९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

पाल्पामा वडा कार्यालयमा मौरीपालन व्यवसायको नयाँ अभ्यास

पाल्पामा वडा कार्यालयमा मौरीपालन व्यवसायको नयाँ अभ्यास
अ अ+ अ-

रामपुर, (पाल्पा) । घरका भित्ता, बार्दली, आँगनका डिल वा बारीका छेउछाउ, बगैँचा वरपर मौरीका घार राखिएका हुन्छन् । यसरी नै गाउँघरमा मौरीपालन गरिन्छ । घरका आँगन वरपर, बार्दली, पिँढी तथा भित्तामा पनि मौरीपालन गरेर किसानले राम्रै लाभ लिएका छन् । यी त आमनागरिकलाई देखेका, भोगेका र जानेका कुरा हुन् ।

कार्यालयमा मौरीपालन व्यवसाय थालनी भने कतै भएको सुनिँदैन । पाल्पाको एक सरकारी कार्यालयले मौरीपालन अभ्यास सुरू गरेको छ । यहाँको बगनासकाली गाउँपालिकाको वडा नं १ को कार्यालय चिर्तुङ्धारामा व्यावसायिक तवरबाट मौरीपालन थालनी भएको छ । वडा कार्यालयको परिसरमा लहरै मौरीका घार राखिएका छन् । कार्यालयमा पुग्ने सेवाग्राही तथा सर्वसाधारण एवं जोकोहीलाई पनि मौरीफार्ममा पुगेको अनुभुती हुन्छ । कार्यालय परिसरमा लहरै राखिएका मौरीका घारले सेवाग्राही तथा यहाँ पुग्ने जोसुकैले मौरीपालनसम्बन्धी केही न केही नयाँ ज्ञानार्जन लिने गरेका छन् ।

कार्यालयमा मौरीपालन देखेपछि नागरिकले मौरीपालनसम्बन्धी चासो दिएर जानकारी लिने गरेको कृषि प्राविधिक खिमराज कोइराला बताउनुहुन्छ । सानो लगानीमा घरमा दुई चार घार राखेर व्यवसाय अगाडि बढाउन सकिने, धेरै मेहनत गर्न नपर्ने हुँदा किसानलाई व्यवसायउन्मुख बनाउनका लागि वडा कार्यालयबाटै मौरीपालन व्यवसाय सञ्चालन गरिएको प्राविधिक कोइरालाले जानकारी दिनुभयो ।

“किसानमात्र नभएर आमगरिकमा एउटा सकारात्मक सन्देश प्रवाह गरेको छ, वडा कार्यालयमा आउने सेवाग्राहीले मौरीपालन गर्ने तरिका, लागत, उत्पादन, बजारीकरणसम्बन्धी जानकारी लिने गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “हामीले पनि यहाँ आउनेलाई मौरीपालनसम्बन्धी जानकारी दिने गरिरहेका छौँ, कार्यालयमा काम सम्पन्न नहुँदासम्म मौरीपालनको तरिका सिक्न सेवाग्राही इच्छुक हुने गर्नुभएको छ ।”

वडा कार्यालयको काममा पालो पर्खेर बस्ने समय अहिले मौरीपालनबारे जानकारी लिन सेवाग्राही सक्रिय भएका छन् । कार्यालयमा नयाँ कुराको थालनी भएकाले पनि यस बारेमा धेरैको चासो बढेको छ । वडा कार्यालयको लगानीमा दशवटा आधुनिक घारमा मौरीपालन सुरू गरिएको वडाध्यक्ष शेरबहादुर चिदी बताउनुहुन्छ । नयाँ अभ्यास भएकाले यसबाट किसानले केही सिकेर घरमा व्यवसाय गर्न उर्जा मिलोस् भनेर सुरू गरेको वडाध्यक्ष चिदीले बताउनुभयो ।

