१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल

लाइयुआनको गौरवमा हेबेई प्रान्तको विकास फड्को

लाइयुआनको गौरवमा हेबेई प्रान्तको विकास फड्को
अ अ+ अ-

काठमाडौँ । चिनियाँ हान राजवंशको पालामा स्थापना भएको लाइयुआन काउन्टीको दुई हजार वर्षभन्दा लामो इतिहास छ । इतिहाससँगै त्यहाँको जनताले मेहनती र साहसी र गौरवशाली पहिचान स्थापित गरेका छन् । सन् १९३८ र १९४३ चीनको कम्युनिष्ट पार्टीको नेतृत्वमा जापानविरुद्धको प्रतिरोध युद्धमा लाइयुआनका जनताले देशको रक्षा गर्न ठूलो योगदान दिएको इतिहास पढ्न पाइन्छ । युद्धको कथामा लाइयुआनका जनता र कम्युनिष्ट पार्टीका जनसेनाको बहादुरी र सङ्घर्षलाई उच्च प्रशंसा गरिन्छ । उबेला चीन सरकारद्वारा “शत्रुविरुद्ध सङ्घर्षको नमूना काउन्टी” भनेर नामाकरण गरिएको थियो ।

जापानविरुद्ध विजयपछि लाइयुआनले क्रान्तिकारी आधार तयार गरेको थियो । यही तथ्य र गौरवपुर्ण इतिहासका जगमा चिनिया विकासका नमुना यो क्षेत्रमा देख्न पाइन्छ । हेबेई एग्रीकल्चर युनिभर्सिटीको निम्तोमा २०८१ भदौ २० देखि असोज १० गतेसम्म लाइयुआन काउन्टीसँगै दर्जनौं काउन्टी, टाउन, सिटी, डिस्टीक घुमियो र हेरियो । हेबेई प्रान्तको बाओडिङ जिल्लाको उत्तरपश्चिममा अवस्थित लाइयुआन क्षेत्रले यतिबेला पर्यटकीय गन्तब्यको पहिचान बनाएको छ । ताइहाङ पर्वत, शिपु क्यान्यन, सियानरेन्यू ९अमर उपत्यका० बैशी माउन्टेन लगायतको क्षेत्रलाई चीनको पर्यटकीय गन्तब्यको रुपमा विकास गरिएको छ ।

हेबेई प्रान्तको बाओदिङ शहरबाट नजिक पर्ने यी क्षेत्रलाई चीनले पर्यटकीय क्षेत्रको रुपमा विकास गरेको छ । यो क्षेत्रलाई सन् २००६ मा युनेस्कोद्वारा विश्व भूवैज्ञानिक पार्क नामकरण गरिएको छ । हेबेई एग्रीकल्चर युनिभर्सिटीका भिसी झो चिन्चुनको भनाइअनुसार लाइयुआन काउन्टीसँगै सिंगो हेबेई प्रान्तको विकासमा चीन सरकारको चासो र योजनावद्ध विकास परियोजना सञ्चालनमा छ । चीन सरकारले विकास गरे जस्तै नेपालमा पनि देशको रक्षाको लागि भएको युद्ध र प्रतिरक्षाका लागि सङ्घर्ष भएको ठाउँमा पर्यटकीय र सांस्कृतिक विकास गर्न सकिन्छ । नेपालमा सयौँ गढी, दरबारहरु छन्, तिनको संरक्षण र विकास गरी पर्यटनसँग जोड्न सकिने सम्भावना छ ।

