एजेन्सी । आईसीसीले भारतीय कप्तान रोहित शर्मालाई च्याम्पियन्स ट्रफी २०२५ को उत्कृष्ट टोलीमा समावेश गरेको छैन ।
न्युजिल्याण्डका मिचेल सान्टनर कप्तान बनेका छन् भने उनको टोलीका ४ खेलाडीले प्लेइङ–११ मा स्थान पाएका छन् ।
भारतबाट विराट कोहलीसहित ५ खेलाडी समावेश छन् । अक्षर पटेल १२ औं खेलाडी बने । अफगानिस्तानका दुई खेलाडीले पनि स्थान पाएका छन् ।
आयोजक पाकिस्तानसहित बाँकी ५ देशका कुनै पनि खेलाडीले टोलीमा स्थान पाउन सकेनन् ।
न्यूजिल्याण्डका बायाँ हाते ब्याटिङ अलराउन्डर रचिन रविन्द्रलाई आईसीसी च्याम्पियन्स ट्रफी ११ मा रोहितको ओपनिङ पोजिसनमा राखिएको छ ।
उनीबाहेक अलराउन्डर ग्लेन फिलिप्स, कप्तान मिचेल सान्टनर र फास्ट बलर म्याट हेनरी पनि न्यूजिल्याण्ड टिमबाट परेका छन् ।
रचिनले प्रतियोगितामा ४ खेलमा २ शतकसहित २६३ रन बनाएका छन् । उनी प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट समेत चुनिए ।
अफगानिस्तानका ओपनर इब्राहिम जाद्रान पनि उत्कृष्ट प्लेइङ–११ को हिस्सा बन्न सफल भए । उनले १ शतक प्रहार गर्दै २१६ रन बनाए । उनले इंग्ल्याण्ड विरुद्ध बनाएको १७७ रनको स्कोर प्रतियोगिताको सर्वोच्च व्यक्तिगत स्कोर थियो ।
अफगानिस्तानका अलराउन्डर अजमातुल्लाह ओमरजाई पनि टोलीमा सामेल भएका छन् । उनले ३ खेलमा ४२ को औसतमा १२६ रन बनाएका छन् भने ७ विकेट पनि लिएका छन् । उनले इंग्ल्याण्डविरुद्ध ५ विकेट लिएर टोलीलाई जित दिलाएका थिए ।
भारतका ५ खेलाडीले प्लेइङ–११ मा स्थान पाएका छन् । जसमा विराट कोहली, श्रेयस अय्यर, विकेटकिपर केएल राहुल, स्पिनर वरुण चक्रवर्ती र फास्ट बलर मोहम्मद शामी छन् । यस्तै, भारतका अक्षर पटेल १२ औं खेलाडीको रुपमा टिममा परेका छन् ।











