म्याड्रिड । स्पेनी ला लिगामा शनिबार बार्सिलोना एलाभेसको हातबाट १–१ को बराबरीमा रोकियो । एलाभेस खेलको अन्तिम आधा घण्टा १० खेलाडीमा सीमित रहे पनि बार्सिलोनाले त्यसको फाइदा उठाउन सकेन। ब्राजिली गोलरक्षक नेटोको भूलमा लुइस रिओजाले एलाभेसका लागि पहिलो गोल गरे । खेलको ६२ औं मिनेटमा एलाभेसका मिडफिल्डर जोटालाई दोस्रो पहेँलो कार्ड देखाइएको थियो । त्यसलगत्तै एन्टोन ग्रिजमनले बराबरी गोल फर्काए । बार्सिलोनाले लिगका पछिल्ला चार खेलबाट दुई अंक मात्र बटुलेको छ । रोनाल्ड कोम्यानको टिम ६ खेलबाट आठ अंकसहित १२ औं स्थानमा रहेको छ ।
यसअघि एडेन हाजार्डले एक वर्षयता क्लबका रियल म्याड्रिडका लागि पहिलो गोल गरेपछि स्पेनी ला लिगामा डिफेन्डिङ च्याम्पियनले हुएस्कालाई शनिबार ४–१ ले हरायो । चोटको समस्याबाट मुक्त हुँदै नयाँ सिजनमा पहिलो पल्ट सुरुदेखि खेल्दै हाजार्डले ४० औं मिनेटमा टिमको पहिलो गोल गरे । सन् २०१९ मा कीर्तिमान बराबरी गरेको १० करोड युरोमा चेल्सीबाट रियल आएयता उनको यो दोस्रो गोल मात्र हो ।
जिनेदिन जिदानको रियलका लागि त्यसपछि करिम बेन्जेमाले दुई र फेडरिक भाल्भेरडेले एक गोल गरे । हुएस्काका लागि डेविड फेरेरोले एक गोल फर्काए । लिगको शीर्ष स्थानमा रहेको रियलको यो सिजनको पाँचौं जित हो । उसको सात खेलबाट १६ अंक भएको छ । रियल सोसिडाडले आइतबार सेल्टा भिगोको सामना गर्दैछ र त्यसमा विजयी रहे रियललाई उछिन्न सक्नेछ ।