कृषिमा अत्याधुनिक प्रविधिको प्रयोग

हेबेई प्राप्तले चीनको राजधानी बेइजिङलाई उत्तर, पश्चिम र दक्षिण क्षेत्रबाट घेरा लगाएकोे छ । हेबेई आधुनिक शहर बेइजिङलाई खाद्य, तरकारी र फलफूल आपूर्ति गर्ने प्रमुख प्रान्त पनि हो । त्यसैले यो प्रान्तको विकासमा चीन सरकारको ऐतिहासिक राजनीतिक सम्बन्ध मात्रै हैन, आर्थिक र सांस्कृतिक सम्बन्ध पनि रहेको छ । राजधानी शहरलाई दैनिक उपभोग्य वस्तु आपूर्ति गर्ने भएकाले विकासका नमूना यहाँ देख्न सकिन्छ । चीन सरकारले राष्ट्रिय विकासलाई एकिकृत गर्दै ग्रामीण विकासको लागि नयाँ राष्ट्रिय विकास शैली अलबम्बन गरेको छ । स्वस्थ्य जीवन र नयाँ स्वस्थ्य’ उत्कृष्ट चिकित्सा हेरचाह सेवा र कृषिमा वैज्ञानिक र नयाँ प्रविधि रियलस्टेट, वाणिज्य तथा होटल र सांस्कृतिक पर्यटनलगायतका चारवटा विषयमा नयाँ राष्ट्रिय विकास शैलीको आधार हुन् । यही तथ्यलाई स्थापित गर्न यो प्रान्तमा गरिएको प्रविधियुक्त आधुनिक खेतीले विश्वको ध्यान तानिरहेको छ । हुवेई एग्रीकल्चर युनिभर्सिटीका एशोसियट प्रोफेसर ली छियाङका अनुसार प्रविधिको उच्चतम् प्रयोगबाट चीन कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यमा रहेको छ र प्रविधिको प्रयोग गरेर कृषिलाई नयाँ युगमा लैजाने योजना रहेको छ ।

चीन सरकारको आर्थिक सहयोग र हुवेई एग्रीकल्चर युनिभर्सिटीको प्राविधिक सहयोगमा हुवेई प्रान्तलाई कृषिको ‘हब’ बनाउने योजनाअनुसार ग्रीन हाउसभित्र प्रयोग गरिएको प्रविधिले आफैँमा चीनमा विकास कस्तो छ भनेर देखाउँछ । कृषि उत्पादनलाई वृद्धि र गणस्तरीय उत्पादन गर्नको लागि हुवेई प्रान्त ग्रीनहाउसमय भएको छ । हरेक कृषि फार्ममा सुविधायुक्त र वातावरण अनुकुलित ग्रीनहाउस सञ्चालनमा रहेको छ ।

चीनको गर्मी र अत्याधिक चिसो हुने स्थानमा पनि वर्षभरि नै तरकारी, फलफूल र अन्य कृषिउपज उत्पादन गर्नको लागि सोलर सिस्टम ग्रीनहाउस, ग्लास ग्रीनहाउस, प्लाष्टिक ग्रीनहाउस र प्लाष्टिक टनेलको प्रयोग भइरहेको छ । यति मात्रै हैन, माटोबिना नै तरकारी खेती गर्ने प्रविधि जडान भइरहेको छ । ग्रीनहाउसमा अटोमेटिक कुलिङ र हिटिङ प्रविधि रहेको छ । विरुवालाई चाहिने पानी र मल पनि मेसिनबाट वितरण गर्ने प्रविधि जडान छ । हेबेई एग्रीकल्चर युनिभर्सिटीको रेकर्डअनुसार अहिले चीनमा ६० प्रतिशत तरकारी र फलफूल प्रविधियुक्त ग्रीनहाउसबाट उत्पादन भइरहेको छ । एउटा ग्रीनहाउस सञ्चालनको लागि अरबौंको लगानी भइरहेको छ ।

चीन सरकारले उत्पादनसँगै त्यसको बजारीकरण र गुणस्तरमा समेत ध्यान दिएको छ । गाउवादियन सिटीमै रहेको नेसनल एग्रीकल्चर प्रोडक्ट ट्रान्जिट एण्ड डिस्टीबुसन कम्पनी आफैँमा एक कृषिको व्यापारिक केन्द्र हो । विभिन्न ठाउँका फार्म र किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको सङ्कलन, प्रशोधन र वितरण गर्दै आएको यो कम्पनीको बेइजिङ र हुवेईका सम्पूर्ण जनतालाई एक हप्तासम्म तरकारी, फलफूल र मासु उपलब्ध गराउन सक्ने क्षमता रहेको छ । नेपाल कृषिप्रधान देश हो भने पनि परम्परागत र निर्वहामुखी खेती प्रणालीले ठूलो आर्थिक परिवर्तन नआएको स्पष्ट छ । कृषि प्राविधिकहरुले ज्ञान र प्रविधिको प्रयोग बढाउन सके कषिमा आत्मनिर्भर हुन सकिन्छ । चीनको जस्तै लगानी गर्न नसकिए पनि नेपालको भौगोलिक र हावापानीको विविधतालाई कृषि उत्पादनसँग जोड्न सकिने सम्भावना छ ।

