काठमाडौं । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि रोचक खालको गठबन्धन बनेको छ । व्यवसायिक संगठन भने पनि बारमा राजनीतिक प्रतिस्पर्धा नै हुने भएको हो ।
कांग्रेस र एमाले निकट कानुन व्यवसायीले गठबन्धन गरेका छन् भने यो गठबन्धनलाई चुनौती दिन नेकपा माओवादी केन्द्र निकट कानुन व्यवसायीले रास्वपादेखि राप्रपासम्मलाई साथ लिएर उम्मेदवारी दिएको छ ।
आगामी चैत २३ गते हुने निर्वाचनमा अध्यक्षका लागि अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ । वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, अधिवक्ता राजु कैती, वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्र, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आशिष पौडेलको उम्मेदवारी दर्ता भएको हो ।
महासचिवमा यज्ञमणि न्यौपाने, केदारप्रसाद कोइराला र हरिशरण कार्कीको उम्मेदवारी परेको छ ।
सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेनिकट कानुन व्यवसायीका संगठन क्रमश: डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) र प्रगतिशील पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) ले संयुक्त प्यानल बनाएका छन् । यस गठबन्धनबाट अध्यक्षमा डीएलएका विजयप्रसाद मिश्र अध्यक्ष र महासचिवमा पीपीएलएका केदारप्रसाद कोइराला छन् ।
सत्ता गठबन्धनलाई टक्कर दिन विपक्षी दलहरू माओवादी, रास्वपालगायत पार्टीनिकट संगठनले अर्को प्यानल बनाएका छन् । यो प्यानलमा अध्यक्षमा माओवादीनिकट क्रान्तिकारी कानुन व्यवसायी मञ्च (आरपीएलए) का रमनकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । महासचिवमा उम्मेदवारी दिएका यज्ञमणि न्यौपाने रास्वपानिकट हुन् ।
रोचक त के छ भने यस पटक नेपाल बारमा उम्मेदवारी दर्ता गर्दा माओवादी निकट रमण श्रेष्ठको प्रस्तावकमा वरिष्ठ अधिवक्ता शम्भु थापा र समर्थकमा वरिष्ठ अधिवक्ता सुशील पन्त छन् । अहिलेसम्म कुनै पनि विषयमा फरक–फरक धारणा राख्दै आएका थापा र पन्त यस पटक एउटै कित्तामा खुलेका हुन् । त्यो पनि माओवादी निकट कानुन व्यवसायी श्रेष्ठको पक्षमा । यसलाई कानुन व्यवसायीले अनौठो संयोग भनेका छन् ।
श्रेष्ठको प्यानलबाट महासचिवमा राष्ट्रिय स्वतन्त्र पार्टीनिकट यज्ञमणि न्यौपानेले उम्मेदवारी दिएका छन्ु । एकीकृत समाजवादीले उपाध्यक्ष पद लिएको छ ।
त्यस्तै सत्ता गठबन्धन नेपाली कांग्रेस–नेकपा एमाले निकटका कानुन व्यवसायीको संयुक्त प्यानलबाट डीएलएका विजयप्रसाद मिश्र र महासचिवमा एमालेनिकट पीपीएलएका केदार कोइराला उम्मेदवार बनाएका छन् । मिश्र बारका पूर्वमहासचिवसमेत हुन् ।
अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको पक्षमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा र सुशील पन्त खुलेर लागेपछि यस पटक बारको चुनाव रोचक हुने छ । सतहमा हेर्दा कांग्रेस र एमाले निकट कानुन व्यवसायीको अत्यधिक बहुमत देखिने भएपछि भित्रि रुपमा फरक खेल देखिएको छ । थापा र पन्तले श्रेष्ठलाई अघि सारेपछि कांग्रेस–एमाले निकट कानुन व्यवसायी झस्किएका छन् । किनकी यी तीन जना वरिष्ठ अधिवक्ताले हेर्ने मुद्दा सर्वोच्च अदालतमा सबैभन्दा धेरै छन् । उनीहरुले व्यक्तिगतरुपमा समेत मिश्रका मतदातालाई तान्न सक्ने हिम्मत राख्छन् ।
नेपाल बारमा ११ हजार ७ सय ७२ जना मतदाता छन् ।
नेपालमा अधिवक्ताको लाइसेन्स लिएका २१ हजार पाँच सयभन्दा बढी अधिवक्ता भए पनि अद्यावधिक गरेका र पेशामा आबद्ध कानुन व्यवसायीहरु मात्र मतदाताका रुपमा समेटिएका हुन् ।
देशभरका ३६ वटा मतदान केन्द्रमा चुनाव हुनेछ । सबैभन्दा बढी मतदाता काठमाडौँ जिल्ला बारमा २ हजार ६ सय ७९ जना छन् । त्यसपछि उच्च अदालत पाटन बारमा २ हजार पाँच सय ८ जना मतदता छन् ।










