३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड

शिव र शक्तिको दिव्य प्रतीकात्मकता

शिव र शक्तिको दिव्य प्रतीकात्मकता
अ+ अ-

शिव र शक्तिको दिव्य प्रतीकात्मकताले पौरस्त्य जगतमा पौराणिक ग्रन्थ तथा कथाहरूमार्फत दर्शनलाई सम्प्रेषण गर्दै आएको छ। शिवलाई प्रायः पुरुष अर्थात् शुद्ध जागरुकता वा चेतनाका रूपमा वर्णन गरिएको छ भने शक्तिलाई प्रकृति अर्थात् गतिशील ऊर्जाका रूपमा लिइन्छ। यो एक गहन दर्शन हो, जसको पछाडि सृष्टि–प्रक्रिया र ब्रह्माण्डको सृजनमा शक्तिसँगको सहकार्यमा सर्वोच्च ऊर्जाका रूपमा शिवको प्रतीक रहेको छ। त्यसैले शिव र शक्तिले ब्रह्माण्डको सम्पूर्ण सृष्टिलाई प्रतिनिधित्व गर्छन्।

शिव र शक्तिको मिलनका अनगिन्ती कथाहरू रहेका छन्। यो केवल प्रेमको विषय होइन, ब्रह्माण्डीय आवश्यकताको विषय हो। चाहे पार्वतीले शिवसँग एकताबद्ध हुन तपस्या गरून् वा शिवलाई स्थिरताबाट जगाउन शक्तिले प्रकटीकरण गरून्, सन्देश एउटै रहन्छ—सृष्टि तब सुरु हुन्छ, जब चेतना र ऊर्जा मिल्छन्।

पार्वतीको तपस्याले चेतनासँग मिल्दोजुल्दो अनुशासित ऊर्जाको प्रतिनिधित्व गर्छ। शिवको स्वीकृतिले आफ्नो अभिव्यक्ति शक्तिलाई पहिचान गर्ने जागरुकतालाई प्रतिनिधित्व गर्छ। यसरी हेर्दा पौराणिक कथा बाह्य विश्वासको सट्टा भित्री रूपान्तरणको मार्गदर्शन गर्ने आध्यात्मिक मनोविज्ञान बन्छ।

आधुनिक मनोवैज्ञानिक दृष्टिकोणबाट शिव–शक्तिलाई जागरुकता र प्रेरणाबीचको सन्तुलनका रूपमा बुझ्न सकिन्छ। प्रेरणाबिनाको जागरुकताले निष्क्रियता निम्त्याउँछ भने जागरुकताबिनाको प्रेरणाले आवेगपूर्ण व्यवहार निम्त्याउँछ। स्वस्थ मानसिक कार्यका लागि दुवै आवश्यक हुन्छन्। चेतना अर्थात् शिवले रोक्न, अवलोकन गर्न र बुझ्न मद्दत गर्छ। कार्य अर्थात् शक्तिले व्यक्तिलाई संलग्न हुन, प्रतिक्रिया दिन र परिस्थितिलाई रूपान्तरण गर्न अनुमति दिन्छ। यसकारण यो मनोवैज्ञानिक तथा अस्तित्वगत सन्तुलनको एउटा मोडल पनि हो।

वैदिक दर्शनले यसलाई केवल लैङ्गिक सन्तुलनको प्रतीकका रूपमा मात्र होइन, अस्तित्वको पूर्णताको प्रतीकका रूपमा समेत प्रस्तुत गरेको छ। आध्यात्मिक दृष्टिबाट दिव्य जोडी शिव–शक्ति एउटै सत्यका दुई आवश्यक पक्षसँग मेल खान्छन्।

पुरुष सिद्धान्त मौन पर्यवेक्षक, कार्यबिनाको शुद्ध जागरुकता तथा सबै अनुभवका पछाडिको अपरिवर्तनीय वास्तविकता हो। यसले ईश्वरको स्थायी पक्षलाई प्रतिनिधित्व गर्छ। स्त्री सिद्धान्त भने त्यो ऊर्जा हो, जसले चलाउँछ, सिर्जना गर्छ, टिकाउँछ र रूपान्तरण गर्छ। यसले सृजनात्मक सिद्धान्तको गतिशील पक्षलाई प्रतिनिधित्व गर्छ।