ग्रामीण विकासको नयाँ शैली

‘वी ह्याभ विन वेटिड फर यु (हामी तपाईलाई स्वागत गर्न पर्खिरहेका छौं) ! यो स्वागतको लागि हपेई प्रान्तको हाउझोङ टाउनले हरेकदिन नयाँ पर्यटक पर्खिरहेको छ । चिनिया पर्यटकहरुको प्रमुख गन्तव्य बन्दै गरेको यो शहर सुन्दर र रमणीय रहेको छ । स्थानीय एक विद्यालयकी शिक्षिका गावलिन सुएको भनाइमा चिनिया पर्यटकको लागि हाउझोङ टाउन एक गन्तव्य हो ।चीनको बाओदिङ शहरबाट करीब दुई घण्टाको बस यात्रामा पुगिने यो शहर चीन सरकारले सञ्चालन गरेको एक किसिमको ‘कम्युन’ जस्तै हो । स्थानीय जनतालाई रोजगारी सिर्जना गर्नको लागि सञ्चालन गरिएको यो टाउनले आधुनिक चीनको प्रतिनिधित्व गर्छ । यो टाउनमा सुविधा सम्पन्न ह्वाइटस्टोन माउण्टेन हट स्प्रीङ, टुरिजम रिसोर्ट सञ्चालनमा रहेको छ । यही होटलको वरिपरि चीनको संस्कृति झल्काउने वस्तुको प्रदर्शनी, पुस्ताकालय, ठूला लगानीमा कृषि फार्म, स्याउ बगैंचा, वनभोजस्थल, सेवा केन्द्रर हाउजिङ सञ्चालनमा रहेको छ । सन् २००८ अगाडिसम्म यो ठाउँ खासै चर्चा थिएन तर चीन सरकारको ग्रामीण विकासकमा नयाँ शैलीको परियोजना सञ्चालन भएपछि सुविधासम्म शहर बन्दै गएको छ ।

नेपाल सरकारले पनि मध्यपहाडी लोकमार्गमा १० वटा ठूला शहरको परिकल्पना गरेर परियोजना सञ्चालन भइरहेका छन् । ठूला शहर बनाउने भनेको शहरमा चीन सरकारले जस्तै शिक्षा, स्वास्थ्य, कृषिमा नयाँ प्रविधि, होटल तथा वाणिज्य, रियलस्टेट जस्ता सेवा पुग्यो कि पुगेन भनेर समीक्षा गर्ने बेला आएको छ । एक लाख जनसङ्ख्या अटाउने योजना रहेको ती शहरको पूर्वाधार विकास योजना के भइरहेको छ भनेर सरकारी निकायले स्वमूल्याङन गर्ने बेला भएको छ भन्ने लाग्छ ।

