५ पुष २०८२, शनिबार
,
Latest
उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राष्ट्रिय एकतालाई मजबुद बनाउन राष्ट्रिय सेवा दल तालिम सहयोगसिद्ध’



अ+ अ-

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई जगेर्ना गरी राष्ट्रिय एकतालाई थप मजबुत र बलियो बनाउन राष्ट्रिय सेवा दल तालिम सहयोगसिद्ध हुने बताउनुभएको छ ।

महोत्तरीको बर्दिबासस्थित मध्यपूर्वी तालिम शिक्षालयमा सञ्चालित सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै उहाँले भविष्यमा आउन सक्ने विपद्लगायत चुनौतीको सहज रूपले सामना गर्न आ–आफ्ना तर्फबाट भूमिका खेल्न आग्रह गर्नुभयो ।

तालिममार्फत युवालाई अनुशासित, नेतृत्ववान्, बफादार र राष्ट्रप्रति समर्पित देशभक्त नागरिक उत्पादन गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै मन्त्री राईले तालिमका क्रममा हासिल सैद्धान्तिक तथा व्यावहारिक ज्ञानबाट आर्जित नेतृत्व तथा व्यक्तित्व विकासले सामाजिक उत्तरदायित्व वहन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच प्रधान सेनापति अशोकराज सिग्देलले नवलपरासीको हात्तिखोरस्थित मध्य तालिम शिक्षालयमा सञ्चालित तालिमको दीक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै फरक भौगोलिक तथा सामाजिक पृष्ठभूमिका युवामा राष्ट्रियता, राष्ट्र प्रेम र राष्ट्रिय एकताको भावना जागृत गराउन तालिम फलदायी रहँदै आएको उल्लेख गर्नुभयो ।

उहाँले तालिमका क्रममा प्राप्त ज्ञान तथा सीपलाई समाजमा स्थापित गराई समाजप्रति उत्तरदायी र उदाहरणीय युवाको पहिचान दिलाइ राख्ने हेतुले स्थापित एनसिसी अल्मुनाइ एसोसियसन नेपाललाई थप व्यवस्थित बनाउन कोसिस गरिने बताउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

दीक्षान्त कवाज समारोहमा राष्ट्रिय सेवा दलका पूर्वकार्यकारी महानिर्देशक, रथीवृन्द तथा अधिकृत, स्थानीय निकायका प्रमुख/प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख/प्रतिनिधि, प्रधानाध्यापक तथा अभिभावकलगायतको उपस्थिति रहेको थियो ।

दुई वटा तालिम शिक्षालयमा आयोजित दीक्षान्त कवाज समारोहबाट आज कूल एक हजार ८० जना क्याडेट छात्रछात्रा दीक्षित भएका नेपाली सेनाले जनाएको छ । यससँगै यसवर्ष सात हजार सात सय चार जना क्याडेट छात्रछात्राले राष्ट्रिय सेवा दलको सिनियर डिभिजन तथा जुनियर डिभिजन तालिम सफलतापूर्वक सम्पन्न गरेका छन् ।

विसं २०२२ सालमा स्थापित राष्ट्रिय सेवा दलबाट हालसम्म सिनियर डिभिजन तथा जुनियर डिभिजन गरी बयासी हजार एक सय चौरासी जनाले तालिम सम्पन्न गरेका छन् ।