“अण्डमण्डे स भगवानुषित्वा परिवत्सरम्।
मनसैवात्मनो ध्यानात् तण्डमकरोद् द्विधा।।’’

— मनुस्मृति (१।१२)

अर्थात्, “भगवान् त्यस अण्डाभित्र एक वर्ष बसेर ध्यानद्वारा त्यसलाई दुई भागमा विभाजन गर्नुभयो।”

यहाँ भनाइको तात्पर्य शिव र शक्ति दुई प्रतिस्पर्धी तत्त्व होइनन्। एउटै परम सत्यका दुई रूप हुन्, जसलाई न त छुट्याउन सकिन्छ, न त द्वन्द्वका रूपमा बुझ्न सकिन्छ।

शिवलाई स्थिर रूपमा चित्रण गरिएको छ, किनभने चेतना आफैँ कार्य गर्दैन—यसले साक्षी बन्छ। शक्ति गतिशील ऊर्जा हो, जसले अस्तित्वलाई जीवन्त बनाउँछ र कार्य गर्छ। शिव अस्तित्वको अपरिवर्तनीय पक्ष हुन् भने शक्ति निरन्तर परिवर्तनशील पक्ष हुन्। यसैकारण शिवलाई विघटनसँग सम्बन्धित गरिन्छ, विनाशसँग होइन, बरु स्थिरतामा फर्किने प्रक्रियासँग। शक्तिलाई सृष्टिसँग सम्बन्धित गरिन्छ, अराजकतासँग होइन, अभिव्यक्तिसँग।

ब्रह्माण्डले उनीहरूकै लयमार्फत सास फेर्छ, किनकि शिव र शक्तिबीचको सम्बन्ध केवल देवी र देवताको सम्बन्ध होइन; यो त ब्रह्माण्डको मौलिक सत्यको प्रतीक हो।

परमात्माले प्रकृति अर्थात् पार्वती र पुरुष अर्थात् शिव—ऊर्जा र चेतनाद्वारा ब्रह्माण्डको उत्पत्ति गर्नुभयो। ईश्वर सर्वव्यापी, शाश्वत, निराकार दिव्य सिद्धान्त हो भने पुरुष आत्मा हो र प्रकृति प्रकटीकरण हो।

तिनीहरूको सम्बन्धलाई विद्युत् प्रकाशको उदाहरणबाट पनि व्याख्या गर्न सकिन्छ। प्रकाशको स्रोत विद्युत् प्रवाह ईश्वर हो, प्रकाश पुरुष हो र प्रकाशित वस्तु प्रकृति हो।

शक्तिको अर्थ ऊर्जा, गति, परिवर्तन र प्रकृति हो। यो मातृत्वको सिद्धान्त हो—जन्म, सुरक्षा, ज्ञान, सृष्टि, साहस, रूपान्तरण र विघटन पछाडिको ऊर्जा। दुर्गाको रूपमा उनी शक्ति र सुरक्षा बन्छिन्। कालीका रूपमा समय, युद्ध र भयंकर रूपान्तरण बन्छिन्। सरस्वतीका रूपमा उनी ज्ञान, वाणी, संगीत र सिकाइ बन्छिन्। पार्वतीका रूपमा उनी प्रेम, भक्ति, मातृत्व र आध्यात्मिक अनुशासन बन्छिन्। यी सबै एउटै अनन्त शक्तिका फरक–फरक अभिव्यक्ति हुन्।

अर्कोतर्फ, शिव अर्थात् पुरुष शुद्ध चेतना हुन्—अपरिवर्तनीय, असीमित र अचल पर्यवेक्षक। शिव र शक्ति एउटै सिक्काका फरक–फरक पाटा हुन्। उनीहरू सबैमा समाहित दिव्य चेतनाका अभिव्यक्ति हुन्।

धेरै चित्रहरूमा यी दुई आदिम शक्तिलाई एउटै छविको आधा–आधा भागका रूपमा चित्रण गरिएको छ—एउटा पक्ष महिला र अर्को पक्ष पुरुष। बायाँ भाग दिव्य शक्ति अर्थात् स्त्री ऊर्जाको प्रतिनिधित्व गर्छ भने दायाँ भाग शिव अर्थात् पुरुष चेतनाको प्रतिनिधित्व गर्छ।