सफलताको लागि रातो फूल 

नेपालमा रातो रङलाई क्रान्ति वा खतराको सङ्केतको रुपमा बुझिन्छ तर चीनमा रातो रङलाई सफलतासँग जोडिन्छ । सफल भविष्य र नयाँ यात्रासँग जोडिन्छ । त्यसैले चीनमा रातो रङको फूललाई औधी मन पराइन्छ । चीनको हुवेई एग्रीकल्चर यनिभर्सिटीका प्रोफेसर चि छियाङको  भनाइअनुसार रातो फूल दिँदा हामीलाई सफलतातिर लगिरहेको छ भन्ने लाग्छ । रातो फूलले घरको सौन्दर्य बढाउने र सफलतालाई लिएर आउने गर्दछ भन्ने चिनीया जनताको विश्वास रेहेको छ । हेबेईको तानसिनमा फुल खेती गरिएको छियान युआन फार्म सबैभन्दा ठूलो रहेको छ । दश हजार हेक्टरमा सञ्चालन भइरहेको यो फार्म आधुनिक प्रविधियुक्त रहेको छ । नेदरल्याण्डको प्रविधि भित्राएर चीनको तानसिन गाउँमा विभिन्न जातका फूलको खेती गरिएको छ । छियान युआन फार्ममा उत्तर अमेरिकाबाट ल्याइएको अन्थुरियम जातको फुलको सबैभन्दा धेरै खेती गरिएको छ ।  यो फार्मले मात्रै वर्षमा ४० लाख फूलको विरुवा उत्पादन गरी विक्री गर्छ । फूल बिक्री गरेर यो फार्मले वार्षिक ३० लाख युआन नाफा कमाउँदै आएको छ । फूल उत्पादन गर्नको लागि हेबेई एग्रीकल्चर युनिभर्सिटीका प्रोफेसर डि बाओ, प्रोफेसर चि छियाङसहित पाँच जनाको टोलीले प्राविधिक सहयोग गर्छन् । नेपालमा पनि फूलले घर, अफिस, पार्क वा कार्यक्रमको मञ्च सजाउने गरिन्छ । नेपालीहरुको महान चाड तिहार, फूलको पर्व हो । त्यसैले पनि नेपालमा फूलको महत्व बेग्लै छ । फूललाई प्रेम र सद्भावसँग जोड्ने नेपाली परम्परा र चीनको परम्परा मिल्दोजुल्दो रहेको छ ।

चीनको चिया संस्कृति

नमस्कार(निहाओ) । सुन्दर, हसिँली युवती मुसुक्क हाँसेर चियाको कप देखाउँदै भन्नुहुन्छ– ’चिया लिनुहोस्’ । हातले इसारा गर्दै उहाँले भन्दा एउटा मात्रै शब्द छ, सेसे अर्थात धन्यवाद । चीनको हेबेई एग्रीकल्चर यनिभर्सिटीमा पढिरहनुभएकी विद्यार्थी लि जवेइको चिया खुवाउने शैली धेरै आगन्तुकको लागि सिकाइको विषय छ ।चिया हामी नेपालीहरु पनि स्वागत गर्ने संस्कृति हो । घरमा आएको पाहुनालाई स्वागत गर्ने र घर बाहिर साथीहरुसँग भेट्दा र गफिदा सजिलै खाने भनेकै चिया हो । हामीले कुनै विषयमा कुराकानी र छलफल गर्नुपर्छ भने चियाभेटकै कुरा गर्छौं । हामी जस्तै चीनमा पनि चियालाई संस्कृतिकै रुपमा लिएको छ । हुवेइ एग्रीकल्चर युनिभर्सिटीका प्रोफसर याङ होङका अनुसार चिया चीनको संस्कृति बनेको छ । चीनलाई चियाको उत्पत्ति भएको देश भनिन्छ । करीब पाँच हजार वर्ष पहिले चीनमा चियाको प्रयोग भएको इतिहास छ । सेन नोङ सम्राटको समयमै चीनमा चियाको प्रयोग थियो । त्यतिबेला चियालाई औषधिको रुपमा पनि प्रयोग गरिन्थ्यो । अहिले चिया, चिनिया खाना संस्कृतिको रुपमा प्रयोग भइरहेको छ । चीनमा पहुनाको स्वागत, पारिवारिक जमघट, पराम्परागत विहेमा ठूला व्यक्तिको सम्मान र परम्परालाई जोगाउन चियाको प्रयोग हुने गर्छ ।

चीनको सबैजसो होटलमा खानासँगै चिया पनि मेनुमा राखिएको हुन्छ । डिनर वा लन्चसँगै चिया पिउनु चीनको खाना संस्कृति हो । चिनियाहरुको भान्सामा दैनिक आवश्यक पर्ने सात वटा सामग्रीहरुमा चिया एक हो । इन्धन, चामल, तेल, नुन, सस, भेनिगरसँगै चिया अनिवार्य छ । प्रोफेसर होङ्कै भनाइअनुसार चीनका बासिन्दाको व्यक्तिगत जीवनमा पनि चिया अनिवार्य छ । चिनिया युवा र विद्यार्थीहरु खुसी हुन र रमाउनको लागि चिया, वाईन, म्युजिक, चेस, पेन्टिङ, कविता, कलिग्राफी आवश्यक छ । चिया पिउँदा स्वास्थ्य राम्रो हुने, छाला चम्किलो हुने, आँखाको ज्योति राम्रो हुने, लामो आयु हुने भनेर चीनमा एउटा गजबको प्रभाव छ ।

