१४ कार्तिक २०८१, बुधबार
,
Latest
विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हरायो हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट निर्मला कुर्मी प्रकरण : गृह र आन्दोलनरत पक्षबीच तीनबुँदे सहमति विश्वकप क्रिकेट लिग–२: नेपाले स्कटल्याण्डको सामना गर्दै टेलिकमका सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने सम्झौता सरकारद्वारा समस्याग्रस्त सहकारी संस्थाका वचतकर्ताको डेढ अर्ब बढी रकम फिर्ता अमेरिकी चुनावमा राष्ट्रपति बाइडेनद्वारा प्रारम्भिक मतदान पाकिस्तानमा पोलियो खोप टोलीको सुरक्षामा खटिएका प्रहरी अधिकारीको हत्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रजातन्त्रका लागि बन्दुक बोकेकी द्वारिकादेवी



अ+ अ-

विसं २०१६ जेठ १६ गते बुधबारको तत्कालीन गोरखापत्र दैनिकले आफ्नो पहिलो पृष्ठमा शीर्षकमा समाचार छाप्यो । त्यसको मुख्य शीर्षक थियो ‘नेपालको पहिलो निर्वाचित मन्त्रिमण्डल सङ्गठित ।’ अनि त्यसमा उपशीर्षकहरू राखिएको थियो– प्रधानमन्त्री श्री विश्वेश्वरप्रसाद कोइराला, उप–प्रधानमन्त्री श्री सुवर्णशमशेर र उप–मन्त्री पदमा महिला पनि ।’

त्यो उपशीर्षकमा ‘महिला पनि’ भनिएकी व्यक्ति द्वारिकादेवी ठकुरानी हुनुहुन्थ्यो । पहिलो जननिर्वाचित मन्त्रिमण्डलको नेतृत्व जननायक बिपी कोइरालाले गर्नुभएको थियो । त्यो मन्त्रिमण्डलमा बिपीले द्वारिकादेवी ठकुरानीलाई तत्कालीन ‘स्वास्थ्य र स्वायत्त’ मन्त्रालयको जिम्मेवारी दिएर उपमन्त्री बनाउनुभएको थियो ।

त्यतिबेलाको समय नै त्यस्तै थियो, विश्वका कतिपय राष्ट्रहरूमा पनि महिलालाई मतदानको अधिकारसमेत थिएन । नेपाली समाजमा पनि महिलालाई पढ्न लेख्नसमेत बन्देज गरिएको समयमा एउटा बिकट ठाउँकी महिलालाई त्यो बेला बिपीले मन्त्रीसम्म बनाउनुभयो । नेपाल मात्रै नभएर द्वारिकादेवी ठकुरानी सरकारमा पुग्ने दक्षिण एशियाकै पहिलो महिला हुनुहुन्थ्यो । देशमा प्रजातन्त्र स्थापनार्थ आफ्ना सबै निजी स्वार्थहरू त्यागेर द्वारिकादेवीहरू त्यो बेला क्रान्तिमा होमिनुभयो । त्यो पनि शिक्षा र चेतनाले पछि परेको नेपालको सुदूरपहाडको एउटा गाउँबाट ।

उहाँ डोटीको एउटा सम्पन्न ठकुरीकुलमा जन्मिनुभएको हो । त्यो बेला धनीमानीहरू घरमै गुरुहरू राखेर आफ्ना छोराछोरी पढाउने गर्थे । राणा शासनकालका बेला नेपालमा विद्यालयहरू खोल्ने र आमसर्वसाधारण नागरिकका छोराछारीले पढ्न लेख्न पाउने अधिकार थिएन । तथापि ब्राह्मण वा त्यस्तै उच्च कुल तथा हुनेखानेहरूले घरमै गुरुहरू राख्थे । वा त्यस्तै सामाजिक रुपमा चलेका गुरुकुलहरूमा आफ्ना छोराछोरी पढाउँथे । त्यो बेलासम्म पनि नेपालमा छोरीहरूलाई पढाउनुपर्छ भन्ने मान्यता थिएन । तर द्वारिकादेवीका मातापिताहरूले भने घरमै संस्कृतका विद्वानहरू राखेर आफ्ना छोराछोरी पढाउने काम गर्नुभयो । त्यहीबेला द्वारिकादेवीले पनि गीता र महाभारतलगायतका ग्रन्थहरू पढ्नुभयो ।

