
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्युनिकरण गर्न सरकारले प्राथमिताहरु बदलेर प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले यसको न्युनिकरणका लागि आफ्ना अहिलेसम्मका प्राथमिकताहरु बदलेर नयाँ र प्रभावकारी ढंगले अघि बढ्नुपर्ने जरुरी देखिएको बताउनु भयो । उहाँले यसको निदानका लागि मित्रराष्ट्रसँग सहकार्य गर्ने साझा नीति अवलम्वन गर्न जरुरी रहेको बताउनु भयो ।
खर्च गर्ने थर शतप्रतिशत उपलब्धि हाँसिल नभइरहेको अवस्था रहेको भन्दै शतप्रतिशत उपलब्धि हाँसिल गर्नेगरी हामीले नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले क्षयरोग केन्द्रमा पनि सम्पूर्ण सेवाहरु उपलब्ध हुने अस्पताल सञ्चालन गर्न जरुरी रहेको र त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने प्रतिवद्धता जनाउनु भयो ।
मन्त्री पौडेलले भन्नुभयो, ‘अहिलेसम्मको प्राथमिकता बदलेर हामीले नयाँ ढंगबाट, प्रभावकारी ढंगबाट जाने स्थिति बनाउनु पर्छ । खुला सीमानाका कारणले पनि समस्या भएको छ । त्यसमा पनि हामीले मित्रराष्ट्रसँग सहकार्य गर्ने र निदान गर्ने साझा नीति अवलम्वन गर्नुपर्छ । खर्च भइरहेको छ । शतप्रतिशत उपलब्धि हाँसिल गर्नेगरी हामीले नीतिगत व्यवस्था गर्न आवश्यक छ । यहीँ टिभी क्षेत्रमा पनि सम्पूर्ण सेवाहरु उपलब्ध हुने अस्पताल हामीले सञ्चलनमा ल्याउनुपर्नेछ । आगामी आर्थिक वर्षमा यसलाई आवश्यक पर्ने बजेट विनियोजन गरेर यसलाई सञ्चालनमा ल्याउनेछौँ । टिभी फ्रि पालिका घोषणा गर्नेगरी हामीले १४९ लाई तोकेका छौँ । पहिलो १४९ मा पूर्ण परिणाम प्राप्त गर्न धेरै सजिलो छैन । त्यसमाथि नेपालमा ७५३ पालिका छन् । १४९ भनेको पाँच भागको एक भाग मात्रै हो । बाँकीलाई कसरी अघि लैजाने यसमा स्पष्ट नीति बन्नुपर्छ ।’
मन्त्री पौडेलले क्षयरोगको बिरामी मन्त्रालय, चिकित्सकले खोजेर नभेटिने भन्दै पालिकाले क्षयरोगको बिरामी खोज्नुपर्ने बताउनु भयो । क्षयरोग पत्ता लगाउन स्थानीय तहलाई सक्रिय बनउनुपर्ने बताउनु भयो ।