“कार्यालयमा सेवा लिन आउने किसान तथा सेवाग्राहीलाई मध्यनजर गर्दै मौरीपालन सम्बन्धमा जनचेतना जगाउन यो नयाँ अभ्यासको थालनी गरेका छौँ”, वडाध्यक्ष चिदीले भन्नुभयो, “कृषिमा नागरिकको आकर्षण बढाउन र व्यावसायिक ढङ्गबाट व्यवसाय गर्न उत्प्रेरणा जगाउन कार्यालयले मौरीपालन सुरू गरेको हो, यस व्यवसाय थालनी भएपछि सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाएको छु ।”

सेवाग्राहीलाई वडा कार्यालयमा पनि मौरीपालन छ भन्ने अनुभूति गराउँदै घरघरमा मौरीपालनमा लाग्न प्रेरणा प्रदान गर्नका लागि कार्यालयमा व्यावसायिक ढङ्गबाट मौरीपालन गरिएको छ । कार्यालय क्षेत्रमा सेरेना मौरीपालन कार्यक्रमअन्तर्गत मौरीपालनलाई जोड दिदै नयाँ कार्यको अभ्यास भएको छ । वडामा उत्कृष्ट किसानलाई मौरीपालनका लागि वडा कार्यालयबाट गोलासहितको घार वितरण गर्ने वडाको योजना छ ।

अहिले कार्यालयमा मौरीपालनको परीक्षणकाल भएकाले व्यवसाय राम्रो हुँदै गएमा थप गर्दै जाने वडाले जनाएको छ । यो कार्य सम्भवत: नेपालमै नयाँ कार्यको सुरूवात हो । वडा कार्यालयले आर्थिक वर्ष २०८१र०८२ को रू ९० हजार बजेटबाट काम सुरू गरेको छ । व्यवसाय गर्न चाहने हो भने सानो रकमले पनि सञ्चालन गर्न सकिन्छ भन्ने यस वडाले उदाहरण प्रस्तुत गरेको छ ।

सिद्धार्थ राजमार्गसँग जोडिएकाले पनि मौरीको अध्ययन अवलोकन भ्रमणका लागि देशका पूर्वदेखि पश्चिमसम्मका किसान बगनासकाली आउने गरेको कृषि शाखा प्रमुख किशोरकुमार खत्रीले बताउनुभयो । “मौरीपालनबाट यहाँका किसानले राम्रो आयआर्जन गर्न सफल बनेका छन्, हामीले मौरीपालनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ, सडकमार्ग जोडिएकाले पनि यो क्षेत्र बजारीकरणका लागि सहज छ”, उहाँले भन्नुभयो ।

पाल्पा जिल्लामै बगनासकाली गाउँपालिका मौरीपालनको सम्भावना बोकेको क्षेत्र हो । यहाँबाट अन्य जिल्लामा गोलासहितको मौरीघार पठाइन्छ । गाउँपालिकामा एक दर्जनभन्दा बढी किसान व्यावसायिक मौरीपालनमा आबद्ध छन् । यहाँका किसानले मह उत्पादनभन्दा गोला बिक्रीमा जोड दिएका छन् । गोलासहित रू आठ हजार पाँच सयमा मौरीघार बिक्री भइरहेको छ । एक दुई घारदेखि धेरैमा एक हजार तीन सय घारसम्म मौरीपालन गर्ने गरेको पाइन्छ ।

किसानले स–सानो लगानीमा थोरै–थोरै मौरीपालन गरेर मह उत्पादन तथा गोलासहित घार बिक्रीबाट आयस्रोत लिने गरेका छन् । मध्यपहाडी क्षेत्रमा सेरेना जातको मौरीपालनको सम्भाव्यता भएको हुँदा पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाभित्र व्यावसायिक रूपमा मौरीपालन भइरहेको छ । व्यावसायिक किसानले महमा भन्दा पनि गोला बिक्रीमा जोड दिएका छन् । तोरी, तोरीका फूल, जङ्गली बोट बिरूवाबाट पुष्प सङ्कलन गरेर मौरीले आहार व्यवस्थापन गरिरहेको छ । रासस