१२ भाद्र २०८३, शुक्रबार
,
Latest
गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको विभिन्न स्थानमा पछिल्ला केही दिनदेखि देखिएको तनावपूर्ण घटनाक्रमले चिन्तित तुल्याएको उल्लेख गर्दै शान्ति, सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल गर्नुभएको छ ।

नेता आङ्देम्बेले आज एक विज्ञप्तिमार्फत सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्जदेखि फैलिएको तनाव सिरहाको गोलबजार, धनुषाको जनकपुर हुँदै पर्साको वीरगञ्जसम्मै फैलिएको र यसबीचमा तीन  नागरिकले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

“नेपाल विविध धर्म, भाषा, संस्कृति र समुदायको साझा फूलबारी हो । यही विविधताबीचको एकता हाम्रो सबैभन्दा ठूलो शक्ति हो”, उहाँले भन्नुभएको छ, “हामीले सदियौँदेखि एकअर्काको धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै आएका छौँ । आपसी भाइचारा, बन्धुत्व र सामाजिक सद्भाव कायम राखेका छौँ । यसलाई कुनै पनि हालतमा कमजोर हुन दिनु हुँदैन ।”

नेता आङ्देम्बेले धर्म र पूजा गर्ने तौरतरिका, संस्कृति र परम्परा फरक भए पनि मानवता सबैभन्दा ठूलो धर्म भएको बताउँदै हरेक धर्मले प्रेम, करुणा, सहिष्णुता, क्षमा र शान्तिको सन्देश दिने उल्लेख गर्नुभएको छ । कुनै पनि धर्मले घृणा, हिंसा वा वैमनस्य नसिकाउने भएकाले धर्मका नाममा, जातको नाममा एकअर्काप्रति अविश्वास र द्वेष फैलाउने कामबाट सबै सचेत हुन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

नेता आङ्देम्बेले सबै राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम र युवापुस्तालाई अहिले आरोपप्रत्यारोप नभई समाजलाई जोड्ने काममा लाग्न र एकअर्कालाई दोषी देखाउने नभई विश्वासको वातावरण बनाउन आग्रह गर्नुभएको छ । उहाँले सरकारले पनि नागरिकको जीवन र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै बल प्रयोगभन्दा संवाद, विश्वास र कानुनी प्रक्रियामार्फत परिस्थितिलाई सामान्य बनाउन तत्काल प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेता आङ्देम्बेले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्नुपर्ने बताउनुभएको छ । रासस