आठ वर्षको उमेरमै उहाँले गीता र महाभारतका पाठहरू कन्ठस्थ पार्नुभएको थियो । घरपरिवार नै शिक्षित र सम्पन्न भएका कारण द्वारिकादेवीको कलिलो मस्तिस्कमै राजनीति र चेतनायुक्त संस्कार हुर्किसकेको थियो । त्यसपछि किशोरावस्थामा उहाँको साथसङ्गत पनि त्यस्तै हुनपुग्यो । राजनीतिक परिवारमै उहाँको विवाह भयो । त्यसले पनि उहाँलाई प्रजातन्त्रको लडाईंका लागि प्रेरित गरेको थियो ।

उहाँका बुवा खरिदार हुनुहुन्थ्यो । परिवार शिक्षा र चेतनाले सुसंस्कृत थियो । सुदुरपश्चिमा दलित तथा पिछडिएका समुदायलाई शिक्षा र राजनीतिक चेतना बढाउने काममा उल्लेख्य काम गर्नुभएको देखिन्छ । डोटी सुदूरपश्चिमको शिक्षा र राजनीति तथा प्रशासनिक केन्द्र पनि थियो । त्यहाँ विभिन्न क्षेत्रका मान्छेहरू आउजाउ गरिरहन्थे । त्यही क्रममा उद्धबबहादुर चन्द र द्वारिकादेवीबीच प्रेम सम्बन्ध भयो र त्यो विवाहमा परिणत भयो ।

२००४ सालमै उहाँको नेतृत्वमा डडेल्धुरामा हाइस्कुल स्थापना भएको थियो । त्यो बेला राणा शासनविरुद्ध विद्रोह चेतना बढिरहेको थियो र मानिसमा राजनीतिक चेतना बढ्न थालेको थियो । मुजफ्फरपुरमा बिपीसँग भेट भएपछि २००३ सालमै श्रीमान श्रीमति दुबैले कांग्रेसको सदस्यता लिनुभएको थियो । यसरी उहाँहरू प्रजातान्त्रिक आन्दोलनबाट पार्टी राजनीतिमा जोडिनुभयो । २००७ सालमा उहाँका श्रीमान उद्धबबहादुर चन्द जेल पर्नुभयो र ३२ दिनमा छुट्नुभयो । २०१० सालमा उहाँको निधन भयो ।

आफैँमा त्यसरी पिछडिएको युगमा जन्मिएकी द्वारिकादेवी मात्रै समाजसेवा र राजनीति मात्रै गर्नुभएन, देशमा प्रजातन्त्र स्थापनाका लागि उहाँले अरू क्रान्तिकारी योद्धाजस्तै बन्कुद नै बोकेर लडाईंमा होमिनुभएको थियो । बिपी कोइरालाको एक आह्वानमा उहाँले आफ्ना परिवारले राखेका बन्दुकहरू क्रान्तिकारी लडाकुहरूलाई दिनुभयो । त्यतिमात्रै होइन, उहाँले भारतमा निर्वासित रहँदा पनि नेपालका ‘मुक्ति सेना’लाई हतियार व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । नेपाली कांग्रेसले राणा र राजसँग लड्दा दुईपटक सशस्त्र क्रान्ति गरेको थियो । त्यो बेला २००९ सालमा नेपाल मुक्ति सेनाका लागि आफ्ना देवर केशबहादुर चन्दबाट बारबोर बन्दुक पनि द्वारिकाले मुक्ति सेनालाई दिएर सहयोग गर्नुभएको थियो ।

२००७ सालमा प्रजातन्त्र आए पनि नेपालमा राणा र कांग्रेस मिलेर बनेको अन्तरिम सरकारमात्रै थियो । त्यसैले नेपाली कांग्रेसले आमचुनावको माग गरिरहेको थियो । तर दरबारले चुनाव गराउन चाहेको थिएन । त्यसपछि २०१४ सालतिर नेपाली कांग्रेसले भद्र अवज्ञा आन्दोलन गरेको थियो । त्यसपछि बाध्य भएर राजाले आम चुनावको घोषणा गरे । २०१५ सालमा नेपालमा पहिलोपटक आम चुनाव भयो र त्यसमा नेपाली कांग्रेसले देशभरिका धेरै सिटमा चुनाव जित्यो । चुनाव जित्नेहरूमध्ये द्वारिकादेवी पनि एक हुनुहुन्थ्यो । विभिन्न राजनीतिक दलहरूले भाग लिएको त्यो निर्वाचनमा जनताले नेपाली कांग्रेसलाई निकै लोकप्रिय मत दिएका थिए ।

बिपीका समकालीन नेता एनडी अर्थात् नारायणप्रसाद चटौतको २०१४ सालमा निधन भयो । सिमराबाट काठमाडौंँ आउने जहाज दुर्घटना भएर उहाँको निधन भएको थियो । उहाँकै स्थानमा २०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले ६६ नम्बर निर्वाचन क्षेत्र डडेल्धुराबाट द्वारिकादेवीलाई उम्मेदवार बनायो । यो चुनावमा दरबारियाहरूले बुथ कब्जा गरेपछि दोस्रो चरणमा मतदान भएको थियो । यो मतदानमा संयुक्त प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मीदत्त भट्टलाई पराजित गरेर द्वारिकादेवी बिजयी हुनुभएको थियो । त्यो चुनाव देशभरका कूल एक सय नौ सिटमा भएको थियो । तीमध्ये नेपाली कांग्रेस ७४ सिट जितेर सबैभन्दा ठूलो पार्टी भएको थियो । त्यसबेला दरबार समर्थित राष्ट्रिय गोरखा परिषदको १९, संयुक्त प्रजातन्त्र पार्टीको पाँच, नेपाल कम्युनिष्ट पार्टीको चार, आचार्य समूहको प्रजा परिषद्को दुई र अर्को मिश्र समूहको प्रजा परिषद्ले एक सिटमा जित भएको थियो । त्यो चुनावमा देशभरिबाट चार जना स्वतन्त्र उम्मेदवार बिजयी भएका थिए । देशैभरि चुनावमा उम्मेदवार भएका सात जना महिलामध्ये द्वारिकादेवीले मात्रै फराकिलो मतान्तरले चुनाव जित्नुभएको थियो ।

नेपाली कांग्रेसको त्यो लोकप्रियता र स्पष्ट दुई तिहाइ बहुमत आएको देखेपछि दरबार आफैँ तर्सिरहेको थियो । त्यसैले फेरि राजा महेन्द्रले सरकार गठनको आह्वान नै गरेनन् । कांग्रेसको दबाबपछि राजाले सरकार गठनको आह्वान गरेका थिए । त्यसअघि नै द्वारिकादेवीको अध्यक्षतामा ललिता निवासमा बसेको बैठकले बिपी कोइरालालाई नेपाली कांग्रेसको संसदीय दलको नेता र सुवर्णशमशेरलाई उपनेतामा चयन गरेको थियो । त्यसपछि कोइरालाको नेतृत्वमा सरकार गठन भयो । तर त्यसलाई पनि दरबारले धेरै टिक्न दिएन । समाजवादको लक्ष्य प्राप्तिमा बिपीको दूरदृष्टिबाट अत्तालिएको दरबारले जननिर्वाचित सरकारलाई दुई वर्ष नपुग्दै बिघटन गरेर जननिर्वाचित प्रधानमन्त्री बिपीलगायत धेरै प्रजातान्त्रिक नेताहरूलाई जेल हाल्न थाले । २०१७ पुस १ गते राजा महेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएर आफँैले राजकाज चलाउन थाले ।