सृष्टिको आगमनमा आदिम सिद्धान्तको विभाजनबाट हाम्रो जीवनभित्र द्वैतको अस्तित्व आयो। त्यसपछि एउटा शक्तिले निरन्तर अर्को पक्षसँग पुनः एकताबद्ध हुन प्रयास गरिरहेको देखिन्छ। शिव र शक्तिको रहस्यले हामीलाई सिकाउँछ कि संसारमा हामीले जे–जति द्वैत देख्छौँ, त्यो वास्तवमा एउटै सत्यको विस्तार हो। जहाँ सम्पूर्ण द्वैत समाप्त हुन्छ, त्यहाँ विभाजनको अन्त्य हुन्छ।

शक्तिबिनाको शिव शव हो—एक निर्जीव अवस्था। शिवले काम गर्दैनन्; बरु यो गहन सत्य ऊर्जाद्वारा सक्रिय नभएसम्म जागरुकताले मात्र केही गर्न सक्दैन। किनकि एकबिना अर्को अधुरो छ।

शिवपुराणमा उल्लेख छ—

“एवं परस्परेपेक्षा शक्तिशक्तिमतोः सदा।
न शिवेन विना शक्तिर्न शक्त्या विना शिवः।।’’

अर्थात्, “शक्ति र शक्तिमान् अर्थात् ऊर्जा र त्यसको स्रोत सधैँ एक–अर्कामा निर्भर हुन्छन्।”

यो सनातन दर्शनको गहन सिद्धान्त हो। शिव र शक्तिको सम्बन्ध पदानुक्रमिक होइन, पूरक हो। शिव र शक्तिको संयोजन हुँदा मात्र कार्य, गति र सृष्टि उत्पन्न हुन सक्छ।

यसकारण शिवले शुद्ध पारलौकिकताको विशिष्ट गुणलाई परिभाषित गर्छन् र शक्तिलाई प्रकटीकरणसँग सम्बन्धित गरिन्छ। उनी ब्रह्माण्डमा सबै कार्य र अस्तित्व पछाडिको ऊर्जा हुन्, जसको आधार तथा अधिष्ठान शिव हुन्। शिवले सबै अस्तित्वको जग प्रदान गर्छन्।

“सृष्टिस्थितिसंहारकारिणीं शक्तिमाश्रितः शम्भुः
सर्वेश्वरो महेश्वरः।”

यस श्लोकले एउटा विशाल दर्शनलाई समेट्छ—भगवान् शिव सम्पूर्ण ब्रह्माण्डको सृजन, पालन र संहारका मूल हुन् र उहाँको यो कार्य शक्ति अर्थात् ऊर्जा, पार्वती वा प्रकृतिसँगसँगै सम्पन्न हुन्छ।

ब्रह्माण्डको अस्तित्व र सन्तुलनका लागि पुरुष–महिला अथवा चेतन अर्थात् शिव र ऊर्जा अर्थात् शक्तिको भूमिका महत्त्वपूर्ण छ। यो एउटा यस्तो मनोविज्ञान हो, जहाँ विश्लेषणात्मक मस्तिष्क अर्थात् शिव चाहिन्छ र कहिलेकाहीँ अप्रत्याशित परिवर्तनहरूसँग अनुकूल बन्न रचनात्मक ऊर्जा अर्थात् शक्ति चाहिन्छ। यी दुईमध्ये कुनै एकको अभावमा सृष्टि सम्भव हुँदैन।

पौरस्त्य दर्शनमा शिव–शक्ति एकताको अभिव्यक्ति अर्धनारीश्वर स्वरूपको शक्तिशाली दृश्यले प्रतिनिधित्व गर्छ। शिवलाई असंख्य आसन र स्वरूपमा चित्रण गरिएको छ। यद्यपि उनको सबैभन्दा उत्कृष्ट र अद्वितीय स्वरूप अर्धनारीश्वर हो।

“उमया सहितं वाममर्धं तु दक्षिणे।
जटापीठजटाभारमुकुटं सुविचित्रकम्।।’’

— मयमतम् (३६।८१)

अर्थात्, “उमामहेश्वरको मूर्तिमा महादेव र पार्वतीको स्वरूप हुन्छ। बायाँ भागमा उमा र दायाँ भागमा महादेवको जटाधारी स्वरूप हुन्छ।”