खानामा अनिवार्य च्याउ र खर्बुजा

चिनियाँ नागरिकको खानाको परिकारमा कहिलै नछुट्ने खानेकुरा हो, च्याउ र वटरमिलन ९खर्बुजा०  । डिनर र लन्चमा विभिन्न थरिका च्याउका आइटम र खर्बुजा अनिवार्य छ । च्याउलाई मौसमी तरकारीको रुपमा उपभोग गर्ने चलन छ । हेबेई एग्रीकल्चर युनिभर्सिटीका एशोसियट प्रोफेसर ली शोउमीनको भनाइअनुसार चीनमा विभिन्न ८० किसिमका च्याउको खेती गरिन्छ । सन् २०१२ पछि चीनमा आधुनिक प्रविधिको प्रयोग गरी ठूलो मात्रामा च्याउ खेती गर्न थालिएको हो । राज्यको लगानी र यनिभर्सिटीको प्राविधिक सहयोगमा सञ्चालनमा आएका उद्योगले उत्पादनसँगै रोजगारी समेत सिर्जना गरेको छ । फपिङ काउन्टी यसको उद्धरण हो । यो काउन्टीमा २०१२ मा चीन सरकारले सञ्चालनमा ल्याएको ‘सिताके’ च्याउ उत्पादन गर्ने फार्मले अहिले रोजगारीसँगै चीनभरि च्याउको आपूर्ति गरिरहेको छ ।

हेबेई प्रान्तको विभिन्न ठाउँमा स्थापना गरिएको ग्रीनहाउसमा विभिन्न किसिमका खर्बुजा उत्पादन हुन्छ । नेपालमा खर्बुजालाई फलफूलको रुपमा उपभोग गरिन्छ तर चीनमा यसलाई तरकारीको एउटा अंशको रुपमा उपभोग गरिन्छ । हेबेई एग्रीकल्चर युनिभर्सिटीका प्रोफेसर नी लन्चनका अनुसार खर्बुजा चीनको खानाको परिकारमा अनिवार्य जस्तै हो । चीनमा विभिन्न सात किसिमका खर्बुजाको खेती भइरहेको छ । यसरी खानाको परिकार र उत्पादनलाई जोडेर गरिएको लगानी र विकासले चीनको आर्थिक विकासका योगदान दिइरहेको अनुमान गर्र्न सकिन्छ ।

चीनको विकास र समृद्धि यात्राको रफ्टारलाई यो छोटो लेख र बुझाइमा सम्भव हुँदैन । तर पनि छोटो अध्ययनले के भन्न सकिन्छ भने देश बनाउन अनुशासन र जागरण चाहिन्छ । त्यो चीन सरकारको निकायहरु र नागरिकमा पाइन्छ । चेकपोष्टमा बाहेक सडकमा ट्राफिक प्रहरी नहुँदा पनि सडकमा सवारी अनुशासन छ । त्यस्तै गाउँगाउँमा सडक सञ्जाल पुगेको छ । ठूलो उद्योग सञ्चालनसँगै चिल्लो र सिधा सडक गाउँगाउँमा पुगेका छ । यसले गर्दा उत्पादित वस्तुको निर्यात गर्न सहज छ । पूर्वाधार विकासमा सरकारको लगानी हुने, उत्पादन बढाउनको लागि युनिभर्सिटीले प्राविधिक सहयोग गर्ने, कम्पनी वा समुदायले उत्पादनको काम गर्ने र बजारीकरण गर्ने प्रणालीले चीनको विकासको गति बढाएको छ । लगानी, प्राविधिक ज्ञान, उत्पादन र बजारीकरणमा अनुशासन र देश धनी बनाउनु पर्छ भन्ने जागरणले अहिलेको चीन निर्माण भएको भन्न सकिन्छ । (लेखक राससका महाप्रबन्धक हुनुहुन्छ)