५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगी प्रकरण : राजनीतिक अस्त्र नबनाऊ



अ+ अ-

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने पक्राउ परेपछि अहिले यसलाई राजनीतिक रंग दिने प्रयास भइरहेको छ । रास्वपाका कार्यकर्ताहरु सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा लामिछानेलाई पक्राउ गरेको आरोप लगाइरहेका छन् । सरकारले त्यसको बचाउ गरिरहेको छ ।

लामिछानेमाथि सहकारी ठगीमा मात्र नभएर संगठित अपराधमा अनु्सन्धान सुरु भएको छ । प्रहरीले सरकारी वकिलको रोहवरमा उनीसँग बयान लिँदै छ । तर राजनीतिमा जोडिएका अन्य केही व्यक्तिमाथि अनुसन्धान सुरु नै भएको छैन । फरार रहेकाहरुको खोजीका लागि सरकारले सक्रियता बढाएको छैन ।

सहकारी ठगीमा संलग्नको आरोपमा प्रहरीले करिब एक दशकमा ६ सय ६९ जनालाई पक्राउ गरेको छ भने १ हजार ५ सय ४० जना फरार छन् । रकम अपचलनमा पक्राउ पर्ने र फरारमध्ये धेरैजसो राजनीतिक पहुँच भएका व्यक्ति छन् ।

पछिल्लो समय पक्राउ परेका लामिछाने पूर्वगृहमन्त्री भइरहेका व्यक्ति हुने । पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत जीबी राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा ल्याएर हिनामिना गरिएको आरोप उनीमाथि छ । गोर्खा मिडियाका अध्यक्ष राई फरार छन् भने सञ्चालक कुमार रम्तेल पुर्पक्षका लागि कास्की कारागारमा छन् । त्यस्तै कम्पनीकै तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी एक महिनादेखि कास्की प्रहरीको हिरासतमा छन् ।

बचत अपचलनमा पक्राउ परेका सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ हाल भैरहवा कारागारमा छन् ।

सहकारी ठगीकै आरोपमा तीन साताअघि पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । एमालेबाट दुई पटक मेयरमा निर्वाचित उनी इमेल सहकारीको बचत डुबाएर २०८० जेठदेखि फरार थिए । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध ‘रेड नोटिस’ जारी गरेको थियो । नेपाल प्रहरीको अनुरोधमा भारतीय प्रहरीले उनलाई नयाँदिल्लीबाट पक्राउ गरेको थियो ।

नवलपरासीको छिपछिपे, चितवनको सनराइज र बर्दियाको नमस्ते सहकारीको बचत गैरकानुनी रूपमा बर्दियाको कृष्णसार रिसोर्टमा लगेर हिनामिना गरिएको थियो । प्रहरीले सहकारी सञ्चालकहरूसँगै रिसोर्टकी सञ्चालक तथा राप्रपा सांसद गीता बस्नेतविरुद्ध मुद्दा दायर गरेको छ । पक्राउ पुर्जी जारी भएपछि पाँच महिनादेखि उनी फरार छिन् ।

सहकारी मात्र होइन, सिभिल बैंक नै सञ्चालन गरेका पूर्वसांसद इच्छाराज तामाङ डिल्लीबजार कारागारमा छन् । एमालेको पूर्वसांसदसमेत रहेका तामाङले सिभिल सहकारीको करिब ८ अर्ब बचत अपचलन गरेका थिए, सम्पत्ति शुद्धीकरणमा समेत दोषी ठहर भएका उनी अदालतले तोकेको सजाय भुक्तान गरिरहेका छन् ।

काठमाडौंको कुनै बेलाको चर्चित कान्तिपुर सेभिङ्स एन्ड क्रेडिट कोअपरेटिभ (सहकारी संस्था) का अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी र सञ्चालक चन्द्रबहादुर (सीबी) लामा अहिले डिल्लीबजार कारागारमा छन् । २०७० को निर्वाचनमा काभ्रेबाट कांग्रेसको उम्मेदवार रहेका सीबी नेतृत्वको सहकारीमा करिब ८ अर्ब रुपैयाँ हिनामिना भएको छ । लामा पशुपति सहकारीको बचत अपचलनमा पनि जोडिएका छन् ।

राष्ट्रिय सहकारी बैंक र आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेती डिल्लीबजार कारागारमा छन् । उनी एमालेको केन्द्रीय सहकारी विभागमा थिए । उनी नेतृत्वको संस्थाबाट बचतकर्ताको ६ अर्ब २६ करोड ८५ लाख बचत अपचलन भएको छ ।

सहकारीको बचत अपचलनमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको नाम चर्चामा छ । उनीमाथि छानबिन गरी कारबाही गर्न संसदीय विशेष समितिले सिफारिससमेत गरेको छ । तर सरकारले अहिलेसम्म धनराजमाथि कुनै अनुसन्धान सुरु गरेको छैन । यसैरी नेकपा एमालेका सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरलको नाम पनि सहकारी प्रकरणमा जोडिएको छ । उनीमाथि पनि अनुसन्धान भएको छैन ।

सरकारले अहिले रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउँदा कांग्रेस र एमालेका नेताहरुमाथि पनि अनुसन्धान गर्नुपर्ने माग बढिरहेको छ । सहकारी प्रकरणलाई राजनीतिक अस्त्र मात्र बनाउने भन्दा पनि पीडितको बचत फिर्ता गर्ने र दोषीलाई कारबाही गर्नेगरी छानबिन र अनुसन्धान गरी न्यायिक प्रक्रियामा लैजान विलम्ब गर्नु हुँदैन ।