२५ कार्तिक २०८२, मंगलवार
,
Latest
बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार मधेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिटमा बुधबार पेसी प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै मधेशका मुख्यमन्त्री यादवको स्वीकारोक्तिः ‘शपथ ग्रहणका लागि प्रदेश प्रमुखलाई दबाब दिएको हुँ’ च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख आम्दानी भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण रैथाने बाली संरक्षणमा प्रदेश सरकार उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएको सुझावहरू कार्यान्वयन गर्न थालिसकेको छुः अर्थमन्त्री खनाल सन्नी देओलको आग्रह– “धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्” ‘सिडिओ’ पैदलै गाउँमा आएपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीकापुरमा चिसो बढेपछि दाउरा वितरण



अ+ अ-

टीकापुर । कैलालीको टीकापुर क्षेत्रमा चिसो बढेपछि चोकचोकमा दाउरा वितरण थालिएको छ । विभिन्न सङ्घसंस्था र सामुदायिक वन मिलेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाउन थालिएको हो ।

तराई क्षेत्रमा विगत पाँच दिनयता चिसो बढेको छ । हुस्सु, कुहिरो तथा शीतलहरले जनजीवन कष्टकर भएपछि नेपाल कम्युनिष्ट पार्टी ९एमाले० नगर कमिटीले भुराखानी सामुदायिक वनसँग रूखका जरा मागेर बजार क्षेत्रका चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाएको छ । एमालेका नगर अध्यक्ष लक्ष्मण थापाले पार्टीले ट्याक्टर र जेसिबीको सहयोगमा सामुदायिक वनसँग दाउरा मागेर बजारका केही चोकमा आगो ताप्ने व्यवस्था मिलाएको बताउनुभयो ।

भुराखानी सामुदायिक वन कार्यालयका सचिव बलबहादुर विकले सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाउँछौँ भनी माग भएपछि दाउरा उपलब्ध गराइएको बताउनुभयो । “रूखका जरा निकालेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।”

टीकापुर नगरपालिका–४ ले पनि आफ्नो वडामा रहेका चोकहरुमा आगो ताप्ने व्यवस्था मिलाएको छ । ढलेका रुख र रूखका जरा खनेर चोकचोकमा दाउरा वितरण गर्न थालिएकोे वडाध्यक्ष लालवीर चौधरीले बताउनुभयो । ‘‘माघी पर्वको पूर्वसन्ध्यामा गाउँगाउँमा मुढा बाल्ने चलन छ”, उहाँले भन्नुभयो, “चिसो बढेकाले नागरिकलाई राहत होस् भनी दाउरा वितरण गर्न थालेका हौँ ।”

यस्तै टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनले समेत ज्येष्ठ नागरिक उपभोक्तालाई दाउरा वितरण गर्ने तयारी गरेको छ । अध्यक्ष जीतराम चौधरीका अनुसार विगतका वर्ष झैँ यस वर्ष पनि सामुदायिक वनमा रहेका रूखका जरा निकालेर दाउरा वितरण गरिनेछ । “गत वर्ष ७० चोकमा दाउरा वितरण गरेका थियौँ”, उहाँले भन्नुभयो, “यस वर्ष पनि तिनै ठाउँमा दाउरा दिइनेछ । चिसो बढेकाले वनसँगै जोडिएका गैरउपभोक्तालाई पनि दाउरा उपलब्ध गराउने गरेका छौँ ।” चोकचोकमा आगो बालेमा बाटोमा हिँड्ने नागरिकलाई समेत सुविधा हुने स्थानीय बताउँछन् । रासस