शिव र पार्वतीको अर्धनारीश्वर रूपले एउटा गहन रहस्यतर्फ संकेत गर्छ—पुरुष र महिला, पुरुष र प्रकृति, इच्छा र मुक्ति, धर्म र धन तथा भौतिक र आध्यात्मिक पक्षबीचको सुन्दर सामञ्जस्य।

अर्धनारीश्वर स्वरूप सह–अस्तित्व र समानताको संकेत हो। यो एउटा प्रतीक हो, र प्रतीकहरू सधैँ प्रतीकात्मक हुन्छन्। अर्धनारीश्वरको रूपले एउटा विशाल दर्शनको प्रतीक प्रस्तुत गर्छ। यो अवधारणा ब्रह्माण्डको आधारभूत सत्यसँग जोडिएको छ, किनकि जीवनका दुई ध्रुवमध्ये एउटालाई बढी मूल्याङ्कन गर्नु वा अर्कोलाई कम आँकलन गर्नु अज्ञानता हो।

अर्धनारीश्वर प्राचीन वैदिक सामाजिक सोचको प्रतीकात्मक परिणाम हो। यसको पछाडि सुव्यवस्थित मनोविज्ञान लुकेको छ। अर्धनारीश्वरलाई हेर्ने जो–कोहीले सहजै शिव र पार्वती दुवैलाई सम्झन्छ। यदि एउटै स्वरूपमा ती दुईमध्ये एकको मात्र भावना उत्पन्न भयो भने त्यो खण्डित, अपूर्ण र अप्रासङ्गिक हुनेछ। फलस्वरूप त्यो भावना अर्थहीन बन्न पुग्छ।

केही दर्शनका अध्येता वा साहसी विचारकले मात्र अर्धनारीश्वरको कल्पना गर्न सके। उहाँ न त कुलपिता हुनुहुन्थ्यो, न त महिलाका मात्र समर्थक। उहाँ पूर्ण रूपमा तटस्थ हुनुहुन्थ्यो। अर्धनारीश्वरको अवधारणाले समाजमा पुरुष र महिला, पुरुष र प्रकृति तथा शिव र शक्तिबीचको प्रधानता, उप–प्रधानता र पृथकताको धारणा कम गर्न सहयोग गर्छ।

शिव र शक्तिको दर्शनले प्रकृतिलाई पनि प्रतिबिम्बित गर्छ। सृष्टिमा प्रभावकारी व्यवस्थापन र नेतृत्वका लागि यी दुई पक्षलाई जोडी वा पूरकका रूपमा सञ्चालन गर्नु ब्रह्माण्डकै स्वाभाविक नियम हो।

शिव–शक्तिको अवधारणा, जसले पौराणिक कथा र दर्शनशास्त्रलाई आदि स्रोतका रूपमा आत्मसात् गर्दै आएको छ, सनातन संस्कृतिको एउटा निर्विवाद र सर्वमान्य विषय हो। त्यसैले सनातन संस्कृतिमा भौगोलिक अस्तित्व तथा भू–बनोटमा प्रायः हिमालय–पर्वतहरूको स्वरूपलाई सर्वाधिक महत्त्वका साथ आत्मसात् गरिएको पाइन्छ।

पृथ्वीका उच्च ऊर्जा केन्द्र वा पौराणिक महत्त्वसँग सम्बन्धित क्षेत्रहरू—गौरीशंकर हिमाल, पाथीभरा पर्वत, कैलाश पर्वत आदि—प्रकृतिले निर्माण गरेको शिव–शक्ति अथवा अर्धनारीश्वरको पूर्णरूपको प्राकृतिक बिम्बका रूपमा बुझ्न सकिन्छ।

यी प्राकृतिक बिम्बहरू आध्यात्मिक अनुभूतिको सर्वोच्च विन्दुका प्रतीक हुन्। जहाँ प्रकृति र पुरुष, शिव र शक्ति अथवा अर्धनारीश्वरको प्राकृतिक बिम्बको अर्थपूर्ण बोधले व्यक्तिलाई धर्म, दर्शन र चेतनाको संगममा उभ्याउँछ। जहाँ अन्धविश्वास र मूर्खता होइन, अनुभूतिमा आधारित श्रद्धा र विवेकपूर्ण विश्वासको जन्म हुन्छ।