२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चाल गर्छौंः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नेगरी काम भइरहेको बताउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । विमानस्थलमा यात्रु सेवा शुल्कमा छुट, ग्राउण्ड ह्याण्डलिङ, ल्याण्डिङ, पार्किङ एण्ड नेभिगेसन शुल्कमा छुट तथा प्रोत्साहनका कार्यक्रमहरू सञ्चालनमा ल्याइएको उहाँको दाबी छ । उहाँले श्रम तथा रोजगार कार्यालय बुटवलबाट श्रम स्वीकृति प्रदान गर्न समेत शुरु भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका लागि सरकारले संवद्ध निकायहरूसँग छलफल गरी कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको छ । यात्रु सेवा शुल्कमा छुट, ग्राउण्ड ह्याण्डलिङ, ल्यान्डिङ, पार्किङ एन्ड नेभिगेसन शुल्कमा छुट जस्ता सहुलियत एवम् प्रोत्साहनका कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ । हाल अलजजिरा, फ्लाई दुवई, एअर एसिया र नेपाल एअरलाइन्सले उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका छन् । श्रम तथा रोजगार कार्यालय बुटवलबाट श्रम स्वीकृति प्रदान गर्न शुरु भएको छ । साथै, अध्यागमन, मुद्रा सटही लगायतका बैंकिङ सुविधा विमानस्थलमै प्रदान गर्ने व्यवस्था मिलाइएको र भविष्यमा उक्त विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नेगरी काम भइरहेको छ ।’

उहाँले अध्यागमन, मुद्रा सटही लगायतका बैंकिङ सुविधा विमानस्थलमै प्रदान गर्ने व्यवस्था मिलाइएको र बाँकी कामहरु सकेर विमानस्थललाई छिट्टै पूर्ण क्षमतामा सञ्चालन गर्ने बताउनु भयो ।