
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुचारु गर्न लिजमा जहाज थप्ने तयारी भइरहेको बताउनुभएको छ ।
सोमवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।
नागरिक उडड्यनको क्षेत्रमा कुनैपनि बेला नतिजा आउने गरी तदारुकताका साथ काम गरिरहेको उहाँको दाबी छ । उहाँले उडड्यनको क्षेत्रलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न जहाज थप्नुको विकल्प नरहेको बताउनु भयो । धेरै वटा देशहरुबाट सिधा उडानको प्रश्ताव अएको उल्लेख गर्दै मन्त्री पाण्डेले १० वटा वाइडबडी र १० वटा न्यारोबडी थप्नुपर्ने बताउनु भयो । उहाँले सबैतिरबाट ध्वजावाहक जहाज नै चढ्न खोज्दा समस्या भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नागरिक उडड्यनको क्षेत्रमा नेपाल एयरलाइन्सलाई सुचारु बनाउने सन्दर्भमा हामी गहन छलफलमा छौं । कुनैपनि बेला नतिजा आउने गरी हामी छलफलको तदारुकतामा छौं । अब प्लेन नथपिकन कुनै उपाय नै छैन । १० वटा वाइडबडी र १० वटा न्यारोबडी भइदिएमात्र सञ्चालन गर्न सजिलो हुन्छ । सबैतिरबाट सिधा उडानको लागि प्रश्ताव आएका छन् । जुनसुकै देशले पनि ध्वजा वाहक नै चढ्न खोज्ने रहेछन् । नेपालीले त खोज्ने नै भयो अरुले पनि सम्बन्धित देशमा जाँदा त्यो देशको ध्वजावाहक भयो भने ढुक्क अनुमति गर्दो रहेछ ।’
उहाँले लिजमा जहाज लिएर उडाउने प्रक्रिया अन्तिम चरणमा रहेको समेत बताउनु भयो । उड्डयनको क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नेगरी सरकार हवाई नीति ल्याउने तर्खरमा रहेको समेत बताउनु भयो । विदेशी तथा स्वदेशी एयरलाइन्सहरुबीच टिकटमा देखिएको असमानता हटाउनको लागि समेत आवश्यक अध्ययन उहाँको भनाइ छ ।—