२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘संविधान कार्यान्वयनको १० वर्षका सबल र दुर्बल पक्ष समीक्षा गरी संशोधन गर्दै अघि बढ्नुपर्ने’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान कार्यान्वयनको १० वर्षका सबल र दुर्बल पक्ष समीक्षा गरी संशोधन गर्दै अघि बढ्नु पर्ने बताउनुभएको छ ।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महासचिव पोखरेलले सोही मूल कामको लागि नेकपा एमाले र नेपाली कांग्रेसले सत्ता समीकरण गरेका बताउनुभयो । ‘संवैधानिक, कानुनी र संरचनागत सुधार गर्ने उद्देश्यका साथ हामीले सरकार गठन गरेका छौँ’, उहाँले भन्नुभयो ।

यस काममा नेकपा एमाले र नेपाली कांग्रेसको मूलभूत जिम्मेवारी भए पनि देशका सबै राजनीतिक दलसँगको संवाद, छलफल र सहमतिबाट संविधान संशोधनको काम हुने पोखरेलले स्पष्ट पार्नुभयो । यसकै आधारमा मुलुकलाई अघि बढाउने उहाँले बताउनुभयो । ‘हामी २०८४ सम्म यो काम सम्पन्न गरेर अगाडि बढ्छौँ’, उहाँले भन्नुभयो ।

धेरै दलमा जनमत विभाजन हुँदा प्रमुख दलहरू माथि साना दलहरूले शासन गर्ने परिपाटी रोक्नलाई २०८४ को निर्वाचन अघि नै संविधान संशोधन गरिने पोखरेलले बताउनुभयो । ‘त्यो परिपाटिलाई चुनावबाट अन्त्य गर्न हिसाबले हामीले संविधान र कानुन सुधारको विषयलाई अघि बढाएका हौँ’, उहाँले भन्नुभयो ।

पोखरेलले संविधान र कानुन सुधारले मात्रै अघि बढ्न नसकिने बताउँदै विकास र समृद्धिको लागि संरचनागत सुधार आवश्यक रहेको बताउनुभयो । ‘यो संविधानको विषय मात्र होइन, संविधान, कानुन र संरचनागत सुधार, यी तीनवटै विषयलाई हामीले अगाडि लैजान्छौँ’, पोखरेलले भन्नुभयो ।

पोखरेलले कांग्रेस र एमाले मिलेर साना दललाई समाप्त पार्न नखोजेको बताउँदै जसले राजनीति गर्न चाहन्छ उसले आफूलाई बलियो भने बनाउनु पर्ने स्पष्ट पार्नुभयो । साना दलले म्याजिक नम्बर पायौँ भन्दै शासन गर्ने परम्परा अन्त्य हुनु पर्ने पोखरेलले बताउनुभयो ।

जनताको जनादेश पाउने दलले नै शासन गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । ‘लोकतन्त्रमा सानो भएर शासन गर्ने कुरा उचित होइन, त्यो अन्त्य हुनुपर्छ’, उहाँले भन्नुभयो ।

पोखरेलले जुन राष्ट्रिय उद्देश्य बोकेर नेकपा एमाले र कांग्रेस अघि बढिरहेका छन् त्यस उद्देश्यमा सहयोग गर्नको लागि केन्द्रदेखि जिल्ला तहसम्म दुई दलीय संयन्त्र बनाउन लागिएको पनि उहाँले जानकारी दिनुभयो । ‘यो सरकाले गर्ने काम मात्र होइन, राजनीतिक दलको पनि भूमिका आवश्यक हुन्छ, त्यस अर्थमा प्रमुख दलहरू मिलेर त्यो वातावरण तयार गर्नुपर्दछ भन्ने मान्यताको आधारमा हामीले दुई दलीय संयन्त्र बनाएका हौँ’, पोखरेलले भन्नुभयो ।

नागरिकमा पुराना दल प्रति बढ्दै गएको निराशा चिर्नको लागि पनि कांग्रेस र एमाले एक ठाउँमा उभिएका पोखरेलले बताउनुभयो । अहिले नागरिकमा त्यो निराशा चिरिँदै गएको उहाँले दाबी गर्नुभयो । प्रमुख दलले सरकार बनाउँदैमा नागरिकमा देखिएको निराशा नचिरिने बताउँदै उहाँले नागरिकमा निराशा पैदा हुनुको कारण खोजी गरी त्यसको समाधानको लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

आज राजनीतिक अस्थिरता र अराजकताले समाजलाई पीडा दिएको उहाँले बताउनुभयो । त्यसबाट समाजलाई मुक्ति दिन पनि प्रमुख राजनीतिक दल मिल्नु परेको उहाँले स्पष्ट पार्नुभयो ।