कराची: आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को समूह ‘बी’ अन्तर्गत तेस्रो खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनले पराजित गरेको छ ।
कराचीस्थित नेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले अफगानिस्तानसामु ३१६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो।
दक्षिण अफ्रिकाका ब्याट्सम्यान रायन रिक्ल्टनले १०६ बलमा १०३ रनको शानदार इनिङ्स खेलेर ‘म्यान अफ द म्याच’ घोषित भए । यस्तै, कप्तान टेम्बा बाभुमा ५८, रस्सी भान डर डुसन ५२ तथा एडेन मार्करमले पनि ५२ रनको योगदान दिए ।
तर, ३१६ रनको ठूलो लक्ष्य पछ्याएको अफगानिस्तानको टिम ४३.३ ओभरमा २०८ रनमै समेटियो । ढिलो पिचमा अफगानी ब्याट्सम्यान रहमत शाहले ९० रनको उत्कृष्ट इनिङ्स खेले पनि अन्य ब्याट्सम्यानले ठूलो साझेदारी गर्न सकेनन् । दक्षिण अफ्रिकी तीव्र गतिका बलर र स्पिनरहरूले अफगानी ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । अफ्रिकी फिल्डिङ पनि निकै उत्कृष्ट थियो ।
दक्षिण अफ्रिकाका कागिसो रबाडाले ३ विकेट लिए भने लुंगी एन्गिडी र वियान मुल्डरले समान २/२ विकेट लिए । मार्को यान्सेन र केशव महाराजले पनि १/१ विकेट लिए ।
शनिबार लाहोरमा इंग्ल्याण्ड र अस्ट्रेलिया आफ्नो पहिलो खेल खेल्नेछन् । दिवारात्रि खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ । #क्रिकेट #च्याम्पियन्सट्रफी










