काठमाडौं । राष्ट्रिय सभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।
मंगलबार बसेको राष्ट्रिय सभाको बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।
बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
प्रस्ताव प्रस्तुत गर्दै मन्त्री गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई सम्बन्धित समितिमा पठाउन राष्ट्रिय सभाको अनुमति माग्नुभएको थियो। त्यसपछि राष्ट्रिय सभाका अध्यक्षले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएकोमा बैठकले सर्वसम्मतिले स्वीकृत गरेको घोषणा गर्नुभयो।
यससँगै विधेयक अब विधायन व्यवस्थापन समितिमा दफावार छलफलका लागि जाने भएको छ।
राष्ट्रिय सभाको अर्को बैठक २०८३ साल भदौ १६ गते मंगलबार अपराह्न १ः१५ बजे बस्ने गरी स्थगित भएको छ।
– न्युज एजेन्सी नेपाल