राजाको प्रत्यक्ष राजकाज अर्थात् पञ्चायती शासन चल्न थालेपछि नेपालका राजनीतिककर्मीहरू फेरि भारत निर्वासनमा जान थाले । कतिपयलाई राजाले जेल हालिसकेका थिए । त्यही क्रममा दरबारले द्वारिकादेवीलाई पनि पञ्चायतको समर्थन गर्न लोभलालच देखाउन थाले । उहाँका नजिकका मानिसहरूका अनुसार त्यो बेला राजाले द्वारिकादेवीलाई तिमी ठकुरीकी चेली पनि हो । उपप्रधानमन्त्री दिन्छु दरबारको पक्षमा लाग्नु भनेर भने तर उहाँले मान्नुभएन र बरु भारत निर्वासन नै रोज्नुभयो । कलकत्तामा प्रवासमा हुँदा नै उहाँलाई जयप्रकाश नारायणनले द्वारिकादेवीलाई प्रजातन्त्रप्रतिको इमान्दार नारी भनेर सममान गरेका थिए । यसबाट द्वारिकादेवी नेपाली राजनीति मात्रै होइन, विश्वस्तरीय राजनीतिक मञ्चमा पनि उत्तिकै चर्चित र सम्मानित व्यक्तित्व हुनुहुन्थ्यो ।

त्योसँगै नेपाली कांग्रेसले फेरि पञ्चायतविरुद्ध आन्दोलनको घोषणा ग¥यो । त्यो आन्दोलन सशस्त्र क्रान्तिमै परिणत हुन पुग्यो । कांग्रेसका नेताहरूले पञ्चायतविरुद्ध विभिन्न क्रान्तिका कार्यक्रम घोषणा गरे । त्यसैअनुसार ठाउँ अनि क्षेत्र तोकेर नेता तथा कार्यकर्ताहरूको जिम्मेवारी तोकियो । कांग्रेसले आफ्ना निर्वाचित सांसदहरूलाई पनि विभिन्न जिम्मेवारी दिएको थियो । सोहीअनुसार २०१९ सालमा निर्वासनमा रहेका नेपाली कांग्रेसका सबै सांसदहरूलाई आआफ्नो निर्वाचन क्षेत्रको पारितिर पर्ने भारतीय भूमिमै रहेर नेपालमा चलिरहेको प्रजातान्त्रिक आन्दोलनलाई सहयोग गर्न भनिएको थियो । पार्टीले सिमानामा बसेर क्रान्ति गर्नका लागि कार्यकर्ताहरूलाई हातहतियारसमेत दिएको थियो । पार्टीको निर्णयअनुसार द्वारिकादेवीहरूलाई पनि थ्रीनट थ्री राइफलसमेत अरु चारवटा हतियार पनि दिइएको थियो ।

यसरी द्वारिकादेवी समकालीन नेपाली राजनीतिको एउटा सशक्त नारी हस्ताक्षरमात्रै होइन, राजनीतिमा समावेशिताको सिद्धान्तलाई व्यावहारिकरुपमा शुरुआत गरिएको एक बलियो उदाहरण पनि हुनुहुन्छ । आज नेपालको राजनीतिक वा हरेक क्षेत्रमा महिला प्रतिनिधित्वको प्रारम्भिक चेतना र आधारस्तम्भ द्वारिकादेवीहरू नै हुनुहुन्छ । जीवनको उद्धाराद्र्धमा पारिवारिक एकलपन र पार्टीभित्रको कोपभाजनमा परेर उहाँ विरक्त हुनुभयो र त्यस्तैमा देहत्याग गर्नुभयो । द्वारिकादेवीको जन्मजयन्तीको अवसरमा उहाँ र समकालीन क्रान्तियोद्धाहरूलाई हार्दिक श्रद्धासुमन । (लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ)