
काठमाडौं । एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको महाधिवेशनमा नयाँ नेतृत्वको लागि उम्मेदवारी दिने फारम तोकिएका व्यक्तिहरूलाई मात्रै उपलब्ध गराएको छ ।
निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले जारी गरेको निर्वाचन तालिकाअनुसार उम्मेदवारी दर्ता गर्न पुगेका राजेश राईलगायतको टिमलाई मनोनयनपत्र नदिएको हो ।
जारी सूचनामा दिउसो १ बजे पहिलो मतदाता नामाबली प्रकाशन भइ दावी विरोधपश्चात साढे २ बजे अन्तिम नामावली प्रकाशन गरिने र पौने ३ बजे अध्यक्ष मण्डलसमक्ष उम्मेदवार मनोनयन दर्ता गर्ने उल्लेख छ ।
मतदानको समय नराखी सार्वजनिक गरिएको निर्वाचन तालिकामा उम्मेदवारको अन्तिम नामावली प्रकाशनका लागि ४ः२० बजे समय तोकिएको छ भने निर्वाचन परिणाम घोषणा ४ः३० मा गर्ने भनिएको छ । तर, उम्मेदवारी दर्ताका लागि मनोनयनपत्र नदिईएको एक प्रतिनिधिले बताए । मनोनयन दर्ताका लागि फारम माग्दा अध्यक्ष मण्डलले नदिएको उनको भनाई छ ।
प्रेस चौतारीको आगामी अध्यक्षका लागि गणेश पाण्डे र राजेश राईले दाबि गरिरहेका छन् । एमालेले सर्वसम्मत नेतृत्व छनोट गर्न सन्देश पठाएको छ । अध्यक्षमा दाबी गरिरहेको राजेश राई पक्षले भने निर्वाचनको माग गरेका थिए ।