६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना कहर बिच पनि परीक्षामा जुट्न थाले विश्वविद्यालय



अ+ अ-

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय नियमित र कतिपय यसअघि स्थगित भएका परीक्षा सञ्चालनमा आउन थालेका हुन् । त्यस क्रममा स्नातक तथा स्नातकोत्तर तहको परीक्षालाई विश्वविद्यालयहरूले नियमित रूपमा सञ्चालन गर्न थालेका हुन् । विश्वविद्यालयहरूको यो तयारीसँगै विद्यार्थीले अब स्थगित परीक्षा दिने बाटो खुलेको छ ।

घरैबाट परीक्षा
यस क्रममा पूर्वाञ्चल विश्वविद्यालयले असोज दोस्रो साताबाट नियमिततर्फको स्नातक तथा स्नातकोत्तर तर्फको परीक्षा सञ्चालन गर्ने भएको छ । परीक्षा यस पटक अनलाइनबाट लिने गरी तय भएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले जानकारी दिए । विश्वविद्यालयले यसलाई वैकल्पिक विधि अर्थात् निश्चित समयमा घरबाट दिने परीक्षाबाट लिने भएको हो । यो

परीक्षा नियमिततर्फ सेमेस्टरमा
अध्ययनरत विद्यार्थीका लागि मात्रै रहेको जनाइएको छ । विश्वविद्यालय तथा कलेजका कक्षाकोठामा पठनपाठन खोल्ने अनुमति हाल नभएकाले वैकल्पिक विधिबाट परीक्षा लिने निर्णय गरिएको जानकारी विश्वविद्यालयका अधिकारीहरूले दिएका छन् । विश्वविद्यालयले अनलाइनबाट परीक्षा लिँदा यसअघि कक्षा कोठामा दिएजतिकै समय विद्यार्थीलाई दिने जनाएको छ ।

नेसंविमा असोज १५ बाट
प्रविधिमा विद्यार्थीको पहुँच नभएपछि नेपाल संस्कृत विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिने निर्णय गरेको छ । विश्वविद्यालयले पहिलो चरणमा असोज १५ बाट आयुर्वेद स्नातक (बीएएमएस) तहको नियमित तथा पूरक तहका विद्यार्थीको परीक्षा लिने निधो गरेको छ । बीएएमएसतर्फ प्रथम, द्वितीय र तृतीय वर्षका विद्यार्थीको परीक्षा लिइने भएको हो । विश्वविद्यालयका कुलसचिव सहप्राध्यापक माधव अधिकारीले क्याम्पस तथा विद्यार्थीसित सम्पर्क गर्दा भौतिक उपस्थितिमै सामाजिक दूरी कायम गरेर परीक्षा लिन सुझाव आएकाले त्यसअनुसार अगाडि बढ्न लागिएको जानकारी दिनुभयो । यसका साथै विश्वविद्यालयले अन्य तहका परीक्षाको तयारीसमेत अघि बढाएको जनाइएको छ । यस क्रममा मङ्सिरमा शास्त्री प्रथम, द्वितीय, तृतीयका विद्यार्थीको परीक्षा लिने निधो गरेको छ । काठमाडौँको वाल्मीकिमा सबैभन्दा धेरै विद्यार्थी रहेका र उपत्यकामा सङ्क्रमण बढेको अवस्थामा उक्त परीक्षा मङ्सिरमा लिने योजनामा विश्वविद्यालय पुगेको छ । शास्त्रीतर्फको विद्यार्थीको यो स्थगित परीक्षा हो ।

मध्यपश्चिमको परीक्षा १७ गतेबाट
मध्यपश्चिम विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा असोज १७ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । पहिलो चरणको यो परीक्षा कात्तिक ६ भित्र पूरा गर्ने विश्वविद्यालयको कार्यतालिका छ । दोस्रो चरणमा मङ्सिरको पहिलो साताबाट परीक्षा सञ्चालन गर्ने तयारी रहेको उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिए । कुनै पनि तहमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र नबिग्रने गरी परीक्षा लिइने जनाइएको छ । एमफिल र विद्यावारिधि तर्फको पठनपाठनमा कुनै समस्या नरहेको जनाइएको छ । विश्वविद्यालयले बन्दाबन्दीको अवधिमा समेत कुनै पनि विद्यार्थीको परीक्षाफल प्रकाशन नरोकिएको जनाएको छ । बन्दाबन्दीकै अवधिमा विश्वविद्यालयले ४९ वटा परीक्षाफल प्रकाशित गरिएको जानकारी उपकुलपति सिंहले दिए ।

त्रिवि कार्यतालिका बनाउँदै
उच्च शिक्षामा सबैभन्दा धेरै विद्यार्थी भार वहन गरेको त्रिभुवन विश्वविद्यालयले भने परीक्षाका लागि तयारी गर्दै गरेको र यस विषयमा पदाधिकारी तहमा छलफल सुरु गरिएको जनाइएको छ । परिस्थिति हेरेर एक साताभित्र परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने जानकारी विश्वविद्यालयका पदाधिकारीले दिएका छन् । विश्वविद्यालयमा स्नातक तथा स्नातकोत्तर तहको स्थगित परीक्षा सञ्चालन हुन सकेको छैन । यसै साता स्थगित परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने विश्वविद्यालयको तयारी छ ।

लुम्बिनीमा परीक्षा जारी
लुम्बिनी बौद्ध विश्वविद्यालयले भौतिक तथा अनलाइनबाट स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ । भौतिक तथा अनलाइन माध्यमबाट विश्वविद्यालयले विद्यार्थीको परीक्षा सञ्चालनमा ल्याएको हो । विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न वज्राचार्यले चालू परीक्षा सकिएलगत्तै स्नातकोत्तर तहका विभिन्न विषयका परीक्षा सञ्चालनको तयारीमा आफूहरू रहेको जानकारी दिए । विदेशमै भएका विद्यार्थीलाई पनि अनलाइन माध्यमबाट परीक्षा लिने योजना बनाइएको छ । गोरखापत्र दैनिक