षेत्रीय सम्प्रभुताको उल्लंघन गर्दैन ।’

उनका अनुसार नेतान्याहू अगामी अक्टोबरमा हुने निर्वाचनको दबाबमा रहेकाले सुरक्षाको मुद्दालाई चर्काएर घरेलु राजनीतिमा पकड जमाउन खोजिरहेका छन् ।

नेतान्याहूविरुद्ध माग गरिएको ‘रेड नोटिस’ले अन्तर्राष्ट्रिय मञ्चमा इजरायली प्रधानमन्त्रीको कुटनीतिक वैधता र छविमाथि ठूलो प्रश्नचिह्न खडा गर्ने विश्लेषण गरिएको छ ।

‘रेड नोटिस’ जारी भएको अवस्थामा संयुक्त राष्ट्र संघजस्ता अन्तर्राष्ट्रिय निकायहरूमा इजरायलको प्रतिनिधित्वमा समेत नैतिक संकट उत्पन्न हुन सक्ने विश्लेषकहरूको ठम्याइ छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल