काठमाडौँ । गृह मन्त्रालयको वार्ता समूहले ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको ‘नो केबलकार समूह’ लाई वार्तामा आउन अनुरोध गरेको छ ।
गृह मन्त्रालयका सहसचिव एवं वार्ता समितिका संयोजक प्रेमप्रसाद भट्टराईले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त समूहलाई वार्तामा आउन अनुरोध गरेका हुन् ।
‘मुक्कुमलुङ पाथीभरा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट शान्तिपूर्ण समाधानका लागि आन्दोलनरत पक्षलाई वार्तामा आउन अनुरोध गर्दछौं,’ भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सरकारले माग पूरा सम्बोधन नगरेको भन्दै माघ २९ गतेबाट मुक्कुमलुङ (पाथीभरा)संरक्षण संयुक्त सङ्घर्ष समितिले आन्दोलन सुरु गरेको थियो ।
त्यसको भोलिपल्ट बुधवार गृहमन्त्री रमेश लेखकले वार्ता टोलीका संयोजक तथा सदस्यहरूलाई छलफलमा बोलाएका थिए ।
त्यसलगत्तै समितिले संवादका माध्यमद्वारा समस्याको समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
गत माघ २२ गते सङ्घर्ष समिति र वार्ता टोलीबीच ६ बुँदे सहमति भएको थियो । सहमतिपछि आन्दोलन रोकिएकोमा पुनः समितिले आन्दोलनको घोषणा गरेको थियो ।
फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन पनि केबलकार परियोजनामा सकारात्मक देखिएका छन् ।










