
काठमाडौँ । प्रमुख शीर्ष तीन दलका नेताहरुबिच संमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने सहमति भएको छ ।
छलफलपछि प्रधानमन्त्रीका विज्ञ सल्लाहकार तथा एमाले स्थायी कमिटी सदस्य वरिष्ठ अधिवक्ता अग्नि खरेलले आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिबारे छलफल भएको जानकारी दिए ।
उनले भने, ‘बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिको लागि सिफारिस समिति सर्च कमिटी गठन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीले दुवै दलका नेताहरुसँग परामर्श भयो । परामर्श अनुसार सिफारिस समिति बढाउने प्रक्रिया अघि बढ्छ ।’
छलफलमा प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए । साथै, गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक, माओवादी केन्द्रका नेताहरु शक्ति बस्नेत र खिमलाल देवकोटा तथा प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नी खरेल पनि सहभागि थिए ।