२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरआवासीय नेपालीलाई वंशजको नागरिकता दिनुपर्छः सांसद सापकोटा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले गैरआवासीय नेपाली (एनआरएन)लाई वंशजको आधारमा नागरिकता दिनुपर्ने बताउनुभएको छ ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एनआरएन पनि नेपाली नै भएकाले वंशजको नागरिकता दिनुपर्ने माग गर्नुभयो । उहाँले एनआरएन विदेशमा काम गर्न गएका र नेपालमा आउँदा भिसा लाग्ने प्रणाली हटाउनुपर्ने बताउनु भयो । उहाँले सरकारले अध्यादेशमार्फत ल्याएको आमाको नामबाट नागरिकता पाउने कुरा स्वागतयोग्य रहेको बताउनु भयो । उहाँले आर्थिक स्थिति वृद्धि गर्नका लागि धेरै कानूनहरु निर्माण गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आमाको नामबाट नागरिकता बन्ने जुन अध्यादेश आएको छ । यो एकदमै राम्रो छ । एनआरएनका साथीहरुलाई पनि वंशजको नागरिकता दिनुपर्छ । किनभने उनीहरु नेपाली हुन् । विदेशमा काम गर्नको निम्ति गएका हुन् । उनीहरुलाई वंशजको नामबाट नागरिकता दिनुपर्छ र नेपालमा आउँदाखेरी आफ्नो देशमा भिसा लाग्ने सिस्टम हटाउन आग्रह गर्दछु । आर्थिक स्थिति वृद्धि गर्नका लागि हामीले धेरै कानूनहरु निर्माण गर्नुछ । ४० वटा जति विधेयक, त्यत्तिकै अल्झिएर रहेका छन् । विधेयक पास गर्नु मात्रै ठूलो कुरा होइन, कार्यान्वयन गर्नुपर्छ ।’

उहाँले दुई दलले मात्रै संविधान संशोधन हुन नसकेपनि सबै राजनीतिक दलहरुसँग छलफल गरेर संविधान संशोधन गर्नुपर्ने बताउनु भयो । संविधान संशोधनमार्फत नागरिकलाई सहज सेवा दिनु सबै राजनीतिक दलहरुको भुमिका महत्वपूर्ण हुने बताउनु भयो ।