काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले ताप्लेजुङदेखि दार्चुलासम्म फैलिएको १७ जिल्लाको ग्रेट हिमालयन ट्रेलको पदयात्रामा निस्किएका १२ नेपाली महिलाको खर्च व्यवस्थापनमा सरकार उदासिन रहेको बताउनुभएको छ ।
बुधवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन क्षेत्रबाटै नेपाललाई चिनाउने उद्देश्य बोकेर यात्रामा गएका महिलाहरुको खर्च व्यवस्थापन सरकारले गर्नुपर्ने बताउनु भयो । उहाँले एक हजार सात सय लामो पदयात्रा विकटता तथा मौसमका कारणले चुनौतिपूर्ण रहेको भन्दै पदयात्रीको आवश्यक सुरक्षाको व्यवस्था मिलाउनु पर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नागरिक स्तरबाट नेपाली महिलाले नेपालका १७ हिमाली जिल्लामा फैलिएको ग्रेट हिमालयन ट्र्ेलको पदयात्रा गर्नु अत्यन्त सह्रानीय काम हो । ताप्लेजुङदेखि दार्चुलासम्म फैलिएको १७ सय किलोमिटर लामो यो पदमार्ग विकटता, उचाइ तथा मौसमलगायतका कारण निकै चुनौतिपूर्ण मानिन्छ यस्तो चुनौतिपूर्ण यात्रामा नागरिकस्तरबाटै खाफ्नो खर्च व्यवस्थापनमा चल्नुपर्ने पर्ने पदयात्रामा सामेल सदस्यहरुले सुनाउँदा सरकार उदासिन भएको हो कि भन्ने लागेको छ । पर्यटन क्षेत्रबाटै नेपाललाई चिनाउने उद्देश्य राखेर निस्किएका महिलाहरुलाई खर्चको व्यवस्थापनको जिम्मा नेपाल सरकारले दिनुपथ्र्यो भन्ने मेरो मान्यता छ । यो यात्रामा निस्किएका पदयात्रीको सुरक्षामा कुनै अभाव हुन नदिनका लागि सरकारले आवश्यक सुरक्षा प्रवन्धसाथै हवाई गस्तीको व्यवस्था पनि गर्नुपर्छ ।’
राष्ट्रिय सभा सदस्य गौतमले चैत ३ गते पदयात्राका लागि हिँडेका १२ महिला पदयात्रीहरुको दैनिक यात्रामा सबै प्रकारका सहयोग र स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो । उहाँले पदयात्रीहरुको सफलतापछि नेपालले ठूलो उपलब्धि हासिल गर्ने बताउनु भयो ।









