काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले मुलुकको कूटनीतिक अवस्था, जनस्वास्थ्यमा देखिएका गम्भीर समस्या, भौतिक पूर्वाधारको ढिलासुस्ती तथा बाढी–पहिरोको जोखिमलगायत सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद जगत तिमल्सिनाले नेपालको परराष्ट्र नीति र कूटनीतिक प्रतिनिधित्वमा देखिएको रिक्तताप्रति प्रश्न उठाउनुभयो । उहाँले ३१ वटा वैदेशिक नियोगमध्ये २१ वटामा राजदूत नहुँदा ती नियोगहरू कार्यवाहकको भरमा सञ्चालन भइरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले राजदूत नियुक्तिमा भइरहेको ढिलाइ प्रशासनिक विषय मात्र नभई नेपालको कूटनीतिक क्षमतामाथिको खेलबाड भएको टिप्पणी गर्नुभयो । आर्थिक तथा डिजिटल कूटनीतिको समयमा महत्वपूर्ण मुलुकमा राजदूत रिक्त रहनुले वैदेशिक सम्बन्ध सरकारको प्राथमिकतामा नरहेको देखिएको उहाँको भनाइ थियो ।
स्वास्थ्य क्षेत्रका समस्याबारे सांसद खम्मबहादुर खातीले बाजुराको मार्तडीमा विशेषज्ञ चिकित्सक (एमडीजीपी) को अभावका कारण स्थानीय बासिन्दा प्रभावकारी स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको बताउनुभयो ।
सांसद रेखाकुमारी झाले प्रादेशिक अस्पतालहरू, विशेषगरी जनकपुर प्रादेशिक अस्पतालमा दक्ष चिकित्सकको अभाव र लापरबाहीका कारण सुत्केरी महिलाको मृत्यु हुने क्रम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सरकारी चिकित्सकहरूले निजी क्लिनिकमा बढी समय दिने गरेका कारण सरकारी अस्पतालको सेवा प्रभावित भइरहेको उहाँको दाबी थियो ।
झापामा फैलिएको जापानी इन्सेफ्लाइटिसको प्रकोप र त्यसप्रति स्वास्थ्य मन्त्रालयको मौनताप्रति सांसद रोशनी मेचेले आपत्ति जनाउनुभयो । वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा मृत्यु भएका झापाका रमेश मेचेको शव २० दिन बितिसक्दा पनि नेपाल ल्याउन नसकिएको भन्दै उहाँले तत्काल कूटनीतिक पहल गर्न सरकारसँग माग गर्नुभयो ।
तराईमा बाढी तथा डुबानको समस्याबारे सांसद धर्मेन्द्र पासवानले रौतहटको लालबकैया नदीको बाँध भत्किने जोखिम रहेको र त्यसबाट एक हजारभन्दा बढी घरधुरी विस्थापित हुनसक्ने बताउनुभयो । उहाँले सम्भावित क्षति रोक्न तत्काल तटबन्ध निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो । सर्पदंशको उपचारमा प्रयोग हुने भ्याक्सिनको प्रभावकारितामाथि पनि उहाँले प्रश्न उठाउनुभयो ।
पूर्वाधार तथा प्रशासनिक ढिलासुस्तीका विषयमा सांसद रञ्जित कर्णले राजविराजका ५२ हजार सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने सरकारको पूर्वसहमति अझै कार्यान्वयन नभएको गुनासो गर्नुभयो । उहाँले राजविराज–भारदह सडकखण्डको निर्माण कार्य अलपत्र परेको तथा गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य मन्त्रीको अनुगमनपछि पनि बिरामीले पाउने सेवामा सुधार नआएको बताउनुभयो ।
सांसद वासुदेव घिमिरेले काठमाडौंको एक होस्टलमा दाङका वसन्त कालाथोकीको कुटपिटबाट भएको मृत्यु र त्यसपछि उनकी आमाले गरेको आत्महत्याको घटनाबारे सत्यतथ्य छानबिन गर्न माग गर्नुभयो । उहाँले घटनामा दोषी देखिएकामाथि कडा कारबाही गर्न सरकारसँग आग्रह गर्नुभयो ।









