७ मंसिर २०८१, शुक्रबार
,
Latest
कम्बोडिया भ्रमणमा जानुअघि सभामुखले भेटे राष्ट्रपतिलाई ‘बलिदान’ अन्तिम छायाङ्कन तालिकामा, रिलिज मितिबारे के भन्छन् निर्देशक सन्तोष सेन ? निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ: अध्यक्ष ढकाल पर्थ टेस्टको पहिलो दिनः भारतले बनायो १५० रन, अष्ट्रेलिया ८३ रनले पछाडि रूसद्वारा सेनाको बदलामा उत्तर कोरियालाई तेल, एन्टी–एयर मिसाइल र आर्थिक सहयोग प्रदानः अधिकारीहरू रविलक्षित प्रधानमन्त्रीको टिप्पणीः ठगी र भ्रष्टाचार सैह्य हुन्न, कारबाही हुन्छ राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता अर्थतन्त्रलाई खलबल्याउन कम्बोडियामा लगानीको अफवाह फैलाइयोः प्रधानमन्त्री ओली विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छः अध्यक्ष दाहाल चीनको भ्रमण घुम्नका लागि होईन : प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्तोषलाई पुर्ख्यौली पेसा नै प्यारो



अ+ अ-

गलकोट । मध्यपहाडी पुष्पलाल लोकमार्गको घुम्तीमा सन्तोष विश्वकर्माको सानो आरन व्यवसाय छ । बागलुङ नगरपालिका—४ उपल्लाचौरमा आरन व्यवसाय गर्दै आउनुभएका ४१ वर्षीय सन्तोष पूर्खाको आरन व्यवसाय धान्न पाएकामा प्रसन्न हुनुहुन्छ ।

१६ वर्षको कलिलो उमेरमा रोजगारीका लागि भारत जानुभएका सन्तोष त्यहाँबाट फर्केर पुर्खाको पेसामा लागेको र यसमै सन्तुष्ट रहेको बताउनुहुन्छ । “भारतमा लामो समय काम गर्दासमेत भनेजस्तो कमाउन सकिएन । हाल नेपालमै काम गरिरहेको छु । आफ्ना पुर्खाको आरन पेसा अगाल्दा पैसाभन्दा बढी सन्तुष्टि मिलिरहेको छ”, उहाँ भन्नुहुन्छ ।

बागलुङ नगरपालिका–९ तित्याङ घर भएका विश्वकर्माले आरन चलाएर राम्रो आम्दानी गर्दै आएको बताउनुभयो । उहाँले भारतमा १० वर्ष सिल्टेको भाडा बनाउन सिकेको कामले स्वदेशमा कमाइ गरेको बताउनुभयो । “भारतमा १० वर्ष सिल्टेको भाडा बनाउने कम्पनीमा काम गरेँ । १६ घण्टा काम गर्नुपर्दा निकै दुःख थियो । कमाइ खासै थिएन तर काम भने सिकियो, भारतमै केही वर्ष सिल्टेबाट बनेका भाडा बिक्रीको काम पनि गरँे, व्यवसायमा घाटा भएपछि नेपाल फर्के”,उहाँले भन्नुभयो,“पुर्खाको पेसा र भारतको सिकाइले मलाई आत्मबल मिल्यो । बालीघरे प्रथाले पहिला गाउँमा खासै आम्दानी थिएन, बागलुङ बजार झरेपछि भने श्रमको मूल्य पाएको छु ।”

आफ्नै देशमा काम गर्न पाएकोमा सन्तोष खुसी हुनुहुन्छ । साथीभाई अहिले रोजगारीका लागि विभिन्न देश पुगे पनि भारतबाट फर्केपछि आफूलाई भने विदेश जान मन नलागेको उहाँको भनाइ छ । “आरन व्यवसायबाट एकदमै खुसी छु, यहाँ सबैसँग खुलेर कुराकानी गर्न पाइन्छ, अन्यत्र भाषाको समस्या हुन्छ, आफू ठूलो देशमा नगए पनि आफूले उत्पादन गरेका फलाम, तामा र सिल्टेका भाडा जापान, अमेरिका लगायतका देशमा पुगेका छन्”, विश्वकर्माले भन्नुभयो, “अहिले सजावटका लागि तामाको भाडाको निकै माग छ, तामाको भाडामा पानी खाने प्रचलन फेरि फर्केको छ, उपहार र आफन्तका लागि विदेशमा समेत सामग्री खरिद गरेर पठाउने प्रचलनले व्यापार फष्ठाएको छ ।”

सन्तोषले उत्पादन गरेका हसिया, बाउसो, खुकुरीलगायत सामग्रीका लागि बजारको अभाव नभएको बताउनुभयो । फलाम, तामा र सिल्टेका विभिन्न सामग्री उत्पादन गर्न सके बजारको समस्या नरहेको उहाँको अनुभव छ । आफूले उत्पादन गरेका अधिकांश भाडा तथा हात हतियार आरनबाटै बिक्री हुने गरेको र डाडु, पन्यु, दाब, खुकुरी, बन्चरो, हँसिया बढी मात्रमा बिक्री हुने गरेको विश्वकर्माले जानकारी दिनुभयो ।

आफ्नो उत्पादनबारे स्थानीय सरकारलाई भने खासै चासो नभएको विश्वकर्माको गुनासो छ । उहाँले परम्परागत पेसालाई संरक्षण गर्न र यसतर्फ युवाहरूलाई आकर्षित गर्न सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय काम गर्ने मान्छे नपाइदा समस्या भएको र पुस्तान्तरणको अभावमा पेसा लोप हुने अवस्थामा पुगेकामा विश्वकर्माले चिन्ता व्यक्त गर्नुभयो । “अहिले काम गर्ने मान्छे पाइँदैनन्, पछिल्लो पुस्तालाई विदेशकै मोह छ, विदेश नै जाने, धन कमाउने भन्छन् । पुख्र्यौली पेसा संरक्षणमा स्थानीय सरकारले ध्यान दिने, पेसालाई आधुनिकरण गर्ने र प्रोत्साहन गर्ने हो भने यतै राम्रो गर्न सकिन्छ”, उहाँले भन्नुभयो । रसस