९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्तोषलाई पुर्ख्यौली पेसा नै प्यारो



अ+ अ-

गलकोट । मध्यपहाडी पुष्पलाल लोकमार्गको घुम्तीमा सन्तोष विश्वकर्माको सानो आरन व्यवसाय छ । बागलुङ नगरपालिका—४ उपल्लाचौरमा आरन व्यवसाय गर्दै आउनुभएका ४१ वर्षीय सन्तोष पूर्खाको आरन व्यवसाय धान्न पाएकामा प्रसन्न हुनुहुन्छ ।

१६ वर्षको कलिलो उमेरमा रोजगारीका लागि भारत जानुभएका सन्तोष त्यहाँबाट फर्केर पुर्खाको पेसामा लागेको र यसमै सन्तुष्ट रहेको बताउनुहुन्छ । “भारतमा लामो समय काम गर्दासमेत भनेजस्तो कमाउन सकिएन । हाल नेपालमै काम गरिरहेको छु । आफ्ना पुर्खाको आरन पेसा अगाल्दा पैसाभन्दा बढी सन्तुष्टि मिलिरहेको छ”, उहाँ भन्नुहुन्छ ।

बागलुङ नगरपालिका–९ तित्याङ घर भएका विश्वकर्माले आरन चलाएर राम्रो आम्दानी गर्दै आएको बताउनुभयो । उहाँले भारतमा १० वर्ष सिल्टेको भाडा बनाउन सिकेको कामले स्वदेशमा कमाइ गरेको बताउनुभयो । “भारतमा १० वर्ष सिल्टेको भाडा बनाउने कम्पनीमा काम गरेँ । १६ घण्टा काम गर्नुपर्दा निकै दुःख थियो । कमाइ खासै थिएन तर काम भने सिकियो, भारतमै केही वर्ष सिल्टेबाट बनेका भाडा बिक्रीको काम पनि गरँे, व्यवसायमा घाटा भएपछि नेपाल फर्के”,उहाँले भन्नुभयो,“पुर्खाको पेसा र भारतको सिकाइले मलाई आत्मबल मिल्यो । बालीघरे प्रथाले पहिला गाउँमा खासै आम्दानी थिएन, बागलुङ बजार झरेपछि भने श्रमको मूल्य पाएको छु ।”

आफ्नै देशमा काम गर्न पाएकोमा सन्तोष खुसी हुनुहुन्छ । साथीभाई अहिले रोजगारीका लागि विभिन्न देश पुगे पनि भारतबाट फर्केपछि आफूलाई भने विदेश जान मन नलागेको उहाँको भनाइ छ । “आरन व्यवसायबाट एकदमै खुसी छु, यहाँ सबैसँग खुलेर कुराकानी गर्न पाइन्छ, अन्यत्र भाषाको समस्या हुन्छ, आफू ठूलो देशमा नगए पनि आफूले उत्पादन गरेका फलाम, तामा र सिल्टेका भाडा जापान, अमेरिका लगायतका देशमा पुगेका छन्”, विश्वकर्माले भन्नुभयो, “अहिले सजावटका लागि तामाको भाडाको निकै माग छ, तामाको भाडामा पानी खाने प्रचलन फेरि फर्केको छ, उपहार र आफन्तका लागि विदेशमा समेत सामग्री खरिद गरेर पठाउने प्रचलनले व्यापार फष्ठाएको छ ।”

सन्तोषले उत्पादन गरेका हसिया, बाउसो, खुकुरीलगायत सामग्रीका लागि बजारको अभाव नभएको बताउनुभयो । फलाम, तामा र सिल्टेका विभिन्न सामग्री उत्पादन गर्न सके बजारको समस्या नरहेको उहाँको अनुभव छ । आफूले उत्पादन गरेका अधिकांश भाडा तथा हात हतियार आरनबाटै बिक्री हुने गरेको र डाडु, पन्यु, दाब, खुकुरी, बन्चरो, हँसिया बढी मात्रमा बिक्री हुने गरेको विश्वकर्माले जानकारी दिनुभयो ।

आफ्नो उत्पादनबारे स्थानीय सरकारलाई भने खासै चासो नभएको विश्वकर्माको गुनासो छ । उहाँले परम्परागत पेसालाई संरक्षण गर्न र यसतर्फ युवाहरूलाई आकर्षित गर्न सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय काम गर्ने मान्छे नपाइदा समस्या भएको र पुस्तान्तरणको अभावमा पेसा लोप हुने अवस्थामा पुगेकामा विश्वकर्माले चिन्ता व्यक्त गर्नुभयो । “अहिले काम गर्ने मान्छे पाइँदैनन्, पछिल्लो पुस्तालाई विदेशकै मोह छ, विदेश नै जाने, धन कमाउने भन्छन् । पुख्र्यौली पेसा संरक्षणमा स्थानीय सरकारले ध्यान दिने, पेसालाई आधुनिकरण गर्ने र प्रोत्साहन गर्ने हो भने यतै राम्रो गर्न सकिन्छ”, उहाँले भन्नुभयो